७ वैशाख २०८१ शुक्रबार
समाज

६० हजारमा नक्कली नागरिकता

राजविराज – एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ । सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन् । चाहे त्यो विदेशी नागरिक नै किन नहोस्।

विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो । गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेको छ । नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले बतायो।

नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् । केही दिनअघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘रौनियारले ५० हजार अग्रिम र १० हजार नागरिकता लिइसकेपछि बुझाएको बयान दिएका छन् । रौनियारलाई किर्ते नागरिकता बनाउन सघाएको आरोपमा एक नेपालीसमेत पक्राउ परेका छन् ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नमिल्ने जनाएको छ।

गिरोहले नगरपालीकाको मूल्य न्यूनतम ६० हजारदेखि २ लाख रुपैयाँसम्म निर्धारण गरेको छ। नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले बतायो।

रौनियारलाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरी अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरीलाई बुझाएको थियो । भारत विहार सीतामढी जिल्लाअन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियार नेपाली नागरिकता लिएर इटहरी उपमहानगरपालिका १७ मा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार उनले २०७१ साल माघ २६ गते वंशज नागरिकता लिएका हुन् । रौनियारको नागरिकतासम्बन्धी अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन । उनको नागरिकता नम्बर १६÷८५४६३ हो । उनको नागरिकतामा बुवाको नाम जामुन रौनियार उल्लेख छ । स्थानीयका अनुसार साबिकको मलेकपुर गाविस–७ मा रौनियार वा गुप्ता थरका बासिन्दा नै छैनन्।

यसै प्रकरणमा सप्तरी छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र साहलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । रौनियारलाई किर्ते नागरिकता बनाउन सघाएको आरोपमा साहमाथि अनुसन्धान थालिएको हो।

किर्ते नागरिकता प्राप्त गरी वषौंदेखि नेपालमा अवैध रुपमा जग्गा व्यवसाय गर्दै आएका भारतीय नागरिक मन्टुनकुमारलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरेको छ।

साहले आफूसित नेपाली नागरिकता प्रमाणपत्रको पुरानो कार्ड रहेको र आफंैले राजविराजको नेताचोकमा नेपाली नागरिकता भरेर दिएको स्वीकारका छन् । उनले आफू गाविसका पूर्वकर्मचारी रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयको छाप पनि आफूले किर्ते गरेको बयान उनको छ।

पक्राउ पर्दै नक्कली नागरिक

पछिल्लो साता सप्तरी प्रहरीले नक्कली नागरिकता लिएको आरोपमा भारतीय नागरिक रामजित रजकलाई पक्राउ गरेको छ । झापा दमक नगरपालिका–७ बस्दै आएका रजकसँग राजविराज–३ स्थायी ठेगाना लेखिएको नेपाली नागरिकता छ।

इलाका प्रशासन कार्यालय दमकमा सिफारिस लिन जाँदा उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उनको नागरिकता नम्बर १८४०÷३२६१ हो । उनको नागरिकताबारे जिल्ला प्रशासन कार्यालय सप्तरीमा कुनै अभिलेख नरहेको पौडेलले बताए।

किर्ते नागरिकता प्राप्त गरी वर्षौंदेखि नेपालमा अवैध रूपमा जग्गा व्यवसाय गर्दै आएका भारतीय नागरिक मन्टुनकुमारलाई पक्राउ गर्न पछिल्लो साता जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरेको छ । मन्टुनकुमार दासका नाममा किर्ते नागरिकता लिएका अभियुक्तको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

भारत मधुवनीका मन्टुनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा नक्कली नागरिकतासम्बन्धी उजुरी परेपछि प्रशासन उनको खोजीमा सक्रिय भएको हो । ७६५४ नागरिकता नम्बर रहेको उनको नागरिकतामा सप्तरीको साबिक रौतहट गाविस–१ स्थायी ठेगाना उल्लेख छ । उक्त नागरिकता २०६३ पुस १ गते इलाका प्रशासन कार्यालय बोदेबर्साइनबाट जारी भएको हो । यो नागरिकताको पनि जिल्ला प्रशासन कार्यालयसँग अभिलेख छैन।

प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘यो नागरिकता पनि जिल्ला प्रशासनबाट नभई पैसा लिएर बजारबाटै जारी गरिएको देखिन्छ ।’ यसअघि सप्तरी प्रहरीले भारतीय व्यापारी विनित देव र शतिस अग्रवाललाई नक्कली नागरिकता लिएको आरोपमा पक्राउ गरेको छ । अग्रवाल पत्नी मोनिका नक्कली नागरिकता प्रकरणमै फरार छिन्।

प्रशासनमाथि प्रश्न

नक्कली नागरिकता किनबेचमा गिरोह सक्रिय भइरहेको तथ्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय शंकाको घेरामा तानिएको छ । नागरिकता वितरण गर्ने आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालय हो । नागरिकता कार्ड र गृह मन्त्रालयको स्टिकर पनि जिल्ला प्रशासनसँगै हुन्छ।

यसअघि पक्राउ परेका दुई भारतीयले त तीनतीन पटकसम्म जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकताको प्रतिलिपि लिएको प्रहरी अनुसन्धानले देखाउँछ।

गत चैत २४ गते पक्राउ परेका भारतीय व्यापारी सतिश अग्रवालले ०५२ असार १५ मा नागरिकता लिएका हुन् । उनको नागरिकतासम्बन्धी अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन । उनले २०६४ मंसिर २५ र २०७३ चैत ६ गते गरी दुईवटा प्रतिलिपिसमेत निकालेको प्रहरी अनुसन्धानले देखाउँछ । जिल्ला प्रशासन कार्यालयले भने अग्रवालको २०५२ सालको मूल नागरिकता तथा २०६४ र २०७३ को प्रतिलिपिसम्बन्धी अभिलेख कार्यालयमा नरहेको जनाएको छ।

नक्कली नागरिकता प्रकरणमा फरार मोनिका अग्रवालको नागरिकतासम्बन्धी अभिलेख पनि जिल्ला प्रशासनसँग छैन । वैवाहिक अंगीकृत नागरिक मोनिकाको नागरिकता नम्बर १६१०३०÷११३ हो । यो नम्बरको नागरिकता सप्तरीकै छिन्नमस्ता गाविस–२ बस्ने मोहम्मद मुस्ताक मियाँकी पत्नी खातुन मियाँका नाममा रहेको जिल्ला प्रशासन कार्यालयको अभिलेखमा छ।

नागरिकतासम्बन्धी अभिलेख जिल्ला प्रशासन कार्यालयमा नरहनु शंकास्पद रहेको नागरिक समाजका अगुवा सुखराम यादव बताउँछन् । सतिश अग्रवालको नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला र तत्कालीन नायबसुब्बा भगवान दाहाल पनि आरोपित छन्।

गत जेठमा सप्तरी प्रहरीले दुई भारतीय व्यापारीलाई किर्ते नागरिकता लिएको आरोपमा पक्राउ गरेको थियो । पछिल्ला तीनवटै किर्ते नागरिकता प्रकरणमा थुप्रै समानता छन् । जेठ दोस्रो साता भारत घर भई सुनसरी सदरमुकाम इनरुवामा व्यवसाय सञ्चालन गर्दै आएका विनित देवलाई किर्ते नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी आफैं नागरिकता परित्याग गर्न जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकतासम्बन्धी अभिलेख नै नभेटिएपछि उनलाई तत्कालै पक्राउ गरिएको थियो।

इनरुवा देवको ससुराली हो । उनीसँग रहेको नागरिकता २०५२ साल जेठ २ गते जारी भएको देखिन्छ । उनले लिएको नागरिकतामा स्थायी ठेगाना सप्तरी मयनाकडेरी गाविस उल्लेख छ । भागवत देवका नाति योगेन्द्र देवको छोरा भई नेपाली नागरिकता लिए पनि मैनाकडेरीमा देव समुदायको बसोबास नै छैन।

उनीसित रहेको नेपाली नागरिकतामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले प्रमाणित गरेको देखिन्छ । पक्राउ परेका देवले २०७० साल फागुन ४ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकताको प्रतिलिपिसमेत लिएका थिए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेल नक्कली नागरिकता लिएका गैरनेपालीलाई नियन्त्रणमा लिन आफूहरूले तदारुकता देखाएपछि किर्ते गरी नागरिकता लिएका विदेशहरू धमाधम पक्राउ पर्न थालेको बताउँछन् । उनी भन्छन्, ‘हामीले सुदेखि नै यसरी तदारुकता देखाउन सकेको भए यो समस्या धेरै हदसम्म न्यून भइसक्थ्यो ।’ शासन व्यवस्था तथा प्रक्रिया परिवर्तनका बेला पुराना नागरिकता कार्डलाई उचित व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या देखिएको आशंका उनको छ । उनी भन्छन्, ‘श्री ५ को सरकारबाट नेपाल सरकार भएपछि थुप्रै पुराना कार्ड हामीसँग थियो । तिनलाई व्यवस्थापन गर्न नसएिको उनले बताए । २०६३ मा टोलटोलमा नागरिकता टोली खटिँदा पनि नागरिकता दुरुपयोग भएको प्रमुख जिल्ला अधिकारी पौडेलको बुझाइ छ।

प्रकाशित: ११ आश्विन २०७५ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App