भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूको उद्धार गरिएको छ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा उनीहरूलाई परिवारको जिम्मा लगाइएको बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जनले बताइन्।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र विहार पुर्याइएका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा 'किन् इन्डिया' नामक संस्थाले उद्धार गरेर सबै प्रक्रिया पूरा गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाउने काम भएको हो।
उद्धार गरिएका बालबालिकाहरूमा मधेश प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन्। उनीहरूको उमेर ९ देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेश प्रदेश समन्वय अधिकृत संजिवकुमार महतोले जानकारी दिए।
यसैगरी जबरजस्ती यौन कार्यमा संलग्न सप्तरी जिल्ला घर भएका वर्ष १५ र १६ वर्षका दुई जना बालिकालाई 'किन् इन्डिया'ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर संस्थाका अध्यक्ष नवीन जोशीले बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाम मार्फत अभिभावकको जिम्मा लगाउने काम भएको छ। सो अवसरमा 'किन् इन्डिया'का अध्यक्ष जोशीले मधेश प्रदेशबाट ठूलो संख्यामा बालबालिकाहरूलाई भारतमा लगेर स्क्रिनको व्यापारमा लगाउने, किड्नी झिक्ने, यौन धन्दामा लगाउने गरेकाले प्रदेशमा सचेतना फैलाउन जरुरी रहेको बताए।
ती बालबालिकाहरूलाई रोटरी क्लब लुम्बिनीको सहयोगमा जनकपुरधाम ल्याएर परिवारको जिम्मा लगाएर पुनर्मिलन गराउने काम भएको छ।
कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवले उद्धार भएर आएका बालबालिकाको शिक्षा तथा सीपमूलक तालिममा संलग्न गराएर रोजगारी प्रदानका लागि प्रयास गर्ने बताए। उनले मधेश प्रदेश सरकारले यस्तै बालबालिकाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र एक तथा प्रत्येक जिल्लामा सेफ हाउसको निर्माण प्रक्रिया अगाडि बढाएको उनले बताए।
सो अवसरमा नेपाल सरकारका पूर्व सचिव प्रेम उपाध्याय, समाजसेवी निर्मलकुमार चौधरी र धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बम, रोटरी क्लब लुम्बिनीका पदाधिकारीहरू, लायन्स क्लब अफ चाबहिल सिटी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। 'किन् इन्डिया'ले शान्ति शिक्षा अभियान नेपालसँगको सहकार्यमा नेपलाभित्र मानव बेचविखनविरुद्धको सचेतना कार्यक्रम पनि अघि सारिएको नविन जोशीले बताए।
प्रकाशित: १४ कार्तिक २०८२ ०९:४१ शुक्रबार





