१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्गमा पहिरैपहिरो

मध्यपहाडी लोकमार्ग खण्डमा सडकमै बेगेको शिवा खोला। तस्बिर : गिरिराज/नागरिक

पाँचथर - पहाडै–पहाड पूर्वपश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पाँचथरमा पर्ने दोरिम्बा–चिवाभन्ज्याङ खण्ड पहिरोले छियाछिया भएपछि यात्रु सास्ती खेप्न बाध्य भएका छन्। जिल्लामा पर्ने लोकमार्ग खण्डमध्ये पिच नभएजतिको भागमा जताततै पहिरो खसेको छ। वर्षाको पानीसँगै एकातिर पहिरो खसिरहेको छ भने अर्कोतिर ठेकेदार कम्पनीले काम जारी राखेका छन्।

सडक हिलाम्मे छ। ठाउँठाउँमा गरिएको ग्राभेल पहिरोले बगाइसकेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गको ओयाम खण्डलाई त पहिरोले झनै बढी प्रभावित बनाएको छ। हिउँद–वर्षा नै चल्नुपर्ने यो सडकमा डराई डराई यात्रा गर्नुपर्ने अवस्था छ। सडकमा बिग्रिँदा सबैभन्दा बढी पाँचथरको उत्तरी भेग र ताप्लेजुङका विभिन्न गाउँका बासिन्दा प्रभावित भएका छन्।

लोकमार्गको थर्पु र ओयामको सिमानामा रहेको शिवा खोला अहिले सडकमै बग्छ। खोलाले सडक बगाएर बगर बनाएको छ । यही बाटो भएर दैनिक दर्जनौं गाडी चल्छन् । मोटरसाइकल डो-याउन पनि कठिन हुन्छ । लोकमार्गको रुट परिवर्तन गर्ने तथा अर्को पुल बनाउने ठेक्का लागे पनि काम भएको छैन । ‘सडकमा खोला बग्छ, निक्कै डरमर्दो अवस्था छ । सडकमा थप क्षति हुने देखिन्छ’, थर्पुका खेम चापागाईंले भने, ‘खोलालाई आफ्नै धारमा बगाउन प्रयास हुन सकेको छैन।’

ठेकेदार कम्पनीका टिपर चल्दा बाटो थप थङथिलो अवस्थामा छ । ‘कहिले पहिरो झर्छ । कहिले सडक छेउमा भत्किन्छ । हिलो उस्तै छ । बर्खासँगै लोकमार्गको अवस्था नाजुक भएको छ’, याङवरक गाउँपालिका–३ का वडाध्यक्ष मविन योङयाले भने, ‘पहिरो आउनेबित्तिकै बाटो खुलाउन लगाउँछौं बाटो त ठेकेदारले समयमै खोलिदिन्छन् तर सडक जोखिमपूर्ण नै छ।’

कतै बाटो अवरुद्ध छ भने कतै निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ । पहिरो, ढुंगा खस्ने, हिलैहिलो तथा ग्रेड नमिलेको सडकले चालक र यात्रुलाई हैरान बनाउँछ । ठाउँठाउँमा पहिरो खसेको छ । बाटैमा वर्षाको पानी कुलो बनाएर बगेको देखिन्छ । निर्माण व्यवसायीले जथाभावी राखेका सामग्रीले पनि यात्रा थप असहज बनाएको छ।

वर्षाले गर्दा बाटो बिग्रिएको लोकमार्गका इन्जिनियर शिव खत्री बताउँछन् । केही अघिमात्र सो क्षेत्रमा गएर फर्किएका खत्रीले बाटोको अवस्था बिग्रिएको सुनाए । शिवाखोलामा सडकको नयाँ रुट बनाउन लागिएको उनले जानकारी दिए । ‘ठेक्का सञ्चालन भइरहेका छन् । बिग्रिएको ठाउँमा नयाँ ठेक्का लगाउनुपर्ने अवस्था छ’, उनले भने।

पाँचथरमा लोकमार्गको ७० किलोमिटर सडक खण्ड पर्छ । यसमध्ये १९ किलोमिटर खण्डमा कालोपत्र भएको छ । उत्तरी गणेश चोकदेखि दोरम्बासम्मको ९ किलोमिटर कालोपत्रे छ । त्यहाँभन्दा माथि चिवाभन्ज्याङसम्मको सडकको अवस्था खत्तम छ । प्रशस्त बजेटसहित प्राथमिकतामा परेको आयोजनामा ठेकेदारको काम गराइ पनि सन्तोषजन देखिँदैन । ट्र्याक खोल्न दिइएको ठेक्काको काम अझै सकिएको छैन । ग्राभेल गर्ने र पुल बनाउने काममा समेत ढिलाइ भएको छ।

२०७५ भित्र कालोपत्रे सक्ने आयोजनाको सुरुवाती लक्ष्य थियो तर काम सुस्त हुँदा लक्ष्य हासिल नहुने भएको छ । पछि ट्र्याक खुलेको तेह्रथुममा कालोपत्रेका लागि ठेक्का लगाइएको छ भने यता ग्राभेल स्तरको मात्र काम भइरहेको छ । खत्रीका अनुसार नौवटा ठेक्का सञ्चालनमा छन् । चारवटा सडक र पाँचवटा पुलका ठेक्का लागेका हुन् । ठेक्का लागेको निक्कै समयपछिमात्र ठेकेदारले काम थाल्ने गर्दा समयमा काम सकिएको छैन । यीमध्ये दुईवटा ठेक्का सडक ग्राभेलका छन् । २९ किलोमिटर खण्ड ग्राभेलका रहेको छ । साँघा डाँडासम्म ग्राभेल स्तर र त्यो भन्दामाथि स्टक्चरको ठेक्का लगाइएको छ । सबै ठेक्कामा काम गराइ सुस्त छ । खत्रीले भने कामले गति पाएको दाबी गरे।

लोकमार्गको सुरुवाती विन्दु मानिएको नेपाल र भारतको सिक्खीको सिमाना चिवा भन्ज्याङ हिउँदमा पनि गाडी पु¥याउन कठिन छ । लोकमार्गको महत्वपूर्ण स्थान, सीमा क्षेत्र तथा घुम्न जानेहरु रुचिको ठाउँ भए पनि यहाँको ठेक्का अघि बढ्न सकेको छैन । गाउँमा सञ्चालन हुने ठूला आयोजनामा स्थानीयसँग समन्वय हुन नसक्दा समस्या भएको स्थानीयको गुनासो छ।

प्रकाशित: १ आश्विन २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App