६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अट्वारीमा बिदा नपाउँदा थारु समुदाय निराश

अट्वारी पर्व मनाउँदै पश्चिम नेपालको एक थारु परिवार। तस्बिर : नागरिक

दाङ - २०६४ देखि सुरु भएको थरुहट आन्दोलन अहिले पूर्णतः मत्थर छ । यसबीचमा आन्दोलनले लिएको स्वरुप र परिणामबारे सकारात्मक/नकारात्मक दुवै टिप्पणी भयो । यसको मूल अजेन्डा भने सिंगो थारु समुदायको पहिचानसँग जोडिएको थियो। तर नेतृत्व तहमा देखिएको फुटका कारण आन्दोलनले परिणाम निकाल्न सकेन । तथापि यो आन्दोलनको मूल मर्ममाथि वर्तमान तीन तहका सरकारले पुनः प्रहार गरेको अनुभूति थारु समुदायले फेरि एकपटक गरेको छ । यसको कारण हो थारुहरुको मुख्य पर्वमध्येको अट्वारीमा बिदा नदिनु । अट्वारी पर्वमा बिदा दिनुपर्ने पुरानो मागलाई वर्तमान तीन तहका सरकारले पूरा गर्नेमा थारु समुदाय आशावादी थियो तर कुनै पनि सरकारले यो पर्वमा बिदा नदिएकोमा थारु समुदाय असन्तुष्ट बनेको छ । फलतः तीनै तहका सरकारविरुद्ध आलोचनात्मक स्वरसमेत सुनिएको छ । ‘थरुहट आन्दोलनको स्वरुप वा परिणाम कस्तो आयो, त्यो अर्को विषय भयो, तर त्यो आन्दोलनले बोकेको एउटामात्रै अजेन्डा थारु समुदायको पहिचान थियो,’ थरुहट आन्दोलनका नेतृत्वकर्ता एवं पूर्वसांसद योगेन्द्र चौधरीले भने, ‘तर यो आन्दोलनको मर्मलाई पुनः राज्यले उपेक्षा गरेको छ, अट्वारी पर्वमा बिदा दिन कन्जुस्याइँ गर्ने राज्यले सिंगो थारु समुदायको पहिचानका निम्ति आफ्नो अनुदारता प्रस्तुत गरिदिएको छ।’

थारु समुदायले आइतबार अट्वारी पर्व मनाए । मूलतः यो पर्व पश्चिम नेपालका थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएका छन् । प्रदेश नम्बर ७ मा भने प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दियो भने थारुको बाहुल्य रहेको प्रदेश ५ मा सरकारले बिदा दिएन । यही प्रदेशलाई थरुहटको पहिचानसँग जोडेर आन्दोलन गरिएको थियो । ‘थारुहरुको पहिचानलाई जोडेर सुरु भएको आन्दोलनको जग भनेकै ५ नम्बर प्रदेश हो,’ पूर्वसांसद चौधरीले भने, ‘तर त्यही प्रदेशमा वर्तमान सरकारले आन्दोलनको मर्मलाई तुहाउँदै फेरि थारु समुदायलाई उपेक्षा गरेको छ।’

अट्वारी पर्व महाभारतका महत्वपूर्ण पात्र भीमको सम्झनामा मनाइन्छ । यस पर्वमा निराहार व्रत बसेका दाजुभाइले विभिन्न परिकार तयार पारी चेलीबेटीलाई कोसेली दिने चलन छ । यो पर्व थारु समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, मायाममतासँग जोडिएको छ।

थारु समुदायले ५ नम्बर प्रदेश सरकारसमक्ष थारु अगुवाले बिदा दिन माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । जबाफमा प्रदेश सरकारले माघीमा बिदा दिने भएकाले अट्वारीमा दिन नसकिने प्रस्ट पारेको थियो । ‘हरेक दिन एउटा न एउटा समुदायको पर्व उत्सव परिरहन्छ, दिनदिनै बिदा दिन कसरी सकिन्छ’, प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, ‘थारु समुदायको महान् पर्व माघीमा बिदा दिने भएकाले अट्वारीमा बिदा दिन नसकिने भनेर बिदाको निर्णय गरिएन ।’ उनले यो पर्व मूलतः पश्चिम नेपालका थारु समुदायले मात्रै मनाउँदै आएकाले पनि प्रदेशभरमै सार्वजनिक बिदा दिनु उचित नहुने धारणासमेत राखे । ‘यसपटक पनि बिदाको माग भएको थियो तर निर्णय गर्न सकिएन,’ उनले भने, ‘आगामी वर्षमा केही गर्न सकिएला कि।’

प्रदेश सरकारले बिदा नदिने निर्णय गरेपछि स्थानीय सरकारले बिदाको निर्णय गर्न सक्ने आशा यो समुदायमा थियो । तर जिल्लाको दंगीशरण गाउँपालिकाले मात्रै बिदा घोषणा ग-यो । अन्य नौ स्थानीय तहले भने बिदाको अधिकार स्थानीय सरकारलाई नभएको भन्दै बिदाको निर्णय गरेनन् । ‘यो पर्व थारु समुदायको पहिचान जोडिएको पर्व हो,’ थारु अगुवा रामप्रसाद चौधरी भन्छन्, ‘राज्यले यो पर्वमा बिदा दिएको भए सिंगो थारु समुदायलाई उच्च सम्मान गरेको अनुभूति पक्कै हुने थियो ।’ सार्वजनिक बिदा दिन नसकेपछि थारु समुदायलाई मात्रै भनेर बिदाको घोषणाको माग पनि यो समुदायले गर्दै आएको छ । ‘सार्वजनिक बिदा भनेर घोषणा नगरे पनि थारु समुदायका लागि मात्रै भनेर बिदा दिए पनि हामीलाई सन्तुष्टि मिल्थ्यो,’ सञ्चारकर्मी राजकुमार चौधरी भन्छन्, ‘तर दिनभर व्रत बसेर पूजा गर्ने थारुलाई बिदा नै नदिनु सिंगो समुदायकै उपेक्षा हो।’

यसैबीच ५ नम्बर प्रदेशमा अट्वारी पर्वमा बिदा नदिएकोमा थारु कल्याणकारिणी सभा दाङले प्रदेश सरकारको विरोध गरेको छ । थारु समुदायसँग सम्बन्धित चाडपर्वको अवहेलना गरिएको सभाले जनाएको छ।

अट्वारी पर्व महाभारतका महत्वपूर्ण पात्र भीमको सम्झनामा मनाइन्छ। यस पर्वमा निराहार व्रत बसेका दाजुभाइले विभिन्न परिकार तयार पारी चेलीबेटीलाई कोसेली दिने चलन छ। यो पर्व थारु समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, मायाममतासँग जोडिएको छ।

प्रकाशित: १ आश्विन २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App