सिरहा– लहान–३ स्थित शिव मन्दिरमा बुधबार विहानैदेखि तीजको कथा श्रवण गर्ने महिलाहरुको बाक्लो उपस्थिती थियो। तीज कथा श्रवण गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थिती पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।
तीज ब्रत कथा श्रवण गर्न सहभागी लहान–४ कि सुनिती यादव तीजको ब्रत बस्न थालेको यो तेह्रौँ वर्ष भएको बताईन। ०६३ मा बैवाहिक बन्धनमा बाँधिएको वर्षदेखि उनले तीजको ब्रत बस्न थालेकी हुन्।
यो पर्व त पहाडी समुदायको महिलाले मनाउने होइन र? भन्ने प्रश्नमा यादवको जवाफ थियो, ‘पहाडी समुदायको महिलाले मनाउने पर्व मधेसी महिलाले मनाउन हुन्न र?’ यो पर्व हिन्दु धर्माबलम्बी महिलाले मनाउने पर्व हो उनले थपिन्, ‘भगवानले पहाडी–मधेसी छुट्टाउँदैनन्, अनि हामी किन विभेद गर्नू?’
हिन्दु धर्मावलम्बी महिलाहरुले बुधवार दुई वटा पर्व उत्साहपूर्व मनाउँदै छन्, चउरचन(चौठी चान्द) र तीज। यी दुई पर्व नेपाली समाजका दुई समुदायले मनाउने सांस्कृतिक पर्व हो। पहाडी समुदायका महिलाले मनाउने संस्कृतिक पर्व ‘तीज’ र मधेसी समुदायका महिलाले मनाउने सांस्कृतिक पर्व ‘चउरचन’। पहाडी समुदायका महिलले पहिलादेखि मनाउँदै आएको तीज पछिल्लो समय मधेसी महिलाले पनि उतीकै श्रद्धा र उल्लासका साथ मनाउन थालेका छन्।
मधेसी महिलाहरु तीज पर्वलाई उतिकै श्रद्धा र उल्लासका साथ मनाउँछन्, जसरी पहाडी महिलाहरुले मनाउँछन्। मधेसी महिलाहरु बुधबार बिहान सुर्य उदाउनुअघि दर खाएर व्रतको सुरुवात गरेपछि २४ घण्टासम्म निर्जल र निराहार बस्छन्। यी ब्रतालुहरु बिहीबार बिहान मात्र अन्नपानी ग्रहण गर्ने बताउँछन्।
तीजलाई महादेव–पार्वतीको कथासँग जोडेर हेर्दा पार्वतीले महादेव वर पाउन यो ब्रत वसेको पाइन्छ। तीजको ब्रत बसेपछि पार्वतीले शीवलाई वर(पति)को रुपमा प्राप्त गरेको कथामा उल्लेख भएको पाइन्छ। यही कथालाई आत्मसात गर्दै बिवाहिता महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि र अबिवाहिता महिलाले मन पाएको र असल पतिका लागि तीज ब्रत बस्ने प्रचलन छ।
पछिल्लो समय मधेसी महिलाहरु यो पर्वको महत्व बुझेर ब्रत बस्न थालेपछि मधेसी र पहाडी महिलाबीच अन्तरंग सम्बन्धलाई सांस्कृतिक रुपले अझ प्रगाढ बनाउने काम गरेको सांस्कृतिक जानकारहरु बताउँछन्।
पहिलो पटक तीज ब्रत बसेकी लहानकी मधु कुशवाहा भन्छिन्, ‘छठ र जितीया पर्वको महत्व बुझेर पहाडी समुदायका महिलाहरु पनि सहभागी हुन थालेका छन्। ‘तीजको महत्व बुझेर हामी सहभागी भएका छौं,’ उनले थपिन्। एक अर्काको सांस्कृतिक पर्वको महत्व बुझेर जनाइएको सहभागिताले सामुदायिक सद्भाव र सम्बन्धको अन्तरघुलन बढाउने कुशवाहाको भनाइ छ।
लहानकी कबिता साह, सुनिता यादव र मधु कुशवाहा घनिष्ट मित्र हुन्। उनीहरु एक सातासम्म सँगै तीजमा रमाउँछन्। कुशवाहा र यादव एक अर्काको घर दर खान जाने, नाचगान गर्नमा ब्यस्त थिईन। ‘तीजको रमझम र उत्साहमासंगै रमाउँदा जातपातको कुरा कहिल्यै हाम्रो दिमागमा आएन,’ कुशवाहाले सुनाईन्। पर्वमा हामीले भगवानको आराधना गर्ने हो’, उनी भन्छिन, ‘भगवानले जातिपाति मान्दैन, हामी किन मान्ने।’
छठमा पनि पहाडी र मधेसी समुदाय बिच यस्तै आत्मीय सद्भाव छ। लहान–७ का सुरेन्द्र श्रेष्ठ भन्छन्, ‘वर्षौं भयो छठमा हाम्रो अर्घ छिमेकी प्रदीप गुप्ताकी आमाले चढाउँदै आउनुभएको छ। ‘हामीबीचको यो सांस्कृतिक सम्बन्ध दशकौं पुरानो हो,’ उनले भने, ‘छठको घाटमा सबै जाति समुदायको थलो एउटै हुन्छ। जसरी यहाँको समाजमा सद्भाव छ, त्यसैगरी यहाँको सांस्कृतिक पर्वहरुमा पनि,’ उनले थपे।
पूर्व–पश्चिम लोकमार्गको छेउछाउ र उत्तर चुरेसम्मको भूभागमा पहाडी–मधेसी समुदायको छासमिस बसोवास छ। लहानका बुद्धिजीवी उमेश चौधरी भन्छन्, ‘यस क्षेत्रमा बसोवास गर्ने समुदाय(पहाडी–मधेसी) बीचको सांस्कृतिक आदान–प्रदानले सामुदायिक सद्भावलाई र रहनसनलाई सुमधुर र प्रगाढ बनाएको छ। सांस्कृतिक अन्तरघुलनले यहाँ छासमिस भएर बसेका समुदायहरुको विशिष्ट सामाजिक परिवेश निर्माण भएको छ। यसले यहाँको समाजमा बसोबास गर्ने सम्पूर्ण समुदायबीच सांस्कृतिक गठजोर बलियो भएको प्रमाण दिन्छ।
प्रकाशित: २७ भाद्र २०७५ १२:२४ बुधबार