५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

साझामा कागज हिनामिना आशंकामा छानबिन

काठमाडौं - साझा प्रकाशनमाथि एक करोड रुपैयाँ बराबरको कागज हिनामिना गरेको आशंकामा छानबिन भइरहेको छ। साझालाई चालु शैक्षिक सत्रमा ६० हजार पुस्तक छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड रुपैयाँबराबरको कागज उपलब्ध गराएको थियो। तर साझाले पुस्तक प्रकाशन गर्न दिएको कागजको विवरण जनक शिक्षालाई उपलब्ध गराएको छैन। साझा र जनक शिक्षाबीच आर्थिक लेनदेन र हिसाब मिलान गर्न गठित समितिले भ्रष्टाचार आशंकामा छानबिन गरिरहेको हो। समितिमा शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, साझा प्रकाशनका होम भट्टराई र जनक शिक्षाका तिलबहादुर अधिकारी छन्।

‘विवरण उपलब्ध नभएको कागजबारे अनुसन्धान भइरहेको छ,’ उपससचिव निरौलाले भने। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ। साझा प्रकाशनले एक करोड मूल्य बराबरको कागजको हिसाब बुझाउन नसकेकाले त्यस विषयमा छानबिन भइरहेको निरौलाले बताए।

पूर्वकर्मचारीको आन्दोलन जारी
साझाबाट अवकाश पाएका एक सय २८ जना पूर्वकर्मचारीले साउन १ गतेदेखि थालेको आन्दोलन जारी राखेका छन्। उनीहरूले अवकाशपछि पाउनुपर्ने उपदानलगायतका सेवासुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेका छन्। पूर्वकर्मचारीहरूलाई साझाका तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले असार मसान्तसम्म सेवासुविधा दिने लिखित प्रतिबद्धता गरेका थिए। असार मसान्तसम्म सेवासुविधा दिन नसके अवकाश प्राप्त कर्मचारीलाई करारमा नियुक्त गर्ने प्रतिबद्धता उनको थियो। शर्माले दुवै प्रतिबद्धता पूरा नगरेपछि पूर्वकर्मचारी आन्दोलित भएका हुन्। जनाएका थिए। शर्माको अध्यक्ष पद साउन १० गतेदेखि सकिए पनि महाप्रबन्धकको पद भने बाँकी छ।

शर्माले साझाभित्रकै कर्मचारीका कारण अर्थ मन्त्रालयले रकम निकासा नगरेकाले सेवासुविधा दिन नसकिएको बताउँदै आएका छन्। आन्दोलनरत पूर्वकर्मचारीले भने शर्मा आफैं आर्थिक अनियमिततामा मुछिएकाले मन्त्रालयले रकम निकासा नगरेको बताउँदै आएका छन्।

साझा प्रकाशनको पुस्तक छपाइलगायत विभिन्न विषयमा अनियमितता गरेको भन्दै शर्मालाई शिक्षा मन्त्रालयले ०७४ असोज ८ मा बर्खास्त गरेको थियो। सर्वाेच्च अदालतले मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश गरेपछि शर्मा पुनः साझामा फर्किएका थिए।

प्रकाशित: २६ भाद्र २०७५ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App