१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्सेनि हेलिकोप्टर दुर्घटना

सुत्केरी व्यथाले च्यापेपछि उत्तरी गोरखाकी एक महिलालाई हेलिकोप्टरबाट राजधानी लगिँदै। फाइल तस्बिर : नागरिक

गोरखा - ‘बिरामी होस् वा घाइते, मान्छे जन्मिँदा गाह्रो होस् या मरेपछि आफ्नै गाउँमा लगेर रीतिथितिअनुसार संस्कार गर्नुपरोस्, यी सबै कामका लागि हेलिकोप्टरको भर पर्नुपर्छ।

बर्सेनि हेलिकोप्टर दुर्घटना हुँदा पनि हामीसँग यसको विकल्प छैन।’ यो भनाइ हो तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको। आफन्त बिरामी हुँदा, कसैको मृत्यु हुँदा वा छोटो समयमा घरगाउँ पुगेर फर्कन, खाद्यान्न र औषधि ढुवानी, यी सबैका लागि हेलिकोप्टर निर्विकल्प साधन बनेको उनले बताए। सामागाउँ, छेकम्पारलगायतका ठाउँबाट गाउँपालिका कार्यालय आउन तीन दिन लाग्छ भने तिब्बत पुग्न अढाइदेखि दुई दिन। सेवा लिन सहज नहुँदा यी गाउँका बासिन्दा हेलिकोप्टर चार्टर गर्न बाध्य छन्।

‘चालकको हतार गर्ने प्रवृत्ति, बढी कमाउने प्रतिस्पर्धा, पहाडी दुर्गम क्षेत्र र मौसमप्रतिको हेलचेक्र्याइँ दुर्घटनाको कारक’

गोरखाको सामागाउँबाट उडेको अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार दुर्घटनामा पर्दा चुमनुब्री गाउँपालिका १ का छोवाङ नोर्बुको मृत्यु भयो। उनीसँगै चालकसहित सामागाउँबाट उडेका छजनाको पनि ज्यान गयो। सोही गाउँपालिका २ की आनी डोल्मा निकी घाइते भइन्। यो पहिलो हेलिकोप्टर दुर्घटना होइन। तीन वर्ष यता हरेक वर्ष उत्तरी गोरखाबाट उडेको हेलिकोप्टर दुर्घटना परेको घटना दोहोरिइरहेका छन्। पहाडमा ठोक्किने, हेलिकोप्टर जल्ने घटना दोहोरिइहेको छ। ‘बर्सेनि दुर्घटना भएको देख्दा स्थानीय डराएका छन्, फेरि हेलिकोप्टर चार्टर नगर्दा पनि कुनै उपाय छैन’, गाउँपालिका प्रमुख गुरुङले भने।

गत वर्ष बिरामीको उद्धार गर्ने क्रममा स्वास्थ्यकर्मीसहित हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको थियो। सुत्केरी व्यथाले थलिएका देखि मनास्लु पदमार्ग घुम्न गएका पर्यटकसम्मले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका छन् । उत्तरी गोरखा भएर फर्किएका हेलिकोप्टर दुर्घटनाको यकिन कारण के भन्ने तथ्य भने छैन। पहाडमा ठोक्किएको, जंगलमा खसेको, एक्कासि आगो लागेको, यस्तैयस्तै अनुमानमात्रै गरिन्छ। चालकको हतार गर्ने प्रवृत्ति, बढी कमाउने प्रतिस्पर्धा, दुर्गम भेगको पहाड र मौसमप्रतिको हेलचक्र्याइँ दुर्घटनाको कारक रहेको स्थानीय बताउँछन्। ‘हेलिकोप्टर कम्पनीबीच कसले धेरै उडान गर्ने भन्ने प्रतिस्पर्धा पनि चल्छ भन्छन्’, गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘स्तरीय भन्दा पनि आम्दानीमा ध्यान दुर्घटनाको कारणमध्ये एक देखिन्छ।’

उत्तरी गोरखामा उडान भर्ने अधिकांश हेलिकोप्टर एउटामात्रै इन्जिन भएका हुन्छन्। चुमनुब्री गाउँपालिकामा पर्ने साबिकका सातवटै गाविस सडक सञ्जालमा जोडिएका छैनन्। धार्चे गाउँपालिकाभित्रका साविकका तीनवटा गाविसमा पनि सडकको ट्र्याकसमेत खुलेको छैन। ज्यानकै बाजी राखेर हिँड्नुपर्ने साँघुरो गोरेटो बाटो मात्रै आउजाउको माध्यम हो। सदरमुकामसम्म आउन एकदेखि सात दिन पैदल हिँडेर आधा दिनजतिको बाटो गाडीमा यात्रा गर्नुपर्छ। यी दुर्गम गाउँमा सुविधासम्पन्न स्वास्थ्यसंस्था छैनन्। यही कारण उत्तरी गोरखाका सर्वसाधारण महँगो पैसा खर्चेर हेलिकोप्टर चार्टर गरी उपचार सेवा लिन बाध्य छन्।

उत्तरी गोरखा जान समुद्र सतहबाट सात सय मिटरदेखि झन्डै चार हजार पाँच सय मिटर उचाइमा हेलिकोप्टर उडाउनुपर्छ । एक लाख २० हजारदेखि दुई लाख रुपैयाँसम्म प्रतिउडान खर्च लाग्छ। बिरामी सिकिस्त बिरामी भएपछि महँगो भए पनि हेलिकोप्टर चार्टर गर्नु स्थानीय बासिन्दाको बाध्यता बनेको छ।

प्रकाशित: २५ भाद्र २०७५ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App