१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कारीलाई १२ वर्ष कैद

उदयपुर– बालिका बलात्कार गरेको अभियोगमा यहाँका एक युवालाई १२ वर्ष कैदको फैसला भएको छ। १ वर्षअघि ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका हेमबहादुर कार्कीलाई जिल्ला अदालत उदयपरले १२ वर्ष कैद र जरिवानाको फैसला सुनाएको हो। 

अदालतको मंगलबार बसेको इजलासले कार्कीलाई १२ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको हो। न्यायाधीश तीर्थराज केसीको एकल इजलासले छिमेकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै अभियुक्त १८ वर्षीय कार्कीलाई कैद र नगद जरिवाना तिराउने फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर पुलामी मगरले बताए। 

बालिकालाई घरमै खेलिरहेका बेला कोही नभएको मौका पारी २०७४ भदौ १८ गते बलात्कार गरेको आरोप लगाउँदै आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले घट्नाको भोलिपल्ट कार्कीलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा ०७४ असोज २३ गते पुर्पक्षका लागि थुना आदेश पाएका उनलाई वर्षदिन पुगेकै दिन कैद र जरिवाना फैसला भएको मगरले बताए। 

अदालतले अघिल्लो दिन मात्र १४ वर्षीया किशोरी बलात्कार अभियोगमा ६२ वर्षीय बृद्धलाई ७ वर्षको जेल सजाय सुनाएको थियो। जिल्लाको बेलका नगरपालिका ३ की किशोरी बलात्कार आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका सुनसरी बराहाक्षेत्र नगरपालिका ८ का सुहीलाल चौधरीलाई सोमबार बसेको न्यायाधीश केसीकै इजालसले बृद्धलाई ३० हजार जरिवानासहित सो कैदको फैसला सुनाएको थियो।

बेलका ३ को शुक्रबारे हटियाबाट घर फर्कदै गरेका बेला २०७४ फागुन २५ गते बाटो छेकेर चौधरीले बाँसघारीमा लगी जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परी ०७४ चैत्र १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। 

प्रकाशित: १९ भाद्र २०७५ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App