२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

महेन्द्रनगरमा सिआइबीको अर्को टोली

फाइल तस्विर

महेन्द्रनगर – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको पाँच साता नाघिसक्यो । घटनापछिको उग्र आन्दोलन र प्रहरीको सुस्त कार्यशैलीका कारण घटनाको अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन । पीडित परिवार दोषीमाथि कारबाही र न्यायको आसमा छन् भने त्यसका लागि सडकमा ओर्लिएका जनता ‘पर्ख र हेर’को अवस्थामा छन्।

आन्दोलन उग्र बनेपछि सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को एक टोली कञ्चनपुर पठायो । तर, घटनाका दोषी अझै पहिचान हुन सकेका छैनन् । दबाब बढेपछि सरकारले दोस्रोपटक आइतबार ब्युरोको अर्को टोली महेन्द्रनगर पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली महेन्द्रनगर पठाइएको छ । घटनाको गम्भीरता र यहाँको वस्तुस्थिति बुझेपछि ओलीले घटनाको अनुसन्धानका लागि अर्को सिआइबी टोली पठाउन निर्देशन दिएका थिए।

सिआइबी टोलीले घटनाबारे अनुसन्धान थालेपनि स्थानीय प्रहरीसँग समन्वय नभएको जिल्लाका एक प्रहरी अधिकारीले बताए । सरकारले केन्द्रीय अनुसन्धान ब्युरोको अर्को टोलीसमेत पठाएको भन्ने विषयमा जानकारी नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । ‘हामीसँग समन्वय भएको छैन, आएको होला, अनुसन्धानमा हामी पनि लागेका छौं, माथिबाट आएको टाली पनि लागेको होला,’ उनले भने।

भीमदत्त नगरपालिका–२ महुलिया, उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कार र हत्या भएको हो । साउन १० गते साथी रोशनी बमकहाँ दिउँसो गृहकार्य गर्न गएकी निर्मला बेपत्ता भएकी थिइन् । बमको घरको केही पर भीनपा १९ बाँगफाँटाको उखुबारीमा दोस्रो दिन उनको शव फेला परेको थियो । घटनामा प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनी रोशनी र बबितालाई थुनामा राखेको छ । उनीहरूसँग बयान लिने काम भइरहेको कञ्चनपुर डिएसपी ओझाले बताए ।

दुवै दिदीबहिनीसँग बयान गराइसकिएको छ । रोशनीको भदौ १४ गते र बबिताको आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको छ । यस घटनामा पक्राउ गरिएका मानसिक अवस्था कमजोर भएका भनिएका ४१ वर्षीय दिलीपसिंह बिष्टको काठमाडौंमा स्वास्थ्यजाँच भइरहेको छ । प्रहरीले उनको डिएनए, मानसिक स्वास्थ्यलगायत परीक्षणका लागि काठमाडौं लगेको हो । ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि सिआइबीका डिएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएको थियो । टोलीले घटनाको २६ औं दिन भीमदत्त नगरपालिका १९ बागफाँटाका बिष्टले नै बालिका पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो । यो निष्कर्षमा पीडित परिवार र स्थानीय विश्वस्त नभएपछि सिआइबी अनुसन्धान नै शंकाको घेरामा परेको थियो । भदौ ४ गते प्रहरीले बिष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रगरमा आन्दोलन उग्र बनेको थियो।

मानसिक अवस्था ठीक नभएका बिष्टलाई आरोपी बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको भन्दै आन्दोलन उग्र बनेको हो । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर भीनपा १८ भगतपुर शुभकामना टोलका १५ वर्षीय सन्नी खुनाको ज्यान गुमेको छ । ६ जनाभन्दा बढी घाइते भएका छन् । १७ वर्षीय चेथन भण्डाराको दायाँ खुट्टा काट्नुपरेको छ।

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठन गरेको ५ सदस्यीय समिति महेन्द्रनगर आएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई गृह मन्त्रालयमा तानेर नयाँ सुरक्षा नेतृत्व जिल्लामा पठाएको छ । प्रहरीको नयाँ नेतृत्व जिल्लामा खटिएसँगै अनुसन्धान प्रारम्भिक चरणबाटै सुरु गरिएको छ।

पीडित आमाबुवा अझै स्तब्ध छन् । घटनापछि अनुसन्धानमा खटिएका मात्रै नभएर मन्त्री र सांसद, नेता र सञ्चारकर्मीलाई घटनाबारे जानकारी गराउँदागराउँदै आमा दुर्गा र बुवा यज्ञराज हैरान छन् । ‘कति जवाफ दिने । थाकिसक्यौं । अपराधी पत्ता लागी कारबाही भएका दिन मन शान्त हुन्छ,’ यज्ञराजले भने । घटनाको यति लामो समयसम्म सत्यतथ्य उजागर नहुँदा परिवारका सदस्यसँगै स्थानीय पनि सशंकित छन् । निर्मलाका सहपाठी पनि यो घटनाका दोषी पत्ता लागोस् र उसलाई कार्बाही होस् भन्ने चाहनामा छन् । उनीहरूले शुक्रबार लेखेको पत्र मंगलबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई पठाउने बताए।

प्रकाशित: १८ भाद्र २०७५ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App