बानेश्वर चोकैमा रहेको व्यवस्थापिक ससंद भवन जति चिटिक्क र व्यवस्थित देखिन्छ। त्यहाँको दृश्य नियाल्ने जोकोहीको मन पनि उत्साहित र ऊर्जा भर्ने गर्छ। तर, त्यही भवनको दुई सय मिटरपछाडि रहेको भित्रि बानेश्वर त्यति चिटिक्क देखिँदैन। जताततै खनेर सडक लथालिंग बनेको छ। कतै मेलम्चीको पाइप हाल्न त कतै ढलको काम गर्न सडक खनिएका छन्। नखनेका सडकमा पनि जताततै खाल्डाखुल्डी देखिन्छन् । यसबाट सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
हिँड्नकै लागि पनि बाटो पाउन मुस्किल हुने ठाउँमा गाडी मोटरले कसरी चल्नु? हिलोमा डुबेका मोटरसाइकल र ट्याक्सीहरू बीचबीचमा फसेका देखिन्छन्, व्यवस्थापिका संसद भवनको पछाडिबाट पञ्चकुमारी जाने मार्ग त वर्षाैदेखि अवरुद्ध जस्तै छ।
बानेश्वरको संसद भवन चिटिक्क र सुन्दर छ। तर, त्यसैको दुई सय मिटरपछाडि रहेको भित्रि बानेश्वर त्यति चिटिक्क देखिँदैन। जताततै खनेर सडक लथालिंग बनेको छ। नखनेका सडकमा पनि जताततै खाल्डाखुल्डी देखिन्छन्।
पञ्चेश्वर मार्ग मात्रै होइन्, जनसहयोगी मार्ग, भीमसेनगोलामार्ग, सूर्यविक्रम ज्ञवाली मार्ग लगायतका भित्री सडकमा खाल्डाखुल्डी हिलोबाहेक केही देखिन्न। ‘व्यवस्थित गर्न नसक्ने भए किन खाल्डा खन्नु ?’ पञ्चेश्वरी मार्गका रितेश दाहालले भने, ‘असार लाग्यो कि काम सुरु गर्ने चलनले वर्षामा जहिल्यै सास्ती खेप्नुपरेको छ।’
उनका अनुसार दुई वर्षदेखि स्थानीयले हिलाम्मे र धुलाम्मे सडकको सास्ती खेप्दै आइरहेका छन्। ‘हामी हिलोधुलोसँग खाइखेली गर्दागर्दै बानी परिसक्यौँ,’ दाहालले व्यंग्य गर्दै भने, ‘हिलोधुलो देख्न नपाउँदा कस्तोकस्तो लागेर आउँछ भन्या!’
दाहालको मात्रै समस्या होइन्, काठमाडौं महानगरपालिका वडा नं ३१ बासीको साझा समस्या बनेको छ बेहाल सडक।
‘सग्लो सडक देख्न कहाँ जाने होला?’ भीमसेनगोलामा भेट्टिएका पैदलयात्रु दिनेश थापा भन्छन्, ‘सरकारले सडकमा खाल्डाखुल्डीका एम्बुसहरू फिट गरेको जस्तो लाग्छ।’ स्थानीयहरू हिलाम्मे र धुलाम्मे सडकले कष्ट भोगिरहेको बताउँछन्। ‘पानी आयो कि हिलोले हैरान पार्छ,’ उनी भन्छन् ‘घाम लाग्ने बित्तिकै धुलोले आँखा हेर्न सकिन्न।’
काठमाडौंं महानगरपालिका वडा नं ३१ यस्तो वडा हो। जुन एउटै वडाले प्रदेश सांसद समेत पाएको छ। तर, दुर्भाग्य उक्त सडकमा हिँडीसाध्य समेत छैन।
काठमाडौं महानगरपालिका– ३१ का वडाध्यक्ष नारायण भण्डारीले ढल ओछ्याउने क्रममा भित्री बानेश्वरको सडक बेहाल बनेको स्वीकार्छन्। ‘व्यवस्थापिका संसद भवन पछाडिका सडक लथालिंग छ,’ उनले भने, ‘ठेकेदारकै ढिलासुस्तीकै कारणले सडक निर्माणमा ढिलाई भएको हो।’ ढल बिछ्याउने कार्य अन्तिम चरणमा पुगेकाले वर्षा रोकिएसँगै कालोपत्रे सुरु गर्ने उनले बताए।
‘हिलाम्मे र खाल्डाखुल्डी सडकले जनताले सास्ती पाएको अनुभव गरेका छौं,’ उनले भने, ‘अहिले गिटी तथा अन्य निर्माण सामग्री अभावले सडक निर्माणले गति लिन नसकेको हो।’
वडाध्यक्ष भण्डारीले जनसहयोगी मार्ग र एकतामार्गमा स्थानीय जनताले सडक विस्तारमा असहयोग गरेकाले निर्माणमा ढिलाई भइरहेको बताए।
‘स्थानीय जनताले सडक विस्तार गर्न अवरोध गरिरहेका छन्। त्यसैले केही स्थानमा समस्या आएको छ,’ उनले भने, ‘ वडा कार्यालयले सबैसँग समन्वय गरेर काम अघि बढाउनेछौं।’ डिभिजन सडक कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले दुई वर्षदेखि व्यवस्थापिका संसद् भवन पछाडि रहेका सडक अस्तव्यस्त भएको बताउँछन्। ‘दुई वर्षअघिदेखि सडक विस्तार गर्न खोजेका थियौं। ढल तथा खानेपानीको पाइप बिछ्याउन ढिलाई भएकै हो । जसको कारणले स्थानीय जनताले सास्ती भोगेका छन्,’ उनले भने, ‘वर्षा सकिनेबित्तिकै सडक निर्माणलाई अगाडि बढाउनेछौं।’ उनका अनुसार वर्षात्को समयमा ग्राभेल तत्कालै बगाउने भएकाले मर्मतसम्भार नगरिएको हो। ‘वर्षा रोकिनेबित्तिकै धमाधम सडक कालोपत्रे गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘ढल तथा पाइप बिछ्याएर सम्पन्न भएका सडक फागुन मसान्तसम्म कालोपत्रे गर्नेछौं।’
सडक कार्यालय अगाडि पनि उस्तै
काठमाडौं उपत्यकाको सडक निर्माण र मर्मतसम्भारको लागि काठमाडौं जिल्लामा दुई वटा डिभिजन सडक कार्यालय रहेका छन्। सडक डिभिजन सडक कार्यालय काठमाडौं १ र सडक डिभिजन कार्यालय काठमाडौं २। व्यवस्थापिका संसद भवन पछाडिबाट तीनकुने शान्तिनगर निस्कने सडकको बिचमा पर्छ– डिभिजन सडक कार्यालय काठमाडौं १। तर, उक्त सडक डिभिजन कार्यालय अगाडिकै सडक भने बेहाल छ । ति सडक भएर आउजाउ गर्न निकै समस्या देखिए पनि कार्यालयले पूर्णतया बेवास्ता गरेझै देखिन्छ।
सडक डिभिजन कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समयमा नै खानेपानीको पाइपलाइन बिछ्याउन नसक्दा सडक कालोपत्रे गर्न नपाएको बताए । ‘सडकको दुवैतर्फ ढलको पाइप जडान गरिसक्यौं । तर, खानेपानीको पाइप नबिछ्याउँदा सडक कालोपत्रे गर्न नपाएका हौं,’ उनले भने, ‘निर्देशनालयले जतिसक्दो चाँडो पाइप बिछ्याउँछ । सोही अनुसार सडक कालोपत्रे गर्नेछौं।’
निकाय धेरै, जिम्मेवारी लिने कोही भएन
राजधानीको ढल व्यवस्थापनका लागि करिब आधा दर्जन सरकारी निकाय कार्यरत छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सडक विभाग, स्थानीय तह, ढल महाशाखालगायत निकायले यहाँको ढल व्यवस्थापनको जिम्मा पाएका छन् । तर, कुनै पनि निकाय ढल व्यवस्थापनको जिम्मेवारी स्विकार्न तयार छैनन् । उनीहरू एकले अर्काेलाई दोष दिँदै पन्छिने गरेका छन् । खानेपानी तथा ढल निकास विभागका अधिकारीहरू आफ्नो कार्यक्षेत्र सहरीभन्दा ग्रामीण भएको दाबी गर्छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्याय सरकारी निकायबीच समन्वय अभावले सडक निर्माणमा ढिलासुस्ती हुने बताउँछन्।
‘एउटाले सडक भत्काउने, एउटाले ढल बनाउने, अर्काे निकायले खानेपानीको पाइप बिछ्याउने काम गर्छन्,’ उनले भने, ‘समन्वयको अभावमा उपत्यकामा विकास निर्माणले गति नलिएको हो।’
प्रमुख अधिकारी पनि सरकारी निकायबीचको समन्वय अभावले नै सडक निर्माण समयमा नै हुन नसकेको बताउँछ।
प्रकाशित: १८ भाद्र २०७५ ०१:१४ सोमबार