४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘नगरपालिकाको निर्णयमाथि प्रजिअको हस्तक्षेप’


खोटाङ – त्रि–धार्मिकस्थल हलेसीको व्यवस्थापन समिति गठनको विषयलाई लिएर हलेसी तुवाचुङ नगरपालिका र प्रशासनबीच द्वन्द्व बढेको छ। गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराज राईको अध्यक्षता रहने गरी सिफारिस गरेको हलेसी मन्दीर व्यवस्थापन समितिका पदाधिकारी र सदस्य जिल्ला प्रशासन कार्यालय(जिप्रका)ले हेरफेर गरेपछि नगरपालिका र प्रशासनदबीच द्वन्द्व बढेको हो।

नगर कार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गर्दै व्यवस्थापन समिति गठन गरेर जिप्रका र जिल्ला मालपोत कार्यालय  तथा गुठी संस्थानमा निर्णय पठाएको थियो। तर गुठी संस्थानले भने अध्यक्ष बाहेक सबै पदाधिकारी परिवर्तन गरेर जानकारी पठाएपछि स्थानीय निकायका पदाधिकारी रुष्ट बनेका छन्। 

प्रमूख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले गुठीलाई राय पठाउँदा सबै नामा परिवर्तन गरेको र उनकै रुचिअनुसारका ब्यक्तिलाई गुठीले समावेश गरेको पाइएको छ। नगरपालिकाको सर्वसम्मत निर्णयलाई उल्टाउँदै मन्दीर व्यवस्थापन समितिको नामावली परिवर्तन गरेर पठाए अनुशार गुठी संस्थानले पनि प्रशासनकै रायका आधारमा समितिलाई स्वीकृत गरेकाले समस्या चर्किएको मेयर इवन राईले बताए।

नगरपालिकाले २०७४ साल पुस १७ गते सिफारिस गरेको मन्दीर व्यवस्थापन समितिलाई नै जेठ २७ गतेको नगर कार्यपालिका बैठकले पास गरेको थियो । ‘स्थानीय सरकारको निर्णय उल्ट्याउने को हो ?,’ मेयर राईले भने, ‘सिडियोबाट निन्दनीय काम भएको छ।’ 
नगरपालिकाले सिफारिस गरेको हर्कराज राई अध्यक्ष, भूपेन्द्र राई उपाध्यक्ष, कमल गिरी सचिव, थामबहादुर राई सह–सचिव, दिलीपराज गिरी कोषाध्यक्ष, रमिता बस्नेत, शौरभ गिरी, यज्ञराज राई र राजेश परिवार सदस्य रहेको हलसी मन्दीर व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलको रायमा गुठी संस्थानले परिवर्तन गरेको मेयर राईले दाबी गरे। प्रशासनले गत असार १६ गते गुठीसंस्थानलाई पठाएको सिफारिस र रायमा हर्कराज राईलाई अध्यक्ष कायम राखेर अन्यलाई फेरबदल गरिएको पाइएको छ।

प्रजिअ पौडेलको सो राय पत्रमा लंकसेर राई उपाध्यक्ष, खिलाल राई सचिव, रमिला बस्नेत कोषाध्यक्ष, भूपेन्द्र राई, मंगल परियार, यज्ञराज राई, प्रकाशचन्द्र गिरी, थामबहादुर राई सदस्य छन् । नगर कार्यपालिकाको सिफारिस र प्रशासनको राय सहितको समितिलाई एकैसाथ पठाइए पनि गुठी संस्थानले पनि प्रशासनको रायका आधारमा असार २५ गते मन्दीर व्यवस्थापन समितिलाई स्वीकृत गरेर असार २८ गते मालपोत कार्यालयलाई पत्राचार गरेको पाइएको छ।

आफ्नो निर्णय उल्टिएपछि नगरपालिकाले प्रशासनको राय सिफारिसमा गुठी संस्थानले स्वीकृत गरेको हलेसी मन्दीर व्यवस्थापन समितिलाई काम गर्न नदिने भएको छ। परिवर्तित समितिलाई कागजात र कार्यालयको तालाचाँबी नदिनका लागि भनिसकिएको मेयर राईले बताए। ‘सिडियोको समितिलाई काम गर्न दिइन्न। कागजात र ताला चाँबी नदिनु भनेर पुरानो समितिलाई भनिसकेका छौँ,’ मेयर राईले भने, ‘स्थानीय सरकारले जे निर्णय गरेको छ । त्यही निर्णय पालना हुनुपर्छ। गराएरै छाड्छौँ।’ 

 

प्रकाशित: १६ भाद्र २०७५ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App