२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

समयमै काम नगर्ने ठेकेदारलाई म्याद थपको ‘पुरस्कार’ दिने तयारी

नवलपुर–मलंगवा सडकखण्डमा सवारी साधनले उडाएको धुलोले छोपिएका साईकल यात्री र स्कुले बालबालिका । तस्बिरः टंक/नागरिक

सर्लाही – १० वर्षदेखी जीर्ण नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे गर्ने पछिल्लो ठेक्काको म्याद पुनः तीनमहिना बढाउने तयारी भएको छ। सम्झौता अवधीभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि आवश्यक कानुनी कारबाहीको सट्टा सम्बन्धित कार्यालयले म्याद थपको ‘पुरस्कार’ दिने प्रकृया अगाडि बढाउन थालेको हो।

पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने एकमात्र मुख्य सडकखण्ड अन्तर्गत आवश्यक स्थानमा नाला एवं कल्भर्ट निर्माण सहित कालोपत्रे गर्ने ठेक्काको म्याद यही भदौ ३० गते सकिँदै छ। ठेकेदार कम्पनीसँग २०७३ भदौमा सम्झौता भएपनि कालोपत्रेको काम सुरु नै नभएको र ठेक्का अवधी १७ दिनमात्र बाँकी रहेपछि उक्त सडकखण्ड हेर्ने हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले ठेक्काको म्याद ३ महिना थप गर्ने प्रकृया अगाडि बढाएको हो।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख सन्तोष कर्णले सम्झौता अवधी भित्र काम सम्पन्न नभए तीन महिना म्याद बढाइने जानकारी दिए। ‘अब समय निकै कम भइसकेको छ’, कर्णले भने, ‘मंसिर १५ गते भित्र जसरी पनि सक्ने गरी काम अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिइसकिएको छ।’ 

भदौ १५ पछि कालोपत्रेको काम सुरु हुने कर्णले उल्लेख गरे। ‘भर साउन र भदौं १५ गतेसम्म वर्षाका कारण कार्यालय कै तर्फबाट काम रोकिएको थियो’, कर्णले भने, ‘अब भदौंपछि कालोपत्रेको काम भटाभट सुरु हुन्छ।’ अब छोटो समय बाँकी रहेकाले मंसिरसम्म ठेक्काको म्याद बढने उनले बताए । कल्भर्टको काम सकिइसकेको र नालाको पनि करिब करिब काम सकिएकाले अब कालोपत्रेको मात्र काम बाँकी रहेकाले मंसिरभित्र काम सम्पन्न हुनेमा आफू निकै आशावादी रहेको प्रमुख कर्णले बताए। 

२५ किलोमिटर ५९४ मिटर कालोपत्रेका लागि दुईवटै प्याकेजको काम २०७५ भदौ ३० गते सम्पन्न गर्ने गरी दुई वर्षअघि ५१ करोडमा ठेक्का सम्झौता भएको थियो। नवलपुर–गैर खण्डमा हिमडुङ एण्ड ठोकर–हिरा एण्ड नमिता जेभी तथा गैर–मलंगवा खण्डका लागि रमन–आश्रय जेभीले टेण्डर सकारेको हो। तर तोकिएको समयमा काम सम्पन्न नहुने देखिएपछि हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले ठेक्काको म्याद तीन महिना थप गर्ने तयारी थालेको छ।

गत चैत दोस्रो साता प्रतिनिधिसभा सदस्य प्रमोद साहको पहलमा जिल्ला प्रशासन कार्यालयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, सरोकारवाला डिभिजन सडक कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, सम्बन्धित ठेकेदार, संचारकर्मी, नागरिक समाजका अगूवा सहितको अन्तरक्रिया कार्यक्रममा नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत नवलपुर–गैर खण्डका ठेकेदार नन्दलाल श्रेष्ठले वैशाख २ गतेबाट कालोपत्रेका काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यसअघि पनि स्थानीयले पटक–पटक राजमार्ग अवरुद्ध गर्दै तत्काल कालोपत्रेको काम सुरु गर्न आग्रह गर्दै आएका थिए। कालोपत्रेको काम तोकिएको समयमै सम्पन्न गर्ने गराउने सहमति हुँदै आएको थियो। यद्यपी पुनः तीन महिना म्याद बढाइने भएको छ। 

२०६५ सालदेखि जीर्ण सडक आवश्यक कल्भर्ट, नाला निर्माण सहित कालोपत्रेका लागि २०६९ साल चैत १४ गते तत्कालिन भारतीय राजदुत जयन्त प्रसादले शिलान्यास गरेका थिए। भारतीय सरकारले नै आब्हान गरेको टेण्डर प्रकृयाबाट छनौट भएको भारतीय निर्माण कम्पनी भिष्वा कन्ट्रक्सनले झण्डै दुई वर्षसम्म ५ प्रतिशत पनि काम नगरी बीचैमा छाडेर हिँडेको थियो। बीचमा त्यसै अलपत्र परेको सडकखण्ड कालोपत्रे गर्न पुनः २०७३ साल भदौ ३१ गते दुईवर्षे समायवधी सहित दुई ठेकेदार कम्पनीसँग सम्झौता भएकोमा समयमै काम सम्पन्न नहुने भएपछि  पुनः तीन महिना म्याद थपिने भएको छ। 

पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने मुख्य मार्ग १० वर्षदेखि कालेपत्रे नहुँदा यात्रु, यातायात व्यवसायी, मजदुर एवं आसपासका सर्वसाधारण आजित छन्। ठूला सवारी साधन गुड्दा घाम लागेको बेला धुलाम्मे अनि पानी पर्दा हिलाम्मे हुने गरेका कारण सर्वसाधारणले सकस व्यहोर्दै आएका छन्।

गत वैशाख जेठमा भने सम्बन्धित कार्यालयकै तर्फबाट ठेकेदार कम्पनीलाई बजेट निकासा नहुँदा कालोपत्रेको काम गराउन नसकिएको पटक–पटक ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका प्रमुख जिल्ला अधिकारी दोर्णप्रसाद पोखरेलले जानकारी दिए। ‘म आएदेखि सम्बन्धित सडक कार्यालयका कर्मचारी तथा ठेकेदारलाई कालोपत्रेको काम सम्पन्न गर्न दबाब दिदै आएको थिएँ’, प्रजिअ पोखरेलले भने, ‘तर बीचमा बजेट निकासा नै नभएपछि ठेकेदारले काम नै गरेनन् अब मंसिर भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।’ ८–१० वर्षदेखि नबनिरहेको सडक कालोपत्रेको काम थप ३ महिना कुर्न समेत प्रजिअ पोखरेलले आग्रह गरे।

प्रकाशित: १५ भाद्र २०७५ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App