२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई शताब्दी लामो रथयात्रा निकालिँदै

पाल्पा – पाल्पामा दुई सय वर्ष पुरानो रथयात्राको तयारी तीव्र पारिएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाइने यो भगवती जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएकोले यसको तयारी तीव्र पारिएको छ। 

वि.सं १८७१ मा अंग्रेजले नेपालसँग युद्ध गर्न पाँच तिरबाट आक्रमण गर्ने योजना बनाएका थिए। मुख्य विवादास्पद क्षेत्र बुटवल स्यूराजमा आक्रमण गरी पाल्पामा कब्जा जमाउनका लागि मेजर जनरल जोन सुलिवान उडको नेतृत्वमा चार हजार जवानको फौज गोरखपुरमा तैनाथ थियो। अंग्रेजले नेपालमा आक्रमण गर्न त्यस किसिमको विशेष योजना बनाएको थाहा पाएपछि नेपालमा पनि बिभिन्न मोर्चामा अंग्रेजसँग लड्नका लागि तयारी गरिएको थियो।

पाल्पा र बुटवलको सुरक्षा गर्न कर्णेल उजिरसिंह थापा लगभग तीन हजार जवान सैनिक सहित नुवाकोटगढीमा खटिएका थिए। अंग्रेजले नेपाललाई बुटवल, स्यूराज रौतहटका २२ गाउँ खाली गर्नु भन्ने धम्की पठाएपछि त्यसको म्याद सिद्धिनासाथ युद्धको घोषणा नगरिक नै बुटवल स्यूराज कब्जा गरे। (२२ अप्रिल १८) नेपाली पक्षको कुनै तयारी नभएकाले ती क्षेत्र जित्न अंग्रेज सफल भए। तर औलोको कारण उनीहरू त्यहाँ टिक्न सकेनन् र गोरखपुरतिर फर्के। 

जनरल अमरसिंह थापाले पाल्पाबाट फौज पठाएर बुटवल कब्जा गर्न खोज्दा अंग्रेजका १८ जना मारिए र ६ जना घाइते भए। त्यो खबर पाएपछि गर्भनर जनरल लर्ड हेस्टिङ् रिसले चुर भए। त्यसपछि उनले नेपालका बिरुद्ध युद्धको घोषणा गरे। (१ नोभेम्बर १८१४) बुटवल हुँदै पाल्पा कब्जा गर्ने जिम्मा लिइ मेजर जनरल जोन सुलिवान उड चारहजार फौज लिइ गोरखपुरमा बसेको कुरा नेपालका मुख्तियार भीमसेन थापालाई थाहा भयो। त्यसपछि उनले आफ्ना भतिजा कर्णेल उजिरसिंह थापालाई आफ्ना बाबु अमरसिंह थापालाई सहयोग गरी पाल्पा बुटवलको सुरक्षा गर्न नुवाकोट गढीमा पठाए। उनको साथमा गवुज गुल्म र गुरुवक्स गुल्मका दुईसय फौजलाई पनि पाल्पा बुटवलको सुरक्षा गर्न खटाइएको थियो।

अंग्रेजका तर्फबाट विशाल फौजले आधुनिक हातहतियार सहित आक्रमण गर्ने योजना बनाएको छ भन्ने कुरा पाल्पामा जानकारी आइसकेको थियो। त्यहीबेला पाल्पाका तैनाथ सानाकाजी अमरसिंह थापाको मृत्यु भयो। त्यसपछि उजिरसिंह थापाको काधमा बुटवलको सुरक्षा मात्रै नभई पाल्पाको प्रशासन चलाउने जिम्मेवारी थपियो। थापाले अंग्रेससँग भिड्न विशेष तयारी गरे। त्यतिबेला तानसेनमा महिषासुरमर्दिनी भगवतीको शक्तिको खुब चर्चा थियो। तिनै भगवतीको पाउ छोएर थापाले नेपाल अंग्रेज युद्धमा विजयी भएमा ठूलो मन्दिर निर्माण गराउनुका साथै भगवतीको महिमा फैलाउने भाकल गरे। यस प्रकारको तयारीले पाल्पा क्षेत्रमा खटिएका सैनिकहरुमा जोश, जाँगर पलायो र सजिलै अंग्रेज फौजलाई हराउन सफल भए। 

पाल्पाका तात्कालीन तैनाथवाला कर्णेल उजिरसिंहले भाकल पूरा भई विजय प्राप्त गरेको भन्दै विसं १८७२ मा तीनतले भगवती मन्दिर निर्माण गरेका थिए। वि.सं १८७१–७२ मा नेपाल अंग्रेजबीच जीतगढीको युद्धमा जीत हुन नसकेपनि पश्चिममा नालापानी, मलाउँ, जैठक आदि क्षेत्रमा जित भएपछि अंग्रेजहरुले आफ्नो अनुकूल नेपाललाई सुगौली सन्धीमा हस्ताक्षर गर्न बाध्य बनाएको थियो।

जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सरकारी विदासमेत दिने गरिएको छ। पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटीस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित भगवतिको रथ निकाल्ने गरिएको हो। वि.सं.१९९० सालको भुइचालोले मन्दिर चर्किएर १९९२ सालमा भत्किएपछि तत्कालिन श्री ३ जुद्धशमशेरबाट मन्दिर जिर्णोद्वार गराउने हुकुम प्रमांगीअनुसार उजीरसिंहकै सन्तानले मन्दिरको वि.सं.२०३१ सालमा मन्दिरको मर्मत सम्भारको लागि तत्कालिन राजा वीरेन्द्रबाट १ लाख निकासा गराएको स्थानीय संस्कृतिकर्मी बताउँछन्। यो जात्रा तानसेनमा स्थानीय रुपमा मनाइदै आएको भएतापनि यो जात्राको राष्ट्रिय महत्व रहेको छ। जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ।

तानसेन र भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ। वि.सं. १८७१ मा पाल्पाली सेन राज्यका प्रशासक अमरसिंह थापाले गोर्खाली सेना मार्फत् अंग्रेजलाई युद्धमा हराएका थिए। लडाइकै समयमा अमरसिंहको मृत्यु भएपछि नियुक्त भएका उजीरसिंह थापाको नेतृत्वको सेनाले अंग्रेजलाई हराएका थिए। शक्तिशाली अंग्रेज सेनालाई युद्धमा जितेको सम्झनामा वि.सं. १८७६ देखि भगवती जात्रा मनाउन सुरु गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए।

उनी भन्छन्, ‘घरेलु हातहतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजीरसिंह थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए सोही अनुसार जात्रा हुँदै आएको छ।’ गुठीका अध्यक्ष उदयले पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रालाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको बताए। सरकारले सहयोग गरे धार्मीक वैदेशिक पर्यटनमा प्रवद्र्धन गर्न जात्राको भूमिका महत्वपूर्ण हुने अध्यक्ष उदय बताउँछन्। 

विजयउत्सवको २ सय औं वर्ष मनाउन भगवती मन्दिर व्यवस्थापन समितिदेखी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू भव्य तयारीमा जुटेका छन्। विजयउत्सवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन समिति सक्रिय भएर जुटेको हो। मन्दिर ब्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विजयउत्सवको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ। भगवतीजात्राको अवसरमा विजयउत्सवको झल्को दिने गरी भदौ १७ गते साँझ श्रीकृष्ण जन्माष्टमीको दिन तानसेन बजारमा अतिसवाजी गरिने भएको छ।

नेपाल अंग्रेज युद्धको झल्को दिने गरी नाटक तथा भिडियो डकुमेन्ट्री प्रर्दशन गर्ने, विभिन्न जातजाती भाषाभाषीका कला संस्कृतिको प्रदर्शन गर्ने, विभिन्न संचारमाध्यम तथा सोसल मिडियाबाटबाट प्रत्यक्ष प्रशारण गर्ने, युद्ध जितेको खुसियालीमा तानसेन बजारमा भदौ १७ र १८ गते दिपावली गर्ने समितिले बताएको छ। समितिका सदस्य सचिव भीमसेन कार्कीले विजयउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरी पाल्पालाई ऐतिहासिक पर्यटकिय जिल्लाको रुपमा पहिचान गराउन सवैपक्ष एकजुट भएर काम गर्नुपर्ने बताए। राष्ट्रिय स्वाधिनतासँग जोडिएको विजयउत्सव भएकाले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने माग पाल्पालीको रहेको छ। 

प्रकाशित: १४ भाद्र २०७५ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App