गोलबजार(सिरहा)– कमला नदीमा पुर्णिमाको जल भर्ने क्रममा नुहाउने क्रममा भासिएर डुब्न लागेका सहपाठीलाई बचाउन नगइदिएको भए राहुल राउत गोलबजार–४(नीपाने) स्थित आफ्ने घरमा हुन्थे। जहाँ आइतबार उनकी बहिनी रोशनी राखी लिएर उनको प्रतीक्षामा थिइन। उनले शुक्रबारै गोलबजारबाट राखी किनेर घरमा राखिसकेकी थिइन। तर त्यसो हुन सकेन।
जनै पुर्णिमाको गोलबजारको शिव मन्दिरमा चढाउन भनी जल भर्न कमला नदी गएका १५ वर्षीय राहुल कुमार राउतको नदीमा बगेसँगै बहिनी रोशनीको खुशीपनि सेलायो। राहुल गोलबजार स्थित माउण्ट इंगलिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यनरत थिए। रोशनी कक्षा ५ मा अध्यनरत छिन्। कान्छो भाई अमर कक्षा २ मा उही स्कुलमा पढ्छन्।
रोशनी दाईको विलापमा रुँदैछिन्। ‘आब के होमवर्क सिखादेतै (अब कसले गृहकार्य सिकाई दिन्छ)’ भन्दै भक्कानिन्छिन् रोशनी। भाई अमर पनि दाईको बिलापमा रुँदै छन्।
माउण्टमै सहपाठी मन्जे महरासँगै कमला नदी नुहाउन गएका थिए राहु। मन्जे गहिरो पानीमा डुब्न लाग्दा बचाउन गएका राहुल पनिसँगै डुबेका थिए। जिद्धी गरेर कमला नुहाउन गएका थिए राहुल। घरको जेठो छोराको मृत्युको खबरले आमा बेवी राउत डाँको छाडेर रुँदैछिन्। ३५ वर्षीया बेवी छोरालाई एकपटक देखाइदेऊ भन्दै डाँको छाडेर रुँदैछिन्। ‘हमर बाबुके लाईब दुु ‐मेरो छोरालाई ल्याइदेऊ)’, कमलामा जल भर्न गएका छोरा डुबेको खबर सुनेलगत्तै बेबीको मुखबाट बारम्बार यिनै शब्द निस्किरहेका छन्। घरीघरी बाबु कखनी एतै(छोरा कतिबेर आउँछ) भन्दै मुर्छा पर्छिन्। आफन्तहरु पानी छर्केर उनको होस फर्काउँछन्। छोरा डुबेको खबर सुनेदेखि उनी मुर्छापर्ने र आफन्तले पानी छर्केर होसमा ल्याउने क्रम चलिरहेको छ।
उनका श्रीमान् सुनिलको अश्रुधारा रोकिएको छैन्। उनी चुपचाप छन्। अश्रुधारा बगिरहेको छ। राहुल शनिबार कमला नुहाउन जिद्ध गरेर छिट्टै फर्किन्छु भनेर गएका थिए। छोरा डुबेको खबर सुनेपछि सुनिल घरभित्रै एक कुनामा गएर डाँको छाडेर रुन थाले। ‘मैले रोएको सुनेर श्रीमतीसहित घरपरिवार सबैले थाहा पाइहाले’, उनले भने, ‘छोरा गुमाएको पीडा कसरी दबाउन सक्छु र।’
परिवारको जीवनस्तर उकास्न भनेर सुनील सात वर्षदेखि वैदेशिक रोजगारीमा थिए। उनी विदेकै कमाईबाट गोलबजार– ४ मा जग्गा किनेर घर बनाएका छन्। छोराछोरीलाई निजी स्कुलमा पठाएका छन्। आफु उच्च शिक्षा पढ्न नपाएर विदेशमा श्रम गर्नुपरेको जस्तो पीडा छोराछोरीले खप्नु नपरोस भनेर उनी छोराछोरी निजीमा पढाउँदै छन्।
राहुल जेठो छोरा भएकोले उनलाई उच्च शिक्षा पढाएर हाकिम बनाउने उनको रहर थियो। ‘विदेशमा कमाएर छोरालाई हाकिम बनाउँला भनेको थिए’, सुनिलले भने, ‘अब सबै सपना कमला नदीसँगै बगेर गएको छ।’ राउत परिवार डाँको छाडेर रोएको सुन्दा छिमेकका जोकोहीको आँखा रसाएको थियो। राउत निवास पुगेर शोकाकुल परिवारलाई भरोसा दिनेहरुको ठूलै भिंड लागेको छ। यो गाउँबाट शनिबार राहुलसँगै मन्जय महरा कमला नदीमा जल भर्न गएको स्थानीयवासी बताउँछन्। दुबै असल मित्र थिए। दुबै सँगै जल भर्न गए, दुबै कहिल्यै नफर्किने गरी दुनियाँबाट विदा भए, स्थानीयवासी बताउँछन्। दुबैजनाको शव सोमवार प्रहरीले भेटाएको छ।
कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ बेपत्ता भएका तीनजना मध्ये कृष्णकुमार महतोको शव आइतबार विहान धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित कमला नदीको खोचमा फेला परेको थियो।
राहुलको शव सोमबार कर्जन्हा–७ स्थित कमला नदीको किनारमा फेला परेको छ। मन्जय महराको शव भारतीय सहर जयनगरको कमला पुल नजिक फेला परेको सिरहा प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले जानकारी दिए। डुबेर बेपता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको खोजी तथा उद्धार टोलीले निरन्तर खोजी जारी राखेको थियो।
एउटै टोलका दुईजना युवाको मृत्युले नीपाने गाउँमा शोक छाएको छ।
प्रकाशित: ११ भाद्र २०७५ १५:१७ सोमबार