coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निर्वाध चले सुर्खेतका विद्यालय

श्रीकृष्ण संस्कृत तथा साधारण माविको कक्षा आठका विद्यार्थीहरू कक्षा कोठामा अध्ययन गर्दै।     तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत – आफ्ना नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार देशभर बन्दको आव्हान गर्याे। अरु क्षेत्रमा बन्दको प्रभाव देखिएपनि सुर्खेतका सामुदायिक विद्यालयमा भने त्यसको प्रभाव देखिएन्। यहाँका अधिकांश सामुदायिक विद्यालय निर्वाध रुपमा सञ्चालन भए।

‘अहिलेसम्म कुनै पनि राजनीतिक दलहरूले आव्हान गर्ने बन्दमा हामीले सहभागिता जनाएका छैनौं’ श्रीकृष्ण संस्कृत तथा साधारण माविका प्रधानाध्यापक यामलाल घिमिरेले भने, ‘बन्दमा पनि यहाँका सामुदायिक विद्यालय निर्वाध सञ्चालन हुन्छन्।’ सुर्खेतका सामुदायिक विद्यालयलाई २०७० सालमा विद्यालय शान्तिक्षेत्र घोषणा गरिएको हो। त्यसयता यहाँका अधिकांश सामुदायिक विद्यालयहरू कुनै पनि राजनीतिक दल र अन्यले गर्ने बन्दमा पनि निर्वाध सञ्चालन हुन्छन्।

विप्लवका कार्यकर्ताले बन्द सफल पारिदिन यहाँका सामुदायिक विद्यालयलाई आग्रह नगरेका होइनन्। निजी र उपत्यका बाहिरका केही सामुदायिक विद्यालयमा बन्दको प्रभाव देखिएपनि अधिकांश विद्यालयहरू सञ्चालनमा रहे। ‘पाँच वर्षदेखि हामीले कुनै पनि राजनीति दल तथा समूहहरूले गर्ने बन्दबाट विद्यालयलाई टाढा राखेका छौं’ वीरेन्द्रनगरको जन माध्यामिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘विद्यार्थी आउँछन्, विद्यालय निर्वाध सञ्चालन हुन्छन्।’ उनले सुरुसुरुमा भने बन्दमा विद्यालय सञ्चालन गर्दा समस्या आएको बताए।

‘बन्दमा विद्यालय चलाउने भन्दै कतिपयले धम्की दिन्थे, विद्यार्थी आउन मान्दैनथे’ उनले भने, ‘अहिले अवस्था फेरिएको छ, विद्यार्थी आउँछन्, नियमित कक्षा सञ्चालन हुन्छ।’ मंगलबारको बन्दमा यहाँका सबै सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरुको कमी थिएन्। ‘चार वर्षयता हामीलाई कुनैपनि बन्दले प्रभाव पारेको छैन्’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘बन्दमा पनि निर्वाध विद्यालय सञ्चालन गरिरहेका छौं।’

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले सुर्खेतका सामुदायिक विद्यालयमा बन्दको प्रभाव नपरेको बताए। उनले विद्यालय शान्तिक्षेत्र घोषणा गरिएपछि सुर्खेतका सामुदायिक विद्यालयहरु बन्दमा पनि निर्वाध सञ्चालन हुने गरेको बताए। ‘सुर्खेत जिल्लाभित्रका सबै सामुदायिक विद्यालयहरु निर्वाध सञ्चालन भएका छन्’ उनले भने, ‘विद्यालय शान्तिक्षेत्र घोषणालाई हामीले कडाईका साथ कार्यान्वयन गरेका छौं।’ उनले उपत्यकाबाहिरका केही सामुदायिक विद्यालयमा अन्य दिनको भन्दा कम संख्यामा विद्यार्थीहरू आएको बताए। उनले संस्थागत विद्यालयहरू भने बन्दको प्रभावमा परेको बताए।

प्रकाशित: २९ श्रावण २०७५ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App