coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुस्ताङमा माटोका छानो चुहिएर समस्या

मुस्ताङको माथिल्लो भेगस्थित लोमान्थाङ। लगातारको वर्षाले त्यहाँका अधिकांश घर चुहिएका छन्। तस्बिर सौजन्यः तुलसी दाहाल/एक्याप

पोखरा - पहिले–पहिले कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा यस वर्ष भीषण वर्षा भएपछि माथिल्लो भेगका अधिकांश कच्ची घर चुहिएका छन्। कम पानी पर्ने हुँदा त्यस भेगका धेरैजसो घर माटोले छाएर बनाइएका हुन्छन्। तर, यसपटक मुसलधारे वर्षा भएपछि घरका छानो चुहिएर समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्।

माथिल्लो भेगमा रहेका विभिन्न कार्यालयका छानासमेत चुहिएका छन्। घमीस्थित प्रहरी चौकीको छाना चुहिँदा प्रहरीलाई समस्या परेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङस्थित कार्यालयको छाना पनि चुहिएको छ। एक्याप जोमसोमका संरक्षण अधिकृत तुलसी दाहालका अनुसार अघिल्लो साता माथिल्लो भेगमा भीषण वर्षा भएका कारण घरहरू चुहिएका हुन्। माथिल्लो भेगमा अहिले पनि सिमिसिम पानी परिरहेको उनले जानकारी दिए । जसका कारण छानो चुहिने क्रम रोकिएको छैन।

पानी निकै नै कम पर्ने भएकाले त्यहाँ पुस्तौंदेखि घर माटोले छाउने चलन छ। तर, पछिल्लो समय पानी बढी पर्न थालेपछि त्यस्ता घर जोखिममा परेका छन्।

‘कालिगण्डकी शिरान क्षेत्रमा यसपटक पानी बढी परेपछि त्यस क्षेत्रका अधिकांश घर चुहिएका छन,’ दाहालले भने, ‘पानी कम पर्ने भएकाले माथिल्लो भेगका घर माटोले छाउने चलन छ।’ माथिल्लो क्षेत्रका लोमान्थाङ, छोसेर, घमीलगायत गाउँका बासिन्दाले माटोले छाएर घर बनाएका छन्। त्यहाँका करिब ९० प्रतिशत घरका छानो माटोले छाइएका छन्।

‘पानी निकै नै कम पर्ने भएकाले त्यहाँ पुस्तौंदेखि घर माटोले छाउने चलन छ। तर, पछिल्लो समय पानी बढी पर्न थालेपछि त्यस्ता घर जोखिममा परेका छन्,’ दाहालले भने। लोमान्थाङमा रहेको एक्याप कार्यालय रहेको घर नयाँ भए पनि चुहिएको उनले बताए। ‘हाम्रै कार्यालय रहेको घर चुहिएपछि प्लास्टिक बिछ्याएका छौं । छानोमा थप माटो भर्न पनि घाम नलागेकाले समस्या भएको छ,’ उनले भने।

स्थानीयका अनुसार चिसोमा न्यानो हुने भएकाले माथिल्लो क्षेत्रका घर माटोले छाउने गरिएको हो । मोटर बाटो पुग्नुअघि निर्माण सामाग्री ढुवानी गर्न महँगो पर्ने भएका कारण पनि त्यहाँका बासिन्दाले माटोले घर छाउने पुख्र्याैली चलन नछाडेका हुन्। पहिले–पहिले पानी कम पर्ने हुनाले समस्या हुन्थेन । तर, पछिल्लो समयदेखि वर्षा बढी हुन थालेकाले यस्ता घरमा जोखिममा पर्दै गएका हुन्। लगातार वर्षाले गर्दा माटो गल्दै गएर छानो चुहिने भएको स्थानी बासिन्दाले बताएका छन्।

माथिल्लो क्षेत्रका अधिकांश घर होचो बनाउने र माटोले छाउने गरिन्छ। पानी पर्न थालेपछि नयाँ बन्ने घरमा प्लास्टिक छापेर माटोले छाउन थालिएको छ। अब त यस क्षेत्रमा पक्की घर पनि बन्न थालेका छन्। वर्षाकै कारण पोहोर माथिल्लो भेगमा विद्यालयसहित तीन भत्केका थिए।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले पनि माथिल्लो भेगमा घरहरू चुहिएको जानकारी आएको बताए। यसपटक बढी पानी परेकाले माटोले छाइएका कच्ची घर चुहिएर समस्या भएको उनले बताए। तर, पक्की घरलाई भने कुनै असर परेको छैन।

घमीस्थित प्रहरी चौकीसमेत चुहिएको मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले बताए। झन्डै ३० वर्षपछि यसपटक माथिल्लो क्षेत्रमा बढी वर्षा भएको उनले जानकारी दिए। यसपटक बसोबास नै कठिन हुने गरी वर्षा भएको उनले बताए।

स्थानीयका अनुसार दुई/दुई वर्षमा छानामा थप माटो भर्नुपर्छ। हिउँदमा हावाले उडाउने र वर्षामा पानीले गलाउने हुँदा माटोका छाना पातलो बन्दै जान्छ। त्यसले गर्दा चुहिन्छ।

मुस्ताङबाट निर्वाचित प्रदेश सांसद इन्द्रधारा विष्टले पनि यसपटक बढी वर्षा भएका कारण माथिल्लो क्षेत्रका कच्ची घर चुहिएको खबर आएको बताए। ‘साह्रै पुराना घर सिमसिम पानी पर्दा पनि चुहिन्थे । तर, यसपटक त माथिल्लो भेगका ९० प्रतिशत घर चुहिएका छन,’ उनले भने। सांसद विष्टका अनुसार उपल्लो मुस्ताङमा बढी र तल्लो मुस्ताङमा केही घर माटोले बनेका छन्।

हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले पश्चिमी वायुको प्रभावले यसपटक हिमाली भेगमा बढी पानी परेको बताए। कार्यालयका अनुसार अघिल्लो शुक्रबार माथिल्लो क्षेत्रको छोसेरमा २९ मिलिमिटर वर्षा भएको थियो। हिमाली भेगमा २९ मिलिमिटर वर्षा हुनुलाई अधिक मानिने ढकालले बताए।

प्रकाशित: २९ श्रावण २०७५ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App