१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अरुण पीडित भन्छन्, 'विकास त भयाे क्षतिपूर्ति पाइएन'

संखुवासभा - अरुण तेस्रो जलविद्युत परियोजना मुलुककै समृद्धीको मुख्य मेरुदण्ड हो। भारतीय सतलज कम्पनीले संखुवासभामा निर्माण गरिरहेको परियोजना निर्माण सम्झौता अनुसार सन् २०२२ सम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ। ९ सय मेगावट विद्युत उत्पादन हुने यो परियोजनाको नुमको फ्यासिन्दा स्थित ड्याम साइड निर्माण, सुरुङ मार्ग निर्माण र दिदिङको पुखुवामा पावरहाउस निर्माणमा चाहिने आवश्यक सामग्री लैजान सडक निर्माणको काम भइरहेको छ। अरुण तेस्रो प्रवेश मार्गका रुपमा छ्याङ्कुटी–पुखुवा सडक निर्माण भइरहेको छ। अव पुखुवा पुग्न ९ सय मिटर मात्र रहेको आयोजनाले जनाएको छ।

तर प्रवेश मार्गबाट प्रभावितहरुले मुआब्जा पाए पनि सडक निर्माणका क्रममा क्षति पुगेकाहरुले क्षतिपूर्ति पाएका छैनन्। सडककै कारण धेरैले खेती योग्य जमिन गुमाएका छन् भने केहीको घरबास उठीबास लागेको छ। सडकबाट झन्डै ३ सय मिटर तल सम्म अन्न बाली पुरिएको छ भने सडकको भिक्तामा गएको पहिरोले समेत ठूलो क्षति पुर्‍याएको छ। गत जेष्ठ २६ गतेको भारि वर्षाका कारण झनै ठूलो क्षति भएको स्थानीयहरु बताउँछन्। सो वर्षासंगै गएको पहिरोले ५ घर परिवार विस्थापित भएका छन्। ३ घर र १ स्वास्थ्य चौकी उच्च जोखिमा रहेको अरुण प्रवेश मार्गका इन्जिनियर गागलबहादुर भण्डारीले बताए। विस्थापित हुनेहरुमा चिचिला गाउँपालिका वडा नं. २ का सिता गुरुङ, कर्मा शेर्पा, नेत्र बहादुर राई, मच्छिन्द्र राई र ३ नम्बर वडाका थमान सिं राई रहेका छन्। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि त्रिपाल उपलब्ध गराएको थियो । तर विस्थापितहरुलाई अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन। उनीहरुका अनुसार वडा, गाउँपालिका, जिल्ला प्रशासन, अरुण तेस्रो प्रवेश मार्ग आयोजनालाई पटकपटक क्षतिपूर्तिको माग गर्दासमेत वेवास्स्ता गरेका छन्। 

विस्थापित भएकाहरु मध्ये नेत्र बहादुर राईको घर आधा पहिरोले बगाएको छ। उनीहरुको ५ जनाको परिवार प्रशासनले उपलब्ध गराएको त्रिपाल मुनि बसेका छन्। ठूलै वर्षा हुँदा भलबाढी पसेर समस्या गराएको राईले दुखेसो गरे । 'जमिनको चिसोले रातमा समस्या गराउँछ भने दिनमा घामले तात्तीएको त्रिपाल मुनिको बासले पिरोल्छ', नेत्र बहादुर भन्दै थिए। 'दु:ख गरेर बनाएको घरको अवस्था हेरेर त्रिपालबाट गुम्सिएको सास फेर्दा सायद पिडितको दुर्गन्धित सास सम्बन्धित निकायलाई नगनाउन सक्छ। तर त्यहिँ निकायले दिएको त्रिपाल हामीलाई बसिनसक्नु गन्हाएको छ', छोरा मानदेवले भने। उनले भने 'विकास त आयो तर गरिबको उठिबास पनि लायो। बस्ने ठाउँ रहेन। हामी गरिबको आवाज कसैले सुनेन्। असारको ठुलो वर्षा यहीँ त्रिपालले आधामात्र छेक्यो, आधा हामीले छेक्यौं', उनले देखाउँदै भने।

चिचिला ३ का मन कुमारी राईको पनि यसै वर्ष आयोजनाको सडकको माटोले २० मुरी उत्पादन हुने धानखेत पुरिएको छ। यस्तै २ नम्बरका ठग बहादुर गुरुङको पनि खेत सडकको पहिरोले पुरिएको छ। उनीहरुले सम्बन्धित निकायमा क्षतिपूर्ति माग गर्दै पटकपटक निवेदन चढाएको बताए। तर कुनै पनि निकायले क्षतिपूर्तिका लागि यस्तो पहल भईरहेको छ भन्ने सम्म जानकारी नदिएको गुरुङले बताए। राहत पाउनेकी नपाउने भन्ने टुंगो पनि नभएको गुरुङले बताए। 

सडक निर्माणका क्रममा निर्माण व्यवसायीले समयमा नाली व्यवस्थापन नगर्दा सो सडक खण्ड अन्तर्गत पर्ने खेतबारीमा करडौंको क्षति पुर्‍याएकोअरुण सरोकार मञ्चका अध्यक्ष नयन्द्र लाम्सोङ राईले बताए। अरुण तेस्रो पावरहाउस जाने सडक खण्डको बालुवा र लेदोमाटो सहितको भलबाढी किसानहरुको खेतबारी पसेर करोडौको क्षति पुर्‍याएको छ।  स्थानिय छत्रमणि काफ्लेका अनुसार सडक निर्माणका लागि १५ मिटरको मुअव्जा वितरण गरिएको भएपनि सडक निर्माणले दुई सय  मिटर तलसम्म क्षति पुर्‍याएको छ। उनले भने 'कम्तिमा चार मन अलैंचि उत्पादन हुने वगान क्षेत्रमा सडक खनिएको माटोले पुरेर सखाप पारेको छ, यसको क्षतिपूर्ति कसले दिन्छ।' 

छ्याङ्कुटी देखि पुखुवासम्मको २८.६९ किलोमिटरमा सडकले कति क्षति पुर्‍याएको छ भन्ने तथ्याङ्क छैन। अलैंची बगान, कोदो र धान खेती लागायतका उब्जाउमा क्षति पुगेका र विस्थापित पिडितले गाउँपालिका, जिल्ला प्रशासन र आयोजनालाई क्षतिको विवरण पटकपटक बुझाएका छन्। तर ती विवरणहरु यी कुनै पनि निकायले राखेका छैनन्। 

प्रकाशित: २८ श्रावण २०७५ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App