धादिङ – विभिन्न दुई अपराधिक घटनामा संलग्न भई फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी र २४ वर्षीय नबिन श्रेष्ठलाई पक्राउ गरेको हो।
गजुरी गाउँपालिका–५, स्थायी घर भएका बलराम खनाललाई धारिलो हतियार खुकुरी खुँडा प्रहार गरी घाईते बनाएका थिए। खनाल गाडी चालक हुन्। पाँच महिनाअघि धादिङको ज्वालामुखी गाउँपालिका –४, साधँ भन्ज्याङ स्थित सडकमा हतियार प्रहार गरेका थिए।
त्यस्तै जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नं १ रि ताजिम्रङमा खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रावती गाउँपलिका ४ बस्ने २२ वर्षीय सन्तबहादुर तामाङलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए।
गत जेठ २३ गते खुकुरी प्रहार गरी फरार भएका खनियाबास गाउँपालिका ४ बस्ने २४ वर्षीय दलबहादुर तामाङ र सोही ठाउँमा बस्ने २६ वर्षीय श्यामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै घटनाका आरोपीलाई सम्मानित धादिङ जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिई प्रहरी हिरासतमा राखी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
प्रकाशित: २० श्रावण २०७५ १२:५० आइतबार