२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मदिराविरुद्धको अभियानमा महिला, उपमेयरको नेतृत्वमा रक्सी पसल तोडफोड

रौतहट– नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।

गौर नगरपालिकाका उपमेयर किरण ठाकुरको नेतृत्वमा गएका ५० भन्दा बढी महिलाहरुले मदिरा सेवन गरेर पुरुषले महिलामाथि हिंसा गरिरहेको भन्दै गौर नगरपालिकाको वडा नम्वर २ स्थित मदिरा पसलमा प्रवेश गरेर तोडफोड गर्दै मदिराहरु नष्ट गरेका हुन्।

मदिरा सेवन गरेर पुरुषहरु घरमा श्रीमतीलाई कुटपिट गर्नुका साथै विक्री वितरण भइरहेका स्थानमा चेलीबेटीलाई जड्याहरुले जिस्काउने, अभद्र व्यवहार गर्ने गुनासो आएपछि आफूहरु मदिराजन्य पदार्थ नष्टको अभियानमा उत्रेको मञ्चकी सदस्य गीता कुश्वाहाले बताइन्।

समाजमा विभिन्न खाले विकृतिलाई अन्त्य गर्न सम्बन्धित निकायबाट आवश्यक पहल नहुँदा बाध्य भएर गौरका महिलाहरु कठोर कदम उठाउनु परेको उनको भनाई छ। 

गौर नाकाको भन्सार एरियामा प्रायः भारतीय नागरिकहरुद्धारा नेपाली नागरिकको नाममा इजाजत पत्र लिएर संचालन गरिएको मदिरा पसलहरुले तथा मदिरा पिउन जानेहरुले उक्त बाटो भएर हिड्ने महिलालाई लज्जित एवं अपमानित गर्ने तथा दोहोरो अर्थ लाग्ने अश्लील शब्दहरु प्रयोग गरिरहन्छन्। महिलालाई सार्वजनिक बाटो हिँड्न अप्ठ्यारो हुँदा पनि नेपाल प्रहरी एवं सशस्त्र प्रहरी कुनै ठोस कदम नउठाउँदा बाध्य भएर आफूहरु कठोर हुनुपरेको महिलाहरु बताउँछन्। 

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मदिराकै कारण समाजमा अपराधिक गतिविधि तथा शान्ति सुरक्षामा खलल पुर्याउने कार्यलाई नियन्त्रण गर्ने अभियान सकारात्मक भएको तर कुनै पनि बहानामा व्यवसायीलाई निशाना बनाउन नहुने बताए।

प्रकाशित: १८ श्रावण २०७५ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App