११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

मजदुरी गर्न कालापहाड जानेको लर्को

कामको खोजीमा बैतडी सदरमुकाम हुँदै मजदुरीका लागि भारत जादै गरेका मजदुर। तस्बिरः बिरा गडाल/नागरिक

बैतडी – बाजुरा बुढीनन्दा नगरपालिका–९ का ४७ वर्षीय परजीते रोकाया दुई दशकदेखि मजदुरी गर्न भारत जाने गरेका छन्। खेतको उब्जनी तीन महिना नपुग्ने, परिवार पाल्न समस्या र गाउँमा रोजगारी नपाउँदा मजदुरीको लागि कालापहाड जान बाध्य भएका हुन्। उनी मात्र होइन गाँउका अधिकांशको यही बाध्यता छ।

वर्षोदेखि कालापहाड गएर ज्याला मजदुरीले परिवार पाल्दै आएका उनीहरु खेतीपातीको काम सकेर ६ महिना ज्यालामजदुरी गनरत जाने गरेका हुन्। रोकायासँगै गाँउका आठ जनाको समूह बैतडीको झुलाघाट नाका भएर भारत जादै थिए। सदरमुकाममा भेटिएका उनीहरु दुई दिनको बसको यात्रापछि यहाँ पुगेका हुन्।

गाँउमा काम पाइदैन बाजुराकै करन रोकायाले भने, ‘विकास निर्माणका काम मेसिनले गर्न थालेपछि भारत नगएरै परिवार पाल्नै समस्या छ।’ गाउँघरमा रोजगारीको कुनै अवसर नपाएपछि सीमानाका झुलाघाट हुँदै भारत जान थालेको १२ वर्ष भइसकेको उनले बताए। ‘पाँच जनाको परिवार पाल्न केही न केही गर्नै प-यो, पिथौरागढ, डिडीहाट जहाँ काम पाइन्छ त्यही काम गर्ने  गर्छु,’ उनले भने ‘दैनिक पाँच सय भारु दिन्छ, त्यसैले खाना बस्नदेखि बचेको थोरै रकमले परिवारको खर्च जुटाउनुपर्छ।’

चाडबाड र खेतीपातीको समयमा मात्रै घर फर्केका उनीहरु हिउँदे खेती सकेर काम खोज्न भारत पसेका हुन्। खेतबारीको अन्नले तीन महिना पनि पु-याउन गाह्राे हुने गरेको उनीहरुको दुखेसो छ। ‘घरमा बसेर परिवार पाल्न समस्या छ,’ बझाङ वित्थडचिर गाउँपालिकाका नन्ते बोहराले भने। बालबालिकाको लेखाइ, खानपिन, लत्ताकपडा, नुनतेललगायत घरपरिवारको अन्य खर्च जुटाउन भारत जानुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन्।

बैतडी, बझाङ, बाजुरालगायत ७ नम्बर प्रदेशका पहाडी जिल्लाका अधिकांशको जदुरी गर्न भारत जानुपर्ने बाध्यता छ। मौसमी मजदुरका रुपमा रहेका उनीहरु हिउँदे बाली लगाएर भारतीय सहरमा मजदुरी गर्न जाने गरेका छन्। उत्तराखण्डका विभिन्न जिल्लामा सीमा नाका झुलाघाट भएर सयौंको संख्यामा जाने गरेका छन्।

बाजुराकै २१ वर्षीय टीका रोकाया भारत जान सदरमुकाममा जीप खोज्दै थिए। १३ वर्षकै उमेरदेखि मजदुरी गर्ने गरेका उनी पढ्ने इच्छा भएर पनि आर्थिक अवस्था कमजोर हुँदा सानैमा मजदुरी गर्न बाध्य भएका हुन्। ‘मेरो उमेरका सबै विद्यालय जान्छन्, अब त घरमा बस्दा लाज लाग्छ, त्यसैले जतिसक्दो चाँडो इण्डिया जान पाए हुन्थ्यो,’ उनले भने। १५ जनाको परिवार  पाल्न बुवा र दाईको कमाइले नपुगेपछि कालापहाड जान बाध्य भएको उनले बताए।

कालापहाड जानेमा न्यून आय भएका र वर्षभरी खेती गरेर खान नपुग्ने परिवारका धेरै छन्। गरिव परिवारका घरमुलीदेखि छोरा र विद्यार्थी पढाइ छोडेर कामको खोजीमा भारत जाने गर्दछन्। सीमा बजार झुलाघाटदेखि सीमावर्ती बजार र भारतीय गाँउहरुमा काम खोज्दै हिड्छन्। त्यस्तै ती परिवारका युवा, विद्यार्थी र बालबालिका समेत विद्यालय विदा भएका समयमा परिवारको खर्चसँगै पढाइ खर्च जुटाउन कामको खोजीमा भारतीय सहर  जाने गरेका छन्। स्वदेशमै रोजगारीका अवसर नभएपछि भारतमा सस्तो श्रम बेचेर उनीहरूले घरपरिवार पाल्ने गरेका हुन्।

सरकारले आर्थिक अवस्था कमजोर भएका न्युन आयस्तर भएका जनताको लागि विभिन्न आयमुलक क्रियाकलाप सञ्चालन गरेको बताए पनि पहुँच नभएका सर्वसाधारणसम्म पुग्न सकेको छैन। संघीयता कार्यान्वयनपछि गाउँमै अवसर पाउने आसमा रहेका स्थानीय पनि खिन्न भएका छन्। संघीयतासँगै जनप्रतिनिधि आएपछि विपन्न नागरिकको हित हुने खालका कार्यक्रम नल्याउँदा मारमा परेको स्थानीयको गुनासो छ। जान्ने सुन्नेकै राज छ, विपन्न वर्गको लागि जस्तो शासन आए पनि कुनै सुविधा पाउन नसकेको पुर्चौडी नगरपालिका–२, महादेवस्थानका अम्मर भण्डारीले गुनासो गरे।

गाउँमा अवसर नपाएपछि परिवार पाल्नका लागि खेतीपातीको काम सकेर रै कालापहाड पस्ने धेरै छन्। गाउँमै काम गर्ने इच्छा भए पनि अवसर नपाउँदा मजदुरी गर्न जानुपरेका् उनीहरुको दुखेसो छ। गाउँमा सडक काट्ने लहड नै चलेको छ तर स्थानीयतहले सबै सडक मेसिनले काटन थालेपछि मजदुरी खोसिएको अनुभव स्थानीयले गरेका छन्। ‘सडक खनेर डाँडाकाँडा चिराचिरा पारेको छ,’ पुर्चौडी नगरपालिका–५ का रामसिंह बोहराले भने, ‘डोजरले सडक काट्न थालेपछि हाम्रो त रोजीरोटी नै खोसियो।’

कामको खोजीमा गाँउका युवा पलायन भएपछि गाउँघरमा महिला र वृद्ध बाहेक मलामी जाने मान्छे पाउन समस्या हुने गरेको स्थानिय बताउँछन्। देशमै रोजगारीको अवसर नपाउँदा दिनप्रतिदिन मजदुरीको लागि विदेशिने क्रम बढेको छ। ग्रामीण क्षेत्रका युवाका लागि ठोस कार्यक्रम सञ्चालन गर्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन भइरहेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । न्यून आयस्तर भएका लक्षित वर्गसम्म आयस्तर वृद्धि गर्ने कार्यक्रम पुग्न नसक्दा यस्तो अवस्था सिर्जना भएको उनको तर्क छ।

आर्थिक अवस्था दयनीय भएकै कारण घर खर्चदेखि छोराछोरीको पढाइ खर्च जुटाउनु र कामको खोजी गर्नु यहाँका सर्वसाधारणको बाध्यता बनेको छ। विदाका दिन र विद्यालय समय बाहिर मजदुरी नगरे पढनै नपाइने यस क्षेत्रका बालबालिकाले व्यहोर्नु परेको पीडा हो। विदाका समयमा यहा“का बालबालिका मजदुरीका साथै सडकपेटी छेउमा गिट्टी कुटने फलफूल समेत बेच्ने गरेका छन्।

प्रकाशित: १० श्रावण २०७५ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App