दाङ - २१ असारमा नागरिक दैनिकको केन्द्रीय कार्यालय काठमाडौंबाट फोन आयो । जिल्ला ब्युरो प्रमुख छत्र कार्की सरबाट प्रस्ताव आयो । प्रस्ताव थियो ‘मिसन जुम्ला’।
जहाँ डा. गोविन्द केसी ६ दिनदेखि अनशनरत थिए । म जुम्ला यात्राका लागि तयार भएको खबर छत्र सरलाई दिएँ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटकपटक अनशन बसेका डा. केसीको समाचार कभर गर्न मिसनकै रूपमा जुम्ला पुग्नु मेरा लागि ठूलो अवसर थियो । सँगसँगै उत्तिकै चुनौती पनि । जुम्लाको बारेमा म अनभिज्ञ थिएँ । जुम्ला सुनेको मात्रै थिएँ, देखेको वा भोगेको थिइनँ । त्यहाँको वातावरणका बारेमा शून्य जानकार म त्यहाँ कसरी घुलमिल हुने र समाचार स्रोतलाई कसरी पहिल्याउने भन्ने चिन्ता थियो । तर, दिइएको जिम्मेवारी पूरा गर्न उत्साहित थिएँ । त्यसैले हरेक चुनौतीको सामना गर्न सक्छु भन्ने आत्मविश्वास थियो । अर्को दिन असार २२ गते जिल्ला ब्युरो प्रमुख छत्र सरले नेपालगन्ज यात्रा थाल्न भन्नुभयो । २३ गते दिउँसो १ बजेतिर नेपालगन्ज राँझा विमानस्थलबाट म जुम्लाका लागि उडेँ ।
३५ मिनटको हवाई उडानपछि म जुम्ला विमानस्थलमा पुगेँ । मेरो कल्पनाको जुम्ला धेरै विकट थियो । कठिन जनजीवन भएको ठाउँ । तर, मैले सोचेभन्दा फरक थियो जुम्ला । मेरो मस्तिष्कमा जुम्लाको नयाँ तथा सुन्दर तस्बिरहरू कैद हुँदै गयो । वरपरका पहाडले घेरिएको सानो फाँटमा मुस्कुराइरहेको जुम्ला साँच्चिकै मेरो कल्पनाभन्दा फरक र बढी आकर्षक थियो ।
विमानस्थलबाट बाहिरिँदै गर्दा मैले मिसनलाई सम्झँदै एक युवकलाई सोधेँ, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कता पर्छ ?’ कस्तो संयोग उनी त्यसै प्रतिष्ठानको मेडिकल कलेज फार्मेसीमा जागिरे रहेछन् । उनले आफै प्रतिष्ठानमा पु¥याइदिए । झन्डै बीस मिनटको पैदलयात्रापछि हामी प्रतिष्ठानमा पुग्यौँ, जहाँ केसी अनशनमा थिए ।
डा. केसी मेडिकल कलेजको तेस्रो तलामा रहेको सघन उपचार कक्षमा अनशनरत रहेछन् । उनका भतिजा किशोर केसीसँग मेरो परिचय भयो । डा. केसीसँगको संक्षिप्त संवाद मेरो मिसनको पहिलो खुड्किलो बन्यो । यसो गर्ने योजना मैले हवाई उडानको ३५ मिनटमा तयार पारिसकेको थिएँ । यसर्थ मैले प्रस्ताव गरेँ, ‘डा.सापसँग थोरै कुरा गर्न मिल्छ ?’ ७ दिनसम्मको अनशनले थलिइसकेका डा. केसी बोल्न नसक्ने किशोरले बताए । भेट्न जाने कसैसँग पनि केसीले बोलेका थिएनन् । तर, संक्षिप्त भए पनि कुराकानी गर्नैपर्छ भन्ने योजनामा थिएँ ।
मेरो परिचय र किशोरसँगको संवाद डा. केसीले सुनिरहेका थिए । उनले हातको इशारा गर्दै भतिजा किशोरलाई बोलाए । उनले भने, ‘नागरिकका पत्रकारलाई कुराकानीका लागि पठाइदिनू ।’ म डा. केसीको नजिक पुगेँ । उनले भने, ‘दुई मिनटमात्रै कुरा गरौं, त्योभन्दा बढी म बोल्न सक्दिनँ ।’ डा. केसीले दिएको दुई मिनट मेरा लागि धेरै थियो । यो दुई मिनटमा मैले उनीसँग सकेजति कुरा गर्नुथियो । कर्णालीको जुम्ला पुगेर अनशन बस्नुको नयाँ कारण उनले बताइदिए । उनले भने, ‘कर्णालीलाई राज्यले जहिल्यै पनि निकै पछाडि पार्यो, कहिल्यै चिन्ने कोसिस गरेन, म यहाँ अनशन बसेँ भने राज्यको ध्यान यता खिचिन्छ र राज्यले कर्णालीका वास्तविकता चिन्ने अवसर पाउँछ।’
दुई मिनटको समय घर्किइसकेको थियो । प्रश्न टुंग्याएर निस्कन खोज्दै थिएँ , डा. केसीले मेरो बसाइका बारेमा प्रश्न गरे । भर्खरै जुम्ला पुगेको जनाउ दिएपछि उनले भने ‘स्नो ल्यान्ड भन्ने होटेलमा बस्नुहोला, त्यहाँ राम्रो सुविधा छ ।’ उनी अनशनका लागि जुम्ला पुगेको दिन यही होटलमा बसेका रहेछन् ।
डा. केसीसँग बिदा भएँ र उनले भनेकै होटेल पुगेँ । जुम्ला बसाइ डा. केसीले रुचाएको होटेलबाटै सुरु भयो । नागरिकका जुम्ला सहकर्मी डिबी बुढासँग त्यही होटलमै भेट भयो । जुम्लामा केके गर्न सकिन्छ ? डिबी र मैले योजनाका तानाबुना बुन्न सुरु गर्यौं । जुम्ला मिसनको दोस्रो दिन हामी जिल्ला प्रशासन कार्यालय जाने निधो गर्यौं । अनशन सुरु गर्नुपूर्व डा. गोविन्द केसीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिने त्यहाँका प्रमुख जिल्ला अधिकारीसँगको भेट निकै महत्वपूर्ण लाग्यो । त्यहाँका सिडिओ दाङ देउखुरी लालमटियाकै विष्णु पौडेल रहेछन् ।
उनीसँगको झन्डै बीस मिनटसम्मको भलाकुसारीक्रममा एउटा प्रश्न उब्जियो, ‘के सिडिओको जिम्मेवारी वहन गरेकाहरूमा मानवता हुँदैन ?’ सिडिओले डा. केसीलाई ‘तँ’ शैलीमा सम्बोधन गर्दै उनको जीवनमरणबारे निकै हल्का टिप्पणी गरिदिए । उनले भनेको एक वाक्य थियो, ‘बुढो मर्दैन, बाठो छ ।’ डा. केसीलाई पेलेरै भए पनि जुम्ला अनशन तोडाउने सरकारको कठोर प्रयासबारे जानकारी बढुल्ने कामलाई थाती राखेर हामी डा. केसीलाई सर्वसाधारणले हेर्ने दृष्टिकोणका बारेमा बुझ्ने यत्न ग¥यौं । ग्रामीण भेगमा भरपर्दो स्वास्थ्य उपचार सेवा पाउनबाट वञ्चित सामान्य नागरिक डा. केसी अनशनको साथमा थिए । हामी केसीलाई लिएर निक्र्योलमा पुग्यौं, ‘राज्यका प्रतिपक्ष, जनताका नायक ।’
एक साताका लागि तय भएको मेरो जुम्ला बसाइ थपिँदै गयो । कारण डा. केसीको अनशन लम्बिइरहेको थियो । सरकारले डा. केसीका माग सम्बोधनका लागि यो हप्ता दिनको अवधिमा कुनै तत्परता देखाएन । डा. केसी पनि बीचमै अनशन तोडेर जुम्ला छाड्न तयार थिएनन् । सरकारले वार्ताका लागि कुनै सक्रियता नदेखाएको भन्दै डा. केसी झनै रुष्ट बन्न थाले । उनले रक्त परीक्षण गर्न समेत अस्वीकार गरिदिए । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको थियो ।
म हरेक दिन डा. केसीको अनशनसँग सम्बन्धित समाचार लेखनमा केन्द्रित थिएँ ।अनशनको १७ औँ दिनदेखि जुम्लामा चर्चा बाक्लियो कि अब सरकारले डा. केसीलाई जबर्जस्ती भए पनि काठमाडौं लैजाँदैछ रे । डा. केसीका कानमा पनि यो चर्चा पुगिरहेकै थियो । उनले पटकपटक पत्रकारहरूलाई बोलाएर वा अडियो रेकर्ड गरेर भन्दै आएका थिए, ‘मेरो मानवअधिकारमाथि राज्यले हस्तक्षेप नगरिदेओस्, मैले काठमाडौंमा पाउनुपर्ने हेरचाह जुम्लामै पाइरहेको छु ।’ तर, डा. केसीलाई जसरी पनि उठाएरै लैजाने नियतमा रहेको सरकार डा. केसीको बीसौं दिन एक्सनमै उत्रियो । त्यो पनि निकै भयानक र डरलाग्दो ढंगले ।
बीसौं दिनको बिहान म ८ बजे नै डा. केसीको अनशनस्थल पुगिसकेको थिएँ । डा. केसी निकै चिन्तित र भावुकझैं देखिन्थे । उनका सहयोगीले बजारबाहिर चलेको चर्चा र सरकारको योजनाबारेका एकएक खबर उनलाई सुनाइरहेका थिए ।
त्यति नै बेला डा. केसीले अडियोमार्फत पत्रकारहरूलाई सम्बोधन गर्न थाले । उनले भने, ‘तपाईंहरू बाहिर गइदिनुस् । म अडियो रेकर्ड गर्छु र तपाईहरूलाई सुनाउँछु, मान्छे धेरै भए भने म बढी आक्रोशमा आउँछु ।’ डा. केसीले गरेको छोटो अडियो सम्बोधनमा पनि उनले आफ्नो मानवअधिकारमाथि हस्तक्षेप नगरिदिन राज्यलाई आग्रह गरेका थिए।
उनको यो सम्बोधनको केही समयमै नेपाली सेनाको हेलिकोप्टर आइपुग्यो । डा. केसी अनशन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्दीधारी र सादा पोसाकका प्रहरी भरिए । प्रतिष्ठानका चिकित्सक र अध्ययनरत विद्यार्थीले डा. केसीको बचाउ गर्दै प्रतिष्ठानको गेट र सिँढी कब्जा गरिसकेका थिए ।
राज्य वा प्रहरीको क्रुर रूप यसरी प्रस्तुत होला भन्ने मलाई लागेन । सरकारको यस्तो क्रुरता मैले जुुम्लामै पहिलोपटक देखेँ । लाठीसहित प्रहरी टोली अस्पतालको मूल गेटतिर दौडियो । भीड पन्छाउनका लागि प्रहरीले कसैलाई तानेन वा धकेलेन, सस्धै टाउको ताकेर लाठी बजा¥यो । रक्ताम्य चिकित्सकहरूको रुवाबासीलाई भिडियोमा कैद गर्ने साहस कसरी जुट्यो, म आफैं अहिले अचम्म पर्छु । जुन भिडियो सामाजिक सञ्जालमा मैले बेलुका पोस्ट गरेँ । सामाजिक सञ्जालमा त्यो भिडियो निकै लोकप्रिय बन्यो । अहिलेसम्म पौने ११ लाख जनाले भिडियो हेरेका छन् भने १२ हजारभन्दा बढी सेयर भएको छ ।
सरकारको त्यो निर्मम कारबाहीका बीचमा म आफैंलाई पनि निकै असुरक्षित महसुस गरिरहेको थिएँ । कताबाट लाठी वा ढुंगा बर्षन्छन् भन्ने त्रासका बीच म जुम्ला मिसनका लागि रणभूमिको बीचमा थिएँ । अहिले पनि म आफैंलाई प्रश्न गर्छु कि यदि मतिर ताकिएर पेस्तोल पड्किएको भए या त्यो लाठी मेरो टाउकोमा बजारिएको भए ? एकातिर विद्यार्थी र चिकित्सकलाई प्रहरीले कुटिरहेको थियो । प्रतिष्ठानको गेटबाहिर स्थानीयको आन्दोलन उत्तिकै आक्रामक बनिरहेको थियो । प्रतिष्ठान परिसरमा अग्लो माटोको थुप्रोमा चढेर स्थानीयको आन्दोलनको तस्बिर लिइरहेको थिएँ म । मेरो खुट्टाको पाइतालामा थोरै छोएर सशस्त्र प्रहरीले प्रहार गरेको लाठी भुइँमा बजारियो।
पछिल्तिर हेरेँ, सशस्त्र प्रहरी भुइँमा लडेका थिए । लाठी प्रहार गर्दा माटोको ढिस्कोमा उनी चिप्लिएर लडेका रहेछन् । ममाथिको यो प्रहारपछि पछाडि रहेका सहकर्मी डिबीजी भन्दै थिए, ‘सर, प्रहरी नलडेको भए लाठीले तपाईंलाई ताकिहाल्थ्यो ।’ प्रहरीको यो प्रहारपछि म केही सजग बने । आफूलाई सुरक्षित स्थानतिर पु¥याएँ । प्रहरीको आक्रोश रत्तिभर थामिएको थिएन, झन्झन् आक्रोश पोखिँदै थियो । डा. केसीलाई अनशनस्थलबाट प्रतिष्ठानभित्र पसेका प्रमुख जिल्ला अधिकारी विद्यार्थीको अवरोधले माथि उक्लन पाएनन् । उनी फर्किन खोज्दै थिए । प्रतिष्ठानको गेटमा घाइते अवस्थामा रहेका प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मी उनीमाथि खनिए ।
म गेटनजिकै थिएँ । प्रजिअमाथि गेटमा प्रहार भयो । उनी कुदेर नजिकको अर्को भवनमा लुके । अब उनको सुरक्षार्थ खटिएका प्रहरी र घाइते स्वास्थ्यकर्मी तथा कर्मचारी आमनेसामने भैसकेका थिए । बीचमा म थिएँ । सिडिओका बडीगार्डले पल्लो भवनको पेटीबाट पेस्तोल निकालेर ताके । बीचभागमा रहेको म सायद त्यो पेस्तोलको पहिलो निशाना बन्थेँ । मुटुले ठाउँ छोड्यो । म आँखा चिम्म गरेर घोप्टो पर्दै छेउतिर कुदेँ । धन्न प्रहरीले पेस्तोल चलाएनन् । अहिले पनि लाग्छ कि पेस्तोल चलेको भए के हुन्थ्यो होला ?
झन्डै ७ घण्टासम्म रणभूमि बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मैले सुरक्षित महसुस गर्ने कुनै क्षण थिएन । प्रहरीले माइकिङ गरेर गोली हान्ने चेतावनी दिएपछि भीड तितरबितर भयो । प्रहरी डा. केसीलाई अब सहजै उठाउन सफल भयो । डा. केसीलाई एम्बुलेन्समा राखेर हेलिकोप्टरतर्फ लैजाँदै गर्दा बनेको त्यहाँको शान्त वातावरणले आफ्नो आत्मरक्षाको बलियो ढाडस मिल्यो । तथापि मन दुखिरहेको थियो । स्वास्थ्य क्षेत्रको सुधार हुनुपर्छ भनेर अनशन बसेका डा. केसीलाई अपहरणकै शैलीमा उठाउनका लागि अस्पतालमा रक्तपात मच्चाएको प्रहरी र सरकार कत्ति जनवादी ? प्रतिष्ठानबाट बाहिरिँदा राज्यदमनको उत्कर्षलाई सम्झिएँ ।
निरंकुश राज्य र तानाशाहीको यस्तो भयावह रूपको साक्षी बन्नुपर्दा मन फाटेको थियो । डा. केसीलाई राज्यले गरेको बलजफ्तीसँगै मेरो मिसन जुम्ला दुई सातमै टुंगियो । जुम्लालाई १७ दिनसम्म चिनेर कर्मथलो दाङ फर्कने अवसर मिल्यो । १७ दिने बसाइमा केही सुखद अनुभूति गरेँ, केही अप्ठ्यारो परिस्थितिको सामना पनि गर्नुपर्यो । जुम्ला बसाइका अप्ठ्यारा सामान्य थिए तर कर्णालीको एकमात्र ठूलो स्वास्थ्य उपचार केन्द्रका रूपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राज्यले मच्चाएको त्यो रक्तपातको साक्षी अब कहिल्यै बन्नु नपरोस् । (जुम्लाबाट फर्केर)
प्रकाशित: ९ श्रावण २०७५ ०१:३८ बुधबार