१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागमतीको कटानले हजरियाबासी चिन्तित

सर्लाही हजरिया खरसाल घाट नजिक बागमती नदीले सूरु गरेको कटान। तस्बिर : टंक क्षेत्री

सर्लाही- जिल्ला स्थित बरहथबा नगरपालिका–१ अन्तर्गत हजरियाबासी बागमती नदीको कटानले चिन्तित भएका छन्।

खरसाल घाटबाट बागमती नदी खेतियोग्य जमिन कटान गर्दै गाउँतर्फ सोझिन थालेपछि हजरिया मलाहा टोल र एकादशी टोलबासी विस्थापित नै हुनुपर्ने हो कि भन्ने त्रासले भयभित भएका हुन्। यसै वर्ष आएको बाढीले झण्डै सय विगाह खेतीयोग्य जमिन कटान गरिसकेको बरहथवा–१ का वडा अध्यक्ष समेत रहेका स्थानीय रत्नबहादुर गिरीले जानकारी दिए।

 ‘बागमतीले निरन्तर कटान गरेर झण्डै सयविगाह खेतीयोग्य जमिन खाईसक्यो’, गिरीले भने, ‘यसैगरी कटान हुँदै जाने र भरपर्दो रोकथाम नहुने हो भने मलाहा एवं एकादशी टोल विस्थापित हुन्छ।’ बागमतीको कटानका कारण स्थानीयले बारीमा लगाएको उखु, ममफली बदाम, बेसार, केरा जस्ता लाखौंको बालीनाली समेत नष्ट भएको गिरीले बताए। ।

नदी नियन्त्रण, जनताको तटबन्ध लगायत विभिन्न कार्यालयमा पटक–पटक धाउँदा पनि कटान रोकथामका लागि सुनुवाई नभएको उनले बताए। ‘नदी नियन्त्रणका लागि पटक–पटक सरोकारवाला निकायमा धायौं’, गिरीले भने, ‘तर कुनै योजना आएन।’

कतैबाट योजना नपरेपछि बरहथवा नगरपालिकाबाट ३० लाख रुपैंयाको लागतमा एउटा ‘ब्रेकर’ सम्म हालिएको र उक्त ब्रेकरले मात्रै धान्नै नसकेको गिरीले जानकारी दिए। महिना दिनयता वागमतीले दिन दुगुना रात चौगुनाको दरले कटान गर्न थालेपछि स्थानीय निकै भयभित भएका छन्।

झण्डै दुई किलोमिटर लामो भूभागमा निरन्तर कटान गर्दै बागमती पूर्व गाउँतर्फ सोझिएको छ। जसले गर्दा मलाहा एवं एकादशी टोलबासी चिन्तित भएका छन्।

प्रमुख जिल्ला अधिकारी दोर्ण प्रसाद पोखरेलले कटान नियन्त्रणका लागि प्रभावकारी काम गर्न जनताको तटबन्ध लगायत सरोकारबाला निकायमा पटक–पटक आग्रह गरिएपनि बजेट अभाव रहेको जानकारी आएको बताए। ‘नदी नियन्त्रणका लागि प्रभावकारी काम गर्न पटक–पटक भनिएको छ’, उनले भने, ‘स्थानीय नगरपालिकाबाट केही तथा अन्य सरोकारवाला निकायबाट बोरा हालेर भएपनि तत्कालिन रोकथामका लागि काम अगाडि बढाउन भनेको छु।’

 

प्रकाशित: ३२ असार २०७५ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App