१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बाढीबाट जोगिन पूर्वतयारी

विपद् व्यवस्थापन तथा खोज उद्धार तालिममा युवा । तस्बिरः नागरिक

टीकापुर- स्थानीय तहले वर्षायाम सुरु भएसँगै बाढीबाट जोगिन प्रभावित क्षेत्रमा पूर्व तयारीका कार्यक्रम थालेका छन्। यसै क्रममा भजनी नगरपालिकाले ५५ जना युवालाई दुईदिने विपद् व्यवस्थापन तथा खोज उद्धार तालिम प्रदान गरेको छ । तालिममा ६ जना महिलासमेत  छन्।

तालिममा उनीहरूलाई स्वयम् बाढीबाट जोगिने, बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने, डुंगा खियाउने, पौडिनेजस्ता कुरा सिकाइएको छ । कर्णाली नदीमा सञ्चालित तालिममा सहभागीलाई टीकापुरस्थित सशस्त्र प्रहरी बल उग्रतारा गणका प्रशिक्षक सुरक्षाकर्मीहरुले प्रशिक्षण दिएका थिए ।

बाढी प्रभावित क्षेत्रका युवाहरूले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्दा क्षति कम हुने भजनी नगरपालिकाले विश्वास गरेको छ । उसले बाढी प्रभावित क्षेत्रका प्रायः सबैजसो युवालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जनाएको छ ।

बाढीको समयमा व्यापक मात्रामा धनजनको क्षति हुने गरेको छ । कयौँ व्यक्ति लामो समय बाढीको चपेटामा परेर दुःख पाउँछन् । अझै केही व्यक्तिले त बाढीका कारण ज्यानसमेत गुमाउने गरेका छन् । यिनै कुरालाई ध्यानमा राखेर स्थानीय तहले गाउँमा उपलब्ध युवाहरुलाई दक्ष बनाउन तालिम दिएको हो ।

तालिममा सिकेको कुरालाई युवाहरुले बाढीको समयमा व्यवहारिकरुपमा प्रयोग गर्नुपर्ने सहभागी निरा चौधरीले बताइन् । उनले योभन्दा अघि पनि यस्तै काम गर्दै आएको भए पनि तालिममा सिकेको कुराले सहज हुने विश्वास गरिन् । ‘हुन त हामीले पहिले पनि बाढीको समयमा यस्तो काम गर्दै आएका थियौं,’ उनले भनिन्, ‘तालिममा केही थप कुरा सिक्न पाइयो ।’

तालिममा सिकेको कुराले युवा उत्साहित भएका छन् । उनीहरु बाढीको समयमा कम्तीमा ज्यान जोगाउन सकिनेमा आशावादी छन् । भजनी नगरपालिका–३, ठेकीपुरका बरातीलाल चौधरीले तालिमले आत्मविश्वास बढाएको बताए।

कैलालीको दक्षिणपूर्वी क्षेत्र हरेक वर्ष बाढीको चपेटामा पर्ने गर्छ। यहाँका वासिन्दा बाढीका कारण निकै आक्रान्त छन्। कर्णाली, मोहना, कान्द्रा, पथरैयालगायतका नदीमा आउने बाढीले यस क्षेत्रको अधिकांश भूभाग डुबानमा पर्छ। डुबानका कारण कयौँ घरवारविहीन हुने गरेका छन्।

 

 

प्रकाशित: १० असार २०७५ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App