म्याग्दी – एकदशक आसपासमा तीन छोरालाई रातो बाकसमा अन्तिम अनुहार हेरेकी मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमती रोकाले साहिला छोरा थम बहादुरलाई विदेश जान रोकिन्।
रोजगारको सिलसिलामा खाडी मुलुकमा धनसम्पत्ती कमाउन पुगेका तीन छोरा बाकसमा घरको आगनमा आएपछि लीलमती र धन बहादुरका आँखा दिनरात रसाइरहेका छन्। वैदेशिक रोजगारको सिलसिलामा धनबहादुर र लीलमतीका ४ भाइ छोरामध्ये १२ वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, जेठा छोरा भक्त बहादुर मलेसिया र कान्छा छोरा धर्मको गतवर्षको चैत्र महिनाको ११ गते मलेसियामै ड्युटीमा मृत्यु भएको थियो। दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डिट्युटीमै मृत्यु भएपछि रोका दम्पत्तीले थम बहादुरलाई काखीमै राखेर मृत्युवरण गर्ने बताउँछन्।
रोका दम्पत्तिमा एउटा जीवित छोरा विदेश गएमा पुरानै घटना दोहोरिने चिन्ताले सताउने गरेको छ। ‘बुढेशकालका साहारा एउटा छोरा मात्रै छ,‘तीनवटा छोरालाई दैवले लगे’ लीलमतीले भनिन्। आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदाको पीडा सुनाउँदै उनले तीनवटा छोरालाई विदेशमा गुमाएको बताउँदै आफ्ना सन्तानलाई विदेशमा जाने अवस्था नआउने गरी गाउँमै कृषि, पशुपालान सुरु गदैं पासर्पोट रद्ध गर्न अनुरोध गरेको बताइन्।
‘गाउँकै भीरपाखामा खेलेको देख्न चाहन्छु, ‘हामी दुवै अब धेरै बाँच्दैनौ’ उनले भनिन्। लीलमतिका दम्पत्तिले छोराले समेत अनुरोध स्वीकार गरेको बताए। छोराले स्याहार गरेमा केहि वर्ष बाँच्नसक्ने भएकाले पनि अब छोरा विदेश गएमा थप पीडा हुने रोका दम्पत्तीको भनाई छ। औषधी उपचार, घरायसी कामको सिलसिलामा आमाबुबालाई बेनीमा लिएरआएका थम बहादुरले दैनिक आफ्नै अगाडी देख्न चाहेकाले पनि विदेशको यात्रा त्यागेको बताए। उनले मलेसियाबाट आएर पुनः अर्को देश जाने योजना बनाइरहेको अवस्थामा कान्छो भाईको मृत्यु भएको बताए।
‘मेरो पासर्पोटलाई पनि दाईभाईकैसंगै राखिदिएको छु, ‘छोराछोरीलाई पनि विदेश जान नपरोस् भन्ने चाहना छ’ थमबहादुरले भने। उनले आमाबाबालाई बुढेकालमा ठूलो पीडा परेको बताउँदै एक्लोपना हुन नदिने बताए। ‘गाउँमै बाख्रापालन गर्छु भनेपछि आमाको अनुहारमा खुसी देखेको छु, ‘सधै अनुहारमा चमक ल्याउन पनि मैले बाख्रापालन गर्ने प्रयास गरिरहेको छु’ उनले भने।
आफ्नो आम्दानी, ऋणधन गरेर बाख्रा र कुखुरापालन गर्ने योजना बनाएको बताउँदै कमाउन नसकेपनि आमाबुबाको सेवा सम्झिने रोकाले बताए। रोजगारीका लागि गाउँकी अगुवा एवं इजरायलमा रहेकी विष्णु पुनमगरले समेत सहयोग गरिरहेको बताइन्। उनले बाख्रापालनका लागि सीपमुलक तालिम तथा अनुदानको आवश्यकता रहेको बताए। प्यारालाइसिसबाट ग्रस्त ७२ वर्षीय बुबा धनबहादुर र पेट र मुटुकी रोगी ६८ वर्षीय आमाको नियमित उपचारमा समेत समय दिनुपर्ने उनको भनाई छ।
आर्थिक अवस्था कमजोर भएपनि रोजगारीका लागि गाउँ छोड्न नसक्ने उनको भनाई छ। स्वदेश तथा विदेशबाट प्राप्त आर्थिक सहयोगलाई आमाबुबाको उपचार तथा घरायसी खर्चमै प्रयोग गरिरहेको उनले बताए। उनले वैदेशिक रोजगारमा ज्यान गुमाएकाको परिवारलाई सरकारले अनुदान सहित स्वरोजगारमुलका कार्यमा प्रोत्साहन गर्ने वातावरण बनाउन समेत अनुरोध गरेका छन्।
यता मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँपालिकाले वैदेशिक रोजगारमा ज्यान गुमाएकालाई लक्षित गरी तालिम तथा अनुदानमा प्राथमिकता दिने बताए। ‘गाउँमै स्वरोजगारमुलक गतिविधिको पहिचान गरी आउन अनुरोध गरेको छु,‘आगामी कार्यक्रममा उहाँहरूलाई अनुदानमा प्राथमिकता हुनेछ’ रोकाले भने।
वैदेशिक रोजगारमा गाउँपालिकाबाट मृत्यु हुनेको संख्या वर्षेनी रहेको बताउँदै छुट्टै कार्यक्रमको आवश्यकता महसुस भएमा पनि छलफल गर्न सकिने बताए। जिल्लाबाट रोजगारीका लागि गएकाले वर्षेनी ज्यान गुमाउने गरेका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकालाई छोराछोरीको शिक्षादिक्षामा समेत खर्च जुटाउन मुस्किल हुने गरेको छ।
प्रकाशित: ४ असार २०७५ १०:४९ सोमबार