बैतडी – बैतडीको पुर्चौडी नगरपालिका – १, हाटका धनवीर धामीलाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ। तर आजभोली त्यो कुवा सुख्खा छ। घट्दैघट्दै एक अहिलेत एक थोपा पानी छैन।
जलवायु परिवर्तन, वनजंगल विनास र मानविय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ। कतिपय खोला त मुहान सुकेर सुख्खा बनेका छन्। पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ।
खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ। वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्ककै गएको हो।
पानीका मुहान सुक्न थालेपछि स्थानीयबासीहरू पानीका लागि घण्टौ टाढाका पुराना पानीका मुहान धाउन थालेका छन्। अधिकांश बस्तीमा कुवाँ र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन्।
विगतका वर्षहरुमा वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि अहिले भने खानेपानीले काकाकुल बन्नु पर्ने अवस्था आउन थालेको छ। डिलासैनी गाउँपालिका–३, का सोभान बोहराले भने ‘पानीघट्ट चल्ने खोलामा असारसाउनै पानी भेटिदैन,’ मुहान संरक्षण नहुँदा पानीका स्रोत हराँउदै गएका छन्।
मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन मानविय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ। वनजंगल विनास, विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक दीपक केसीले बताए। डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका छन्।
विकासको नाममा स्थानीयतहले डोजर आतंक मच्चाएका छन्। सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्। ‘मेसिनले धर्ति नै चिरेका छन्,’ उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले भने, जहाँ हेर पनि सडक मात्रै खनेको देखिएको छ।’
जिल्लाका अधिकांश स्थानीयतहले स्काभेटर, डोजर खरिद गरेका छन्। मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन । जहाँ पानीका मुल र वन क्षेत्र छ त्यही सडक लगेका छन्।
यही गतिले सडक सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल संभावना रहेको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए। गाउँमा राजनीतिक दलले आ–आफ्नै सडक काटेका छन्। एक पार्टीले सुरुवात गरेको सडक त्यो त फलानो पार्टीको हो, भन्दै अर्को ठाउँबाट सडक लैजाने गरेको इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले बताए।
जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन्। भएका योजना पनि मर्मत संभार र मुहान सुक्दा बन्द भएका छन्। पुराना जिर्ण आयोजना मर्मत संभार र संरक्षणको अभावमा पर्याप्त पानी नआउने गरेको मेलौली नगरपालिका–१ का सुरत पार्कीले बताए। अधिकांश विद्यालयमा समेत पानी छैन। डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानु पर्ने बाध्यता रहेको छ।
शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएका साविकका ३६ गाविसका आधरभूततह (कक्षा ५) सम्मका विद्यालयमा दालभात पकाउने गरिन्छ। पानी नभएका विद्यालयमा समस्या हुने गरेको भुवनेश्वर प्रावि, भवनेका प्रअ महेशदत्त जोशीले बताए। ससाना बालबालिका घरबाट आफै बोकेर पानी ल्याउँदा सास्ती हुने गरेको उनको भनाइ छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांक अनुसार जिल्लामा ६८ दशमलव २६ घरमा पानीको पहुँच पुगेको बताइए पनि अधिकांश घरमा प्रयाप्त खानेपानी छैन। खानेपानी योजना मर्मत, नयाँ योजना निर्माणको लागि वर्सेनि लाखौ रुपैयाँ खर्च गरे पनि त्यो अनुसार उपलब्धी नदेखिएको स्थानीय बताउँछन्।
खानेपानीको क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका छन्। उनीहरूले बनाएका योजना एकदुई वर्षमा बिग्रने गरेका छन्। स्थानीयतहले पनि खानेपानीमा प्रयाप्त बजेट खर्चेको बताए पनि लागत अनुसार काम देखिएको छैन।
प्रकाशित: २ असार २०७५ १८:३९ शनिबार