११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

बाँदर आतंकले बसाइँ चिन्ता

खोटाङ - उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि ‘बसाइँ’ (२०१४) उपन्यास लेखेका थिए। यति बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका किसान पनि बसाइँ सर्नुपर्ने बाध्यतामा छन्। तर कारणको रुप भने फरक छ। शोषक सामन्तका कारण होइन, दोर्पा चिउरीडाँडाका किसान बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था आइलागेको छ।

खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि दोर्पा चिउरीडाँडाका किसान हैरान भएका छन्। बाँदरले खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाइदिएको उनीहरुको गुनासो छ। हुलकाहुल आउने बाँदरले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बीउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने हुँदा हैरानी खेप्नुपरेको स्थानीय पद्म हिङमाङले बताए। बाँदरले खेतबारीको अन्नबाली सखाप बनाएपछि खाने कुराको अभावमा बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ। गाउँका केही घरपरिवार बसाइँ सर्ने तयारी गरेको स्थानीयले बताए।

गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न तथा थाँक्रोमा राखिएको मकैको झुत्तासमेत लैजाने गरेको छ। पहिलापहिला स्थानीयले बन्दुक पड्काएर बाँदर धपाउँथे। अहिले बन्दुक पड्काउन रोक लगाइएपछि बाँदर आतंक मच्चिएको किसानले बताएका छन्। बाँदरले मंगलबारमात्र दोर्पाचिउरीडाँडा खरबारी टोलका दुर्गा खनालको २ मुरी, दुम्लीका भीमबहादुर बुढाथोकीको ३० पाथी, डम्बरबहादुर बुढाथोकीको २ मुरी, उत्तर बढाथोकीको २ मुरी, बुबिरमान बुढाथोकीको २ मुरी, नन्दराम ढकालको एक मुरी, लेखनाथ ढकालको ३० पाथी, सहजित राईको करिब १५ पाथी र डम्बर राईको ५ मुरी फल्ने मकैको सुत्ला च्यातेर नष्ट पारेको छ। यस्तै बाँदरले सुमुरा टोलका किसान गुर्धुम राई, बुद्धिबहादुर राई, थामबहादुर राई, ढाकमान राई र जलकर्ण राईको सुत्ला मकै च्यातेर नष्ट पारेको हिङमाङले बताए। दोर्पा चिउरीडाँडाका माछाटोल, मार्से, दुम्लीको बुढाथोकी गाउँ, ढाडभारी, सिरानढुंगेलगायतका ठाउँमा बाँदर आतंक छ।

बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएका कारण किनेर ल्याएको अन्नमा निर्भर हुनुपर्ने बाध्यता भएको किसानको गुनासो छ। दिनभर बाँदर धपाउनुपर्ने बाध्यताका कारण बालबच्चाको पठनपाठनमा समेत नकारात्मक असर पुगेको छ। बाँदर नियन्त्रणको भरपर्दो व्यवस्था हुनुपर्ने, अन्नबालीको क्षतिपूर्ति पाउनुपर्ने, बन्दुक पड्काएर धपाउन पाउनुपर्ने पीडित किसानको माग छ।

बाँदर आतंक नियन्त्रणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका किसानले हरेक वर्ष प्रशासनलाई गुहार्दै आए पनि समस्या समाधानका विषयमा ठोस पहल भएको छैन। उनीहरूले बन्यजन्तु संरक्षण ऐनलाई ध्यानमा राख्दै बाँदर धपाउने, बाँदरले नष्ट नगर्ने प्रजातिका बालीनाली लगाउने, डढेलो नियन्त्रणलगायत मागमा प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्। बाँदर आतंकका विरुद्ध किसानले २०६६ सालमै अन्नबाली सुरक्षा समिति गठन गरेका थिए। किसानले २०७२ वैशाख ६ मा पनि बाँदर धपाउन प्रशासनसमक्ष निवेदन दिएका थिए। बाँदर आतंक नियन्त्रणका लागि वन विभागले प्रशासन, तत्कालीन जिविस, सामुदायिक वन उपभोक्ता महासंघ र सुरक्षा निकायसँग समन्वय गरी ‘एक्सन प्लान’ बनाउन भन्दै जिल्ला वन कार्यालयलाई २०७१ साल वैशाख ८ गते पठाएको पत्र कार्यान्वयन नहुँदा आफूहरुले दुःख पाइरहेको किसानको भनाइ छ। दिक्तेलवासीले दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले २०७० चैत २५ मा समस्याबारे मन्त्रालयमा पत्राचार गरेको थियो।

दिपु्रङ चुइचुम्मामा पनि बाँदर आतंक
यस्तै दिपु्रङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा बाँदर आतंकले किसानलाई सास्ती भएको छ। दिपु्रङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित बारलाङमा ३ सय रोपनी, याम्खाकै विभिन्न स्थानमा ८ सय रोपनीमा लगाइएको अलैंची बाँदरले नष्ट गरेको स्थानीय मेघकुमार खत्रीले बताए। गाउँपालिकाका टुकुरेखोला, साप्सुदोभान, छितापोखरी त्रिवेणीचोक, स्यालगौडे चोक, याम्खाको खमारे, टुवाखोला, दिप्लुङ तावाखोला, टेम्माको खाम्ला पुछारदेखि गाउँमा बाँदर आउने गरेको छ।

प्रकाशित: २ असार २०७५ ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App