बारा - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधी गतिविधिबाट समाजमा अशान्ति फैलाउने समूह वा व्यक्तिलाई ढाल्नुपर्ने बताएका छन्। कलैयामा जडान गरिएको सिसी क्यामेराको उद्घाटन कार्यक्रममा शुक्रबार महानिरीक्षक खनालले भने, ‘समाजमा आपराधिक गतिविधि गर्ने समूह वा व्यक्तिलाई सुरुमा सुध्रिन मौका दिनुपर्छ। दिएको मौकामा पनि आपराधिक गतिविधि नछोडेको अवस्थामा समाजमा शान्ति कायम गर्न उनीहरुलाई ढाल्नुपर्छ।’
२ नं. प्रदेशका ८ वटा जिल्लामध्ये बारा पनि अति संवेदनशिल जिल्ला भएको भन्दै उनले यहाँको चुनौती सामना गरेर जिल्लावासीलाई शान्तिसुरक्षा दिने खालका नेपाल प्रहरीका सुरक्षा अधिकारीलाई खटाइएको खनालले बताए। आपराधिक घटनामा संलग्न रहेकालाई पक्राउ गर्न सिसी क्यामेरा ठूलो सहयोगी बन्ने गरेकाले अब कलैयामा पनि आपराधिक गतिविधिमा कमी आउने विश्वास खनालले व्यक्त गरे।
कलैया उपमहानगरपालिकाको सहयोग र बारा उद्योग वाणिज्य संघको सहकार्यमा कलैयाका विभिन्न ३२ स्थानमा सिसी क्यामेरा जडान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले बताए। कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंह, उद्योगी अशोक वैद्यलगायतले सिसी टिभी क्यामेराले अपराधीको मनोबल घटाउने भएकाले सुरक्षामा सहयोगी बन्ने बताए।
प्रकाशित: २६ जेष्ठ २०७५ ०३:१३ शनिबार