५ वैशाख २०८१ बुधबार
समाज

रेडपाण्डा संरक्षणमा जुटे शिक्षक, विद्यार्थी

रेडपाण्डाको संरक्षण अभियानमा संगठित हुदै वालवालिका र शिक्षक। तस्बिर : नागरिक

जुम्ला – सिजा गाउँपालिका–२ आधारभुत विद्यालयका छात्र विनोद शर्मा पछिल्लो समयमा रेडपाण्डाको बढ्दो चोरी तस्करीले निकै चिन्तित छन्। गाउँ नजिकैको निगाली जंगलमा देखिदै आएको रेडपाण्डा देखिन छोडेपछि उनी रेडपाण्डाको संरक्षणमा जुटेका हुन्। उनले विद्यार्थी र शिक्षकहरुलाई विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुट्नको लागि आह्वान गरे। अहिले उनको विद्यालयले वालक्लव मार्फत रेडपाण्डाको चोरी सिकारी नगर्न र संरक्षणमा साथ दिन अभिभावकलाई जनचेतनाका कार्यक्रम गर्दै आएको छ।

पातारासी गाउँपालिकास्थित महारुद्र आधारभुत विद्यालय पट्मारामा पनि    वालवालिकाहरुले क्लवमा संगठित भएर रेडपाण्डाको संरक्षणमा जुटेको प्रधानाध्यापक चुडराज न्यौपानेले बताए। उनले भने, ‘यहाँको जंगलमा रेडपाण्डाको कुनै अवशेष नपाउन थालेपछि विद्यार्थी र शिक्षक रेडपाण्डाको बचावटका लागि जुटेका हुन्।’

गाउँको जंगलमा दुर्लभ जनावर रेडपाण्डा पाइन्थ्यो, तर अहिले रेडपाण्डा त के कुनै पनि जंगली जनावर भेट्न नसक्दा आफुहरुले अभियान थालेको विद्यालय बताउँछन् । सामुदायिक वन घोषणा हुँदा पनि दिनप्रतिदिन वन विनास तथा चोरी सिकारी बढ्दै गएपछि रेडपाण्डा पनि देखिन छोडेका उनीहरुले बताएका छन्।

रेडपाण्डा संरक्षण नेटवर्क काठमाडौं र कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सुरु गरेको रेडपाण्डा संरक्षण अभियानलाई जिल्लका स्थानिय तहका विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकले समर्थन गरिरहेका छन्। विद्यालयमा रेडपाण्डाको विषयमा नियमित भित्ते लेखन लेख्ने, सूचना प्रकाशन गर्ने तथा विद्यालयको अतिरिक्त क्रियाकलपमा रेडपाण्डाको महत्व झल्कने खालका क्रियाकलाप समावेश गरिन थालिएको छ। बालक्लव अध्यक्ष विनोद शर्माले विद्यालयले गर्दै आएको अतिरिक्त क्रियाकलाप अनुसार रेडपाण्डा संरक्षणका लागि वन बृक्षरोपणका कार्यक्रमलाई बढावा दिइने बताए।

‘विश्वको दुर्लभ जनावर रेडपाण्डा हाम्रो वनजंगलमा पहिले प्रशस्त पाइन्थ्यो, तर अहिले देखिन छाड्यो’, चुलेलगाउँ विद्यालयका प्रधानाध्यापक जयलाल खत्रिले भने, ‘यसको प्रमुख कारण वन विनाससँगै पानीको स्रोत घट्दै जानु हो।’

रेडपाण्डा संरक्षण परियोजना प्रमुख पुरुषोत्तम जैशीले चुलेल गाँउ नजिकैका सामुदायिक वनहरुमा पनि रेडपाण्डा हुन सक्ने भन्दै विद्यार्थी, शिक्षक, सामुदायिक वन उपभोक्ता समिति र अन्य समुदायलाई पनि त्यसको संरक्षणका लागि अभियानमा जुट्न आग्रह गरे। ‘रेडपाण्डाको संरक्षणको अभियानमा शिक्षक, विद्यार्थी मात्रै लागेर संभव छैन,’ उनले भने, ‘यसका लागि सवै सरोकारवालाको चासो हुनुपर्दछ। सबैको साथ चाहिन्छ।’

रेडपाण्डा संरक्षणका लागि वनजंगल फडानी तथा आगलागी र चोरी सिकारी कार्य रोकिनु पर्ने स्थानीय वताउँछन्। गाउँको वनमा रेडपाण्डाको अवस्थाका बिषयमा अध्ययन अनुसन्धान गरी प्रभावकारी कामको शुरुवात गरिने सरोकारवाला बताउँछन्।

पट्मारा विद्यालयकी बालक्लवकी अध्यक्ष नविना रावत गाउँको जंगलमा अध्ययन अनुसन्धान गर्दा रेडपाण्डा भेटिएको बताउँछिन्। उनले वालक्लव मार्फत संरक्षणको अभियानमा जुटेको बताइन्। यो अभियान जिल्लाका एक नगरपालिका सहित सात वटै गाउँपालिकामा चल्ने छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App