७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

रोल्पाको बुढागाउँ स्कुलछेउमा रहेको पक्की चर्च। तस्बिर : नागरिक

रोल्पा – गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठामा पढ्न बाध्य छन्। अझ सानासाना नानीसमेत धूलैधूलाले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन्। तर, विद्यालयछेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन्। पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतैबाट सोधखोज गरिएको छैन।

देश धर्मनिरपेक्ष भएसँगै मौलाउन थालेका प्रभु अनुयायीहरूको आर्थिक चलखेलको लेखाजोखा गर्ने कुनै पनि निकाय सक्रिय देखिँदैन। उनीहरूको जीवनशैलीमा आएको अचाक्ली परिवर्तन, अप्रत्याशित आयवृद्धिका बारेमा चासो नलिने सम्बद्ध सरकारी निकाय प्रभुका नाममा गरिने आर्थिक कारोबारको लेखापरीक्षण र सार्वजनिक महत्वका ठाउँमा बनाइएका प्रभु भवन निर्माणको कानुनी स्थितिबारे जाँच गरेका छैनन्। अहिले जिल्लामा विभिन्न नाम गरेका करिब पाँच दर्जन प्रभुगृह बनेका छन्। कुनै समय मन्दिरको तथ्यांक राख्ने जिल्ला प्रशासन कार्यालयसँग ती भवनको वैधानिकताबारे जानकारी छैन।

‘सार्वजनिक ठाउँमा चर्च वा भजन मण्डली बनाउँदा स्वीकृति चाहिन्छ । तर, जिल्लामा भएका ती संस्थाहरूले स्वीकृति लिए नलिएको बारेमा जानकारी छैन,’ रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने।

तन्त्रमन्त्रको प्रयोग गरेर झारफुक गर्ने र रोगीको उपचार गर्ने धामीझाँक्री हराउँदै गएका बेला प्रार्थनाबाट चमत्कारिक ढंगले जस्तोसुकै रोगव्याध बिसेक हुने विश्वास दिलाउने प्रभु यसुका अनुयायीको संख्यामा बढोत्तरी भएको छ। उनीहरूका प्रार्थनास्थल चर्च वा भजन मण्डली जिल्लामा बग्रेल्ती छन्।

जिल्लाका सार्वजनिक स्थानमा कतिवटा चर्च वा भजन मण्डली छन् भन्ने आधिकारिक तथ्यांक कतै नभए पनि ५५ भन्दा बढी चर्च र भजन मण्डली रहेको जानकारहरू बताउँछन्। यीमध्ये केही भाडाका भवनमा छन् भने बढीजसोका आफ्नै भवन छन्। मालपोत कार्यालयबाटै कतिपय भवनको नक्सा पारित भए पनि ती संस्थाले थप कानुनी प्रक्रिया पु-याएको वा नपु-याएको भन्ने विषयमा कुनै पनि निकायको ध्यानाकृष्ट भएको पाइँदैन।

चिकित्सक कि प्रभु अनुयायी
तन्त्रमन्त्रको प्रयोग गरेर झारफुक गर्ने र रोगीको उपचार गर्ने धामीझाँक्री हराउँदै गएका बेला प्रार्थनाबाट चमत्कारिक ढंगले जस्तोसुकै रोगव्याध बिसेक हुने विश्वास दिलाउने प्रभु अनुयायीको संख्यामा बढोत्तरी भएको छ। उनीहरूका प्रार्थनास्थल चर्च वा भजन मण्डली जिल्लामा बग्रेल्ती छन्। ‘रिंगटा लाग्ने र काम्ने समस्याबाट पीडित श्रीमतीलाई वरपरका अस्पतालमा उपचार गराउँदा पनि सन्चो भएन। पछि एकजनाको सल्लाहमा चर्च गयौं, त्यहाँ प्रभु प्रार्थना गरेपछि सन्चो भयो। त्यसपछि प्रार्थनामै लागियो,’ केही समयअघि मात्र क्रिश्चियन बनेका रोल्पा बुढागाउँका देवबहादुर परियारले भने। क्रिश्चियनमा जातभातको विभेद नहुने र बिमारी पनि निको हुने भएपछि धर्म फेर्नेहरू आपूmजस्ता धेरै रहेको उनले जनाए। ‘प्रार्थनाका लागि चर्च वा भजन मण्डलीमा आउन छाडेपछि रोग फेरि बल्झिन्छ भनेरै हामी यहाँ नियमित आइरहेका छौं,’ उनले भने।

चर्चकै प्रार्थनाबाट सिकिस्त सासु निको भएको विश्वासले मनमा गहिरो जरो गाडेपछि धर्म परिवर्तन गरेकी एक दलित महिला क्रिश्चियन व्यवहार पछ्याउन थालेकी भए पनि आफ्ना छोराहरूले हिन्दु विधिअनुसार चाडबाडमा खुसी साट्न नपाएकामा दुःखी छिन्। ‘छोराहरू दसैंमा टिका लगाउन रहर गर्छन् तर के गर्नु इसाई धर्मसँग नजिक हुनेले टिका लगाउन मिल्दैन रे। पहिलेकै धर्ममा फर्कन मन लाग्छ। तर, सासुआमा फेरि पनि बिरामी पर्ने हो कि भन्ने डर लाग्छ,’ ती महिलाले भनिन्। प्रभुका अनुयायीहरूले कथंकदाचित आफ्नो पुरानो धर्ममा फर्के बिसेक भएको रोग फेरि बल्झिने बताएकाले उनको मनलाई भयले गाँजेको छ। अझै पनि उनले पूर्णतया सनातन हिन्दु संस्कार त्याग गर्न सकेकी छैनन्। तर, प्रभु प्रार्थनाका कारण बिरामी सासुआमा स्वस्थ हुन पुगेकी विश्वासमा उनी प्रभु यसुको भजन गाउन प्रत्येक शनिबार बिहानै चर्च धाउँछिन्।

बिरामी निको हुने भ्रमका कारण बिस्तारै चर्चमा पुग्ने स्थानीयको संख्या बढेको छ भने नियमित चर्चमा प्रार्थना गर्नेहरू क्रमिक रूपमा धर्म परिवर्तन गर्ने गरेको पाइएको छ। स्थानीयमात्र होइन, त्यहाँ पुग्ने विदेशीको संख्या पनि उल्लेख्य छ। ‘बेलाबेलामा विदेशी पनि आउँछन्, नयाँनयाँ मान्छे पनि देखिन्छन्,’ प्रार्थनाकै कारण श्रीमतीको रोग निको भएको विश्वासमा केही समययता चर्चा धाउने गरेका बुढागाउँकै तुलसिंह खत्रीले भने।

रोगले थलिएकालाई सुविधासम्पन्न अस्पतालसम्मै पु-याउनुपर्ने भए पनि प्रभु अनुयायीहरूले प्रभु प्रार्थनाबाट उपचार गर्न खोज्दा कतिपयको ज्यान अनाहकमा गुम्ने गरेको छ। प्रभुले आफ्नोमा बोलाउनुभयो र मुक्ति दिलाउनुभयो भन्दै प्रभु भक्तहरूले आफन्तलाई मृत्यु स्वीकार गर्न लगाउँछन्। पछिल्लो समयमा आर्थिक सहयोग, रोग निको हुने विश्वास र प्रार्थनाबाट विमुख भए उत्पन्न अप्रिय स्थितिको त्रास आदिका भरमा धर्म परिवर्तन गराउने काम खुलेआम जारी छ। धर्म परिवर्तनका लागि विशेष गरी दलित र जनजाति समुदायलाई लक्षित गरिएको छ। तर, यसबारे जातीय अधिकारकर्मीहरू मौनता साधेका छन्। तर, छिटपुट विरोध भने भइरहेको छ। ‘भ्रममा पारेर जबरजस्ती गराइने धर्म परिवर्तनले समाजमा कुनै दिन भाँडभैलो मच्चाउन सक्छ,’ नेपाल मगर संघका पूर्व केन्द्रीय उपाध्यक्ष नन्दबहादुर घर्ती बताउँछन् । उनी भन्छन्, ‘कम्युनिस्टले जनजातिलाई प्रकृतिपूजक भनेर भ्रम छरिदिए। तर, प्रकृति पूजा कुनै धर्म थिएन। जसले गर्दा धर्म परिवर्तन गराउन सहज भएको छ।’

दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा यो पहाडी भेगमा माओवादी सत्ता कायम थियो। त्यतिखेर जिल्लामा आधिपत्य कायम गरेको माओवादीले बसाल्ने थितिअनुरूप नै समाज नियन्त्रित हुँदा कतिपय विश्वास र अभ्यासका कारण आजका दिनमा धर्म परिवर्तनलाई सघाउ पुगेको स्थानीय बताउँछन्। ‘माओवादीले धर्म अफिम हो भन्दै धार्मिक आस्थामा प्रहार गरे। धर्माचरणप्रति वितृष्णा फिजाउन लगाए। गाई खाँदा क्रान्तिकारी हुने नभए शंकाको घेरामा बस्नुपर्ने नियतिमा रोल्पाली दरिए,’ तत्कालीन माओवादी एक पूर्वलडाकुले सुनाए । त्यो समयमा आमाबुवा मर्दा काजकिरिया गर्नु उपहास हुन्थ्यो। परम्परावादी भएको नदेखिन सहोदरसँग पनि हात मिलाउनुपर्ने हुन्थ्यो। ‘आमाबुवा मर्दा काज किरिया र श्राद्ध गर्ने कामलाई ढोंग मानिन्थ्यो। माओ, लेनिनको फोटोमा मालाअबिर चढाउने काम क्रान्तिकारी,’ एक माओवादी कार्यकर्ताले भने, ‘माओवादीले रोल्पालीका दिमाग खाली गराएर त्यहाँ भर्नुपर्नेभन्दा भर्नु नपर्ने भराएर छाडे।’

उहिले धर्म अफिम हो भनेर दिनदिनै भाषण गर्ने तिनै माओवादीले जितेका स्थानीय तहमा अहिले क्रिश्चियन धर्म प्रर्वद्धनका लागि बजेट विनियोजन भइरहेको छ। रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका इसाई धर्मावलम्बीका लागि भजन मण्डली भवन निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्टयाइने गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App