coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुइटा बाख्राले फेरियाे ‘सञ्चमान’को जीवन

सञ्चमानले व्यवसायिक रुपमा पालेका बाख्रा । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु– सोलुखुम्बुको सोताङ गाउँपालिका–४ निवासी निम्न आयस्तर भएका सञ्चमान विश्वकर्माको जिन्दगी पछिल्लो समय फेरिएको छ। गाउँमा बाख्रापालन व्यवसाय सुरु गरेपछि उनको दैनिकी बदलिएको हो।

पाँच छोरी, तीन छोरा र  श्रीमती सहित १० जनाको ठूलो परिवार पाल्न अन्य भरपर्दो आम्दानीको माध्यम नहुँदा दैनिक चार माना अन्नमा ज्याला मजदुरी गर्नुपर्ने बाध्यताबाट विकको जिन्दगी माथि उठेको छ। केही समयअघि गरिबी निवारण कोषको आर्थिक सहयोग र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङ सोलुखुम्बुको साझेदारीमा सञ्चालित स्थानीय स्रोतमा आधारित गरिबी निवारण कार्यक्रम अन्तर्गत गुदेलको नाम्लुङमा खरिटोल बिहानी सामुदायिक गठन भएपछि सामुदायिक संस्था मार्फत घुम्तिकोष शिर्षकको रकम ऋण लिएर विक बाख्रापालक व्यवसायी बने। 

टोलस्तरीय समुदायको सहभागितामा भएको आर्थिक स्तरीकरणमा अति गरिब वर्गमा परेका विक सामुदायिक संस्थामा आबद्ध भएपछि आयआर्जन उपपरियोजना अन्तर्गत बाख्रापालन व्यवसाय सुरु गरेको बताउँछन्। उनले वार्षिक १५ प्रतिशतका दरले सामुदायिक संस्थाबाट लिएको १० हजार ऋण र छ हजार व्यक्तिगत लगानी थप गरी जम्मा १६ हजारमा स्थानीय जातका दुई वटा ब्याउने माउ बाख्रा किनेर थालेको बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। दुई वटा माउ बाख्राबाट धेरै बोका खसी तथा पाठापाठी बेचेर ७५ हजार भन्दा बढी कमाइसकेको उनले बताए। उनले सामुदायिक संस्थाबाट लिएको ऋणको साँवा र ब्याज फिर्ता गरिसकेका छन्। हाल उनीसँग १० वटा  बाख्रा रहेका छन्। ऋणको साँवा ब्याज तिरेर ६० हजार ४५० रुपियाँ खुद नाफा भइसकेको छ भने उनीसँग रहेका बाख्राको न्यूनतम स्थनीय बजार मूल्य ७० हजार रुपैयाँ पर्छ।  

व्यवसायबाट प्राप्त नाफाले घरखर्च चलाउनका साथै परिवारका सदस्यलाई खुशी पार्ने काममा थप सहयोग पुगेको छ, उनले भने। यही व्यवसायकै कारण हाल उनीसँग चार/पाँच हजार गोजी खर्च कहिल्यै टुट्दैन र आपत विपतमा परेको अति विपन्न परिवारलाई बिना व्याजमा निश्चित समयको लागि सापटी स्वरुप रकम प्रदान गरेर सहयोग गर्न सक्षम भएको उनको भनाइ छ। वि.क.सामुदायिक संस्थाको अध्यक्ष भएका कारण अन्य सदस्यहरूलाई नियमित रुपमा विभिन्न किसिमका व्यापार व्यवसाय गर्न र लगनशील भएर लाग्न प्रेरित गर्दै आएको गरिबी निवारण कोष सञ्चालक संस्थाका संयोजक शोभित कुलुङले बताए । उनले प्राप्त गरेको व्यवसायिक सफलता सबै सदस्यहरुको लागि प्रेरणाको स्रोत बनेको उनकोे भनाइ छ। 
 

प्रकाशित: २७ वैशाख २०७५ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App