६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतले धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा उनलाई अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार थुनछेक बहसपछि रोकालाई धरौटीमा छाड्ने आदेश दिएको थियो।
तर, उनी धरौटी बुझाएर छुट्नासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको हो।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले सम्पत्ति शुद्धीकरण विभागबाट अनुसन्धानका लागि पत्र आएकाले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
रोका ६० किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मानिएका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी डेढ वर्षदेखि फरार रहेकी थिइन् र गत शुक्रबार सीआईबीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।
उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिससमेत जारी भएको थियो।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ‘ब्रेक शु’ मा लुकाइएको ६० किलोभन्दा बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि यो प्रकरण बाहिर आएको थियो।
सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले रोकासहित २९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
प्रकाशित: ९ असार २०८२ १९:२९ सोमबार