त्रियुगा नगरपालिका -१६ चिलाउनेका किसानलाई कृषिमा राहत दिने गरी सिँचाई योजना निर्माण भएको छ ।
वडाको भोर्लेका किसानलाई लक्षित गरी झण्डै सवा सय रोपनी खेतबारीलाई सिँचाई सुविधा दिने गरी कुलो निर्माण गरिएको हो। स्थानीय भोर्ले खोलामा मुहान थापेर निर्माण भएको ७ सय ८ मिटर दूरीमा आरसीसी (पक्की) कुलो निर्माण सम्पन्न भएपछि किसानलाई कृषि बालीमा राहत मिलेको छ ।
स्थानीय तह, प्रदेश र सङ्घ गरी नेपाल सरकारको ६० प्रतिशत तथा स्वीस सरकारको सञ्चालित साना सिँचाई कार्यक्रम (एसआईपी)मार्फत ३० प्रतिशत साझेदारीमा कुलो निर्माण भएको वडाध्यक्ष मानबहादुर राईले बताए । एसआईपीले ३० प्रतिशत लगानी गरेर स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको २०/२० र स्थानीय जनश्रमबापत १० प्रतिशत सहभागितामा साना सिँचाई योजना निर्माण गर्ने गरेको वडाध्यक्ष राईले बताए ।
सो कुलो ३० लाख ७६ हजार लागत मूल्यमा निर्माण भएपछि भोर्लेका १८ घरधुरी कृषकको १ सय २३ रोपनी जमिनमा सिँचाई सुविधा पुगेको वडाध्यक्ष राईले बताए । बारीमा सिँचाई पुगेसँगै किसानले हरेक वर्ष ३ बाली अन्न, तरकारी तथा फलफूल उत्पादन गर्न पाउने भएपछि खुसी भएका छन् ।
पानीको अभावले सबै खेतबारी बाँझो हुँदै गएका बेला यो कुलो निर्माणले गाउँको आकर्षण थप्ने भएपछि गाउँले खुसी भएको वडाध्यक्ष राई बताउँछन् । ‘अहिलेसम्म पानी नहुँदा सुख्खा रहेका खेतबारी कुलो आएसँगै सिँचाइले हराभरा हुनेछन्’ वडाध्यक्ष राईले भने ‘पानी आएपछि लसुन, प्याज, खुर्सानी, सागसब्जी, फलफूल र ३ बाली मकै, धान र कोदो फल्ने हुँदा कृषकहरू खुसी छन् ।’
स्थानीय किसान तेजबहादुर मगरले गाउँमा सिँचाई कुलो आएपछि अव व्यवसायिक खेतीतर्फ लाग्ने जाँगर चलेको बताए । अहिलेसम्म खानेपानीको धाराको पानी उबारेर करेसाबारीमा तरकारी उत्पादन गर्दै आएका मगरले अव सबै खेतबारीमा मौसमी र बेमौसमी तरकारी उत्पादनमा लाग्ने योजना बनाएका छन् । आफ्नो परिवारलाई पुग्दो तरकारी फलाउने र व्यवसायिक खेती गरेर बजारसम्म लगेर आयआर्जन बढाउने योजना बनाइसकेको मगरले बताए ।
‘पहिला कुटोले खनेको कुलोको पानी आउँदाआउँदै बाटैमा सुकेर खेतसम्म आइनपुग्ने र बेलाबेलामा भत्केर हैरानी हुन्थ्यो’ अर्का कृषक रमेश बलम्पाकीले भने ‘अव पक्की कुलो बन्यो, मुहानको पानी नचुही सरासर खेतबारीमा आइपुग्छ, भत्कने डर पनि भएन । प्रशस्त सिँचाई गर्न पाइने भो ।’ अव ढुक्कले व्यवसायिक तरकारी खेतीमा लाग्ने योजना बलम्पाकीले पनि बनाइसकेको बताए ।
प्रकाशित: ४ असार २०८२ १७:५४ बुधबार