२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

‘तयारी नै विपद् विरुद्धको पहिलो हतियार’

आसन्न वर्षायाममा हुन सक्ने सम्भावित विपद्‌को पूर्वतयारीस्वरूप जुम्लामा नेपाली सेनासहितका सुरक्षा निकायले सोमबार जीवन्त उद्धार अभ्यास गरेका छन्।

तिला नदीमा मानिस बगाइएको र भिरबाट खसेकाहरूको उद्धार गरिएको यथार्थपरक दृश्यले स्थानीयलाई केहीबेर त्रसित नै बनायो।

चन्दननाथ नगरपालिका-१, दानसाँघुस्थित तिला नदीमा गरिएको अभ्यासमा बाढीले बगाएका व्यक्तिहरूलाई सेनाको गोताखोर टोलीले डुंगाको सहायताले उद्धार गरेको थियो।

त्यसैगरी, भिरबाट खसेका घाइतेलाई डोरीको माध्यमबाट सुरक्षित स्थानमा ल्याउने अभ्यास पनि गरिएको थियो।

श्री देवीदत्त गणको अगुवाइमा भएको उक्त अभ्यासको मुख्य उद्देश्य विपद्को समयमा गरिने उद्धार कार्यबारे नागरिकलाई सचेत गराउनु र सुरक्षा निकायको तयारीलाई चुस्त राख्नु हो।

अभ्यास हेरिरहेका स्थानीय टेकबहादुर शाहीले दृश्य साँच्चिकै विपद् आइपरे जस्तो भयावह लागेको सुनाए। ‘यस्तो विपद् शत्रुलाई पनि नपरोस्,’ उनले भने, ‘यसले हामीलाई विपद्का बेला कसरी जोगिने र उद्धार कसरी हुँदोरहेछ भन्ने प्रत्यक्ष ज्ञान दियो।’

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जुम्ला विपद्को उच्च जोखिममा रहेको बताउँदै यस्ता अभ्यासले समुदायस्तरमा पूर्वतयारी र प्रतिकार्यको क्षमता बढाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘विपद् खबर गरेर आउँदैन, त्यसैले पूर्वसावधानी र तयारी नै सबैभन्दा ठूलो हतियार हो।’ 

देवीदत्त गणका गणपति धीरज थापाले विपद् रोकथाम, उद्धार र राहतका लागि सुरक्षा निकाय सदैव तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसको संयुक्त संयोजनमा भएको अभ्यासमा स्थानीय विद्यालयका १०० भन्दा बढी विद्यार्थीलाई समेत विपद् सचेतनाबारे जानकारी गराइएको थियो।

प्रकाशित: २७ जेष्ठ २०८२ २१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App