१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

गृह सचिवलाई सात दिने स्पष्टीकरण माग

गृह सचिव गोकर्णमणी दुवाडीलाई सात दिने स्पष्टीकरण सोधिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै सात दिने स्पष्टीकरण सोधिएको हो । यति बेला गृह सचिव दुवाडी हाल विदेशमा रहेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।

गृह मन्त्रालय अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको विषयमा समाचार प्रकाशित भएपछि काजमा खटिएका कर्मचारीको सबै विवरण उपलब्ध गराउन आग्रह समेत गरिएको छ।

विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी खटिएका कर्मचारीलाई केही दिन अघि फिर्ता गरिएको थियो । भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिव दुवाडीका विश्वास पात्र मानिएका सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तानेपछि विमानस्थल स्थित अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो ।

अख्तियारले सो विषयमा २०८२/०२/१३ मा पत्र लेखी तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई पत्र पठाएको  थियो । निजामती सेवा ऐन, २०४९ को दफा १८(क) को उल्लङ्घन भएको उल्लेख गर्दै काज खटाउने प्रावधानको पालना नगरे तलब–भत्ता र सुविधा काज खटाउने पदाधिकारीबाट असुल हुने र विभागीय कारबाही हुने व्यवस्था सम्झाएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव कार्कीले गृह सचिव दुवाडीलाई सात दिनभित्र दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र ती कर्मचारीको नामसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रकाशित: २६ जेष्ठ २०८२ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App