२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सप्तरीको डकैती र हत्या घटना बुझ्न डिआइजी चतुर्वेदी घटना स्थलमा

मृतक कान्तलाल चौधरीको घरमा पुगेर शनिबार घटना अवस्था बुझ्दै मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी। तस्बिर: मिथिलेश/नागरिक

सप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी ५० वर्षीय कान्तलाल चौधरीको हत्या घटनाको स्थलगत निरीक्षण गर्न मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी शनिबार बिहान घटनास्थल पुगेका छन्।

शनिबार बिहान घटनास्थल पुगेर घटना र वस्तु अवस्था बुझेपछि संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द खतिवडालाई निर्देशन दिएका छन्।

'यो जघन्य अपराध हो दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइन्छ,' डिआइजी चतुर्वेदीले पीडित परिवारलाई आश्वस्त पार्दै नागरिकसँग भने, ‘जघन्य अपराधका घटना भएकोले म आफैँ घटनास्थल निरीक्षण गरी संलग्न पक्राउ गर्न अझ बढ्ता सक्रिय हुन निर्देशन दिएको छु। यस घटनाको सूक्ष्म अनुसन्धान हुँदैछ, संलग्न चाँडै कानुनी दायरमा आउँछ, डिआईजी चतुर्वेदी।’ 

घटनालगतै तालिमप्राप्त कुकुरको सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको र शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।

उनका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको जंगेको (तालिमप्राप्त कुकुर) सहायताले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको हो।

एसपी खतिवडाले घटना स्थलबाट तीन राउन्ड जीवित गोली र एउटा खोखा पनि बरामद भएको बताए। यस्तै शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

बिहीबार राति करिब १२ बजे घरमा डाका गरी फर्किँदै गरेका समूहलाई प्रतिकार गर्दा चौधरीमाथि डाका समूहले गोली प्रहार गरेको थियो। उनको ढाँड र घाँटीको बिचमा गोली लागेको थियो। गोली लागेर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो। डाकाको प्रतिकारमा मृतक चौधरीका भाइ नाता पर्ने ४० वर्षीय रामाकान्त चौधरीको टाउकोमा चोट लागेको र उपचारपछि घर फर्किएका छन्।

डाका समूहले चौधरीको घरबाट करिब ५० हजार रुपैयाँ, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लगेको एसपी खतिवडाले बताए।

प्रकाशित: २४ जेष्ठ २०८२ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App