४ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

देशैभरि यातायात बन्दको प्रभाव, जनजीवन प्रभावित

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दको प्रभाव देशैभर परेको छ। शुक्रबार बिहानै देखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्। सवारी नचल्दा देशभरको जनजीवन प्रभावित भएको छ।

सरकारबाट वि.सं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै महासंघले यातायात सञ्चालनमा रोक लगाएको हो। महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएको महासंघका महासचिव सरोज सिटौलाले बताए।

व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको उनले बताए।

‘यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने हाम्रो पनि उद्देश्य हो, तर सरकार बिना छलफल चल्न खोजेपछि उक्त कदम चाल्न बाध्य भएका हौँ,’ उनले भने। महासचिव सिटौलाले आफ्नो माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेसमेत बताए।

अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने भएका छन्। बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले जानकारी दिए। ‘हामीलाई राज्यले सुरक्षा दिन्छ भने हाम्रो कम्पनीअन्तर्गतका सबै सवारीसाधन सडकमा गुडाउँछौँ,’ उनले भने।

महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । रासस

प्रकाशित: २१ वैशाख २०७५ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App