सामान्य वर्षाले पनि कलैया बजार क्षेत्रको निर्माणाधीन हुलाकी सडकखण्ड पोखरीमा परिणत भएको छ।
वर्षौँदेखि अधुरो रहेको सडकमा दुईदेखि तीन फिटसम्म पानी जम्दा सर्वसाधारण र सवारीसाधनको आवतजावत कष्टकर बनेको हो।
हुलाकी राजमार्ग आयोजना अन्तर्गत निर्माणाधीन मानवत–कलैया–मटिअर्वा खण्डको कलैया बजार क्षेत्रमा पर्ने करिब एक किलोमिटर सडक जलमग्न हुँदा स्थानीयले चरम सास्ती भोग्नुपरेको छ।
स्थानीय अबास हवारीका अनुसार कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले सडकको पुरानो ग्राभेल एक्स्काभेटर लगाएर अन्यत्र लगेपछि सडक खाल्डोमा परिणत भई पानी जमेको हो।

‘घर अगाडि नै तीन फिटसम्म पानी जमेको छ, बच्चाहरू डुब्ने डरले घरमै थुन्नुपरेको छ,’ हवारीले गुनासो गरे, ‘वीरगन्जबाट पूर्व जाने सवारी त्यही खाल्डोमा फसिरहेका हुन्छन्।’
पूर्व–पश्चिम महेन्द्र राजमार्गको मानमतदेखि भारतसँग सीमा जोडिएको मटिअर्वासम्मको करिब २७ किलोमिटर हुलाकी सडकखण्डमध्ये कलैया बजारभित्र पर्ने यो खण्ड राजनीतिक खिचातानीका कारण १४ वर्षदेखि अधुरै छ।
कलैयाको संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको करिब तीन किलोमिटर सडक चार लेनको बनाउन थालिए पनि तीन पटक ठेक्का लाग्दा र तीनै पटक निर्माण कम्पनी फेरिँदा समेत काम सम्पन्न हुन सकेको छैन।
हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जका इन्जिनियर धर्मेन्द्र दासका अनुसार तेस्रो पटक ओम साई एण्ड कम्पनी/सप्तकोशी जलाधार जेभीले करिब २३ करोडमा ठेक्का लिएको हो।
२०७८ पुस २७ गते सम्झौता भई २०७९ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्नेमा काम नभएपछि २०८१ फागुन २९ गतेसम्म म्याद थपिएको छ।
यता, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले भने बाराका प्रमुख जिल्ला अधिकारी र निर्माण कम्पनीकै सहमतिमा आफूले पुरानो ग्राभेल लगेको दाबी गरे।
उनले निर्माण कम्पनीले नै सुरुमा ग्राभेल लैजान भनेको तर पछि निर्माणमा ढिलाइ गरेको आरोप लगाए। हाल सडकमा जमेको पानी ट्याङ्करको मद्दतले फाल्ने काम सुरु गरिएको मेयर साहले सुनाए।
कलैयावासीले भने १४ वर्षमा तीन पटक ठेक्का लाग्दा पनि सडक नबन्नुलाई चरम लापरबाहीको संज्ञा दिएका छन्।
प्रकाशित: १७ जेष्ठ २०८२ १९:२९ शनिबार





