२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

तरकारी खेतीले बदल्दैछ जुम्ली महिलाहरू आर्थिक स्थिति

जर्मी गाउँकी महिलाले उत्पादन गरेको तरकारी। तस्बिर : गोल्डेन बुढा/नागरिक।

जुम्लाको तातोपानी गाउँपालिका २ जर्मी गाउँकी गंगा बुढाको दैनिकी आफ्नो तरकारीबारीमै बित्छ। बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै पुग्छिन्। तरकारी खेतीबाटै आर्थिक स्थिति बलियो हुनेमा उनी विश्वस्त छिन्। 

उनले खेतबारीमा काउली, बन्दा, गोल्भेडा,आलु, गाँजर, मुला र प्याज लगाएकी छिन्। आफूले फलाएको तरकारी बेचेर लाखौं रुपैयाँ आम्दानीको गर्ने सोचमा छन् बुढा। अघिल्ला वर्षहरूमा जुम्ली काली मार्सी धानखेती भइरहेको उनको बारीमा आजभोलि लटरम्म हरियो तरकारी फलेको छ।

गंगाले भन्छिन्, 'धानमा रोग किराको संक्रमण बढ्दा निकै दु:खकष्ट पाउँदै आयौँ। आजभोलि तरकारी खेतीबाटै आर्थिक पक्ष बलियो बनाउने पक्षमा छौँ।’

जलवायु परिवर्तनका कारण जुम्लाको खेती प्रणालीमै हलचल देखिएपछि किसानहरू वैकल्पिक उपाय अपनाउन थालेका हुन्। विषादीरहित अर्गानिक तरकारी रोपिएकाले उनको तरकारीको माग अहिलेदेखि नै हुन थालेको छ।

सोही गाउँकी जयलक्ष्मी बुढा पनि तरकारी खेतीमै रम्छिन् हिजोआज। उनी तीन वर्षयता यसमा छिन्। जयलक्ष्मी यो वर्षदेखि थप व्यावसायिक तवरले नै तरकारी खेतीमा लागेकी छन्। विगतमा आफूलाई चाहिँदो मात्रै तरकारी फलाइरहेकी उनले योपटक भने धेरै ताजा तरकारी बजारसम्म पुर्‍याउने तयारी थालेकी छन्।

सडक सञ्जालको पहुँच पुगेसँगै र स्थानीय तहमै टुक्रेबजार बढेसँगै उनले त्यहीँ बजारको मागका आधारमा तरकारी फलाउन थालेकी हुन्। तरकारीबाटै आम्दानी गरेर श्रीमान्‌सँग माग्नु नपरोस् भन्ने उनको सोच छ। 

'पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ,' उनी खुसी व्यक्त गर्छिन्। 

उनले तरकारी बेचेरै छोराछोरी पढाएको र बचेको तरकारी बेचेर बचत गरेको सुनाइन्। 'छोराछोरी त्यसैले पढायो, नजिकको बजारमा बेच्यो। बचेको चाहिँ बचत,' उनले भनिन्।

उनले उत्पादन गरेका तरकारी तातोपानी गाउँपालिका केन्द्र लिताकोट बजार, तातोपानी बजारमा बिक्री भइरहेको छ। यो वर्ष धेरै उत्पादन छ, जुम्लाको सदरमुकाम खलंगासम्म लैजाने तयारी छ उनको।

यहीँकी सत्या बुढा पनि खेतबारीमै भेटिन्छिन्। बिहानै बजारसम्म धनियाँ, साग र अन्य तरकारी बिक्री गर्न पुग्छिन् उनी। आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव छ उनीसँग। 

'महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदोरहेछ, श्रीमान्‌सँग हुँदा त पैसा पाइन्थ्यो, नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो। अहिले तरकारी फलेपछि पैसा परिहाल्यो। आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन,' उनी सुनाउँछिन्।

उनी लगभग एक रोपनी खेतमा तरकारी उत्पादन गर्छिन्। 'तरकारी बिना सुख्खा खाना खाइन्थ्यो। आजभोलि वर्षभरि हरियो तरकारी छन्,' उनी फेरिएको दिन र दैनिकी सुनाउँछिन्।

गंगा, जयलक्ष्मी र सत्या प्रतिनिधि पात्र मात्र हुन्। उक्त गाउँका २८ जना महिलाले एक हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेका छन्। उनीहरूको खेती सामूहिक जस्तो भए पनि उत्पादन भने व्यक्तिगत रूपमै लिने गरेका छन्।

उनीहरू अर्गानिक तरकारी मात्र फलाइरहेका छैनन्। जैविक विषादी बनाएर रोग तथा किरा नियन्त्रणसमेत गर्छन्। बालबालिकाको पोषणमा पनि सहयोग पुग्ने र बलियो आम्दानी लिन सकिने भएकाले प्रमुख आम्दानीको स्रोतका रूपमा तरकारी खेतीलाई लिएको उनीहरू बताउँछन्।

घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन्। 'तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ,' उनीहरूको एक स्वर छ, 'घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन।'

जुम्लाको चन्दननाथ नगरपालिका १ मा पर्ने तलिचौर गाउँका किसानहरू पनि व्यावसायिक तरकारी खेतीमा लागेका छन्। विशेषगरी महिला र दलित समुदायहरू तरकारी खेतीमा अग्रसर छन्। युएनडिपीको आर्थिक सहयोग तथा तातोपानी गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा परियोजनाअन्तर्गत जर्मी र तलिचौर गाउँमा तरकारी खेती भइरहेको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपाने बताए।

न्यौपानेका अनुसार उनीहरूलाई ग्रीन हाउस, बिउ र तरकारी खेती प्रविधिसम्बन्धी तालिम पाएपछि उनीहरू व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन्।

प्रकाशित: १ जेष्ठ २०८२ २१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App