कञ्चनजंघा हिमालको दक्षिणी भागबाट आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। करिब ८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासमा समस्या आएर उनीको ज्यान गएको हो।
प्रहरीका अनुसार मृत्यु भएकी फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङ हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर यहि वैशाख २६ गते दुई फ्रान्सेली नागरिकले कञ्चनजंघाको आरोहण सुरु गरेका थिए।
वैशाख २७ गते राति करिब ११ बजे, करिब ८ हजार मिटर उचाइमा पुगेपछि मोरिङको श्वासप्रश्वासमा समस्या देखिएपछि उनको ज्यान गएको बताइएको छ। घटनाको जानकारी गाइड योगेन्द्र तामाङमार्फत प्रहरीलाई आज (सोमबार) मात्र प्राप्त भएको थियो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतले फ्रान्सेली नागरिकको मृत्यु पुष्टि गर्दै आरोहणमा सहभागी अर्का एक फ्रान्सेली नागरिक भने सकुशल रहेको जानकारी दिए।
उनका अनुसार मृतकको शव हाल करिब ७,५०० मिटर उचाइमा रहेको छ।
प्रकाशित: २९ वैशाख २०८२ २१:२८ सोमबार