शनिबार (भोलि)देखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन-२०८२’ आयोजना हुँदैछ। श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा तीनदिने छोरी सम्मेलन हुन लागेको हो। सम्मेलन वैशाख २७, २८ र २९ गते वीरेन्द्रनगरस्थित शुभ होटलमा हुनेछ।
प्रदेशमा आयोजना हुन लागेको छोरी सम्मेलन पहिलो भएको आयोजक श्री ज्योति फाउन्डेसनले बताएको छ। सशक्तीकरण अभियानमार्फत कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउनका साथै कर्णालीका छोरीहरूको व्यक्तित्व विकासमा सघाउ पुर्याउनु सम्मेलनको उद्देश्य भएको आयोजक फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले बताइन्।
‘यो एउटा सम्मेलनमा मात्र सीमित छैन, कर्णालीका छोरीहरूको चेतना जागृत गर्न र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को हो,’ फाउन्डेसनका अध्यक्ष कटुवालले भनिन्, ‘यो सम्मेलनलाई कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि एक गतिशील अभियानका रूपमा लिन सकिन्छ, कर्णालीका छोरीहरू आफैँ कमजोर नभएर अधिकार र अवसरबाट वञ्चित भएका कारण कमजोर छन् भन्ने राज्यलाई बोध गराउनु हाम्रो उद्देश्य हो।’
तीन दिनसम्म चल्ने यो सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहने जनाइएको छ। स्थानीय तह तथा सीमान्तकृत समुदाय, लोपोन्मुख राउटे, राजी, वादी, बोटे समुदायबाट दुई सयजना छोरीहरूको सहभागिता सम्मेलनमा रहनेछ।
फाउन्डेसनका अध्यक्ष कटुवालका अनुसार स्थानीय तह, समुदायबाट प्रतिनिधित्व गर्ने छोरीहरूले सम्मेलनमार्फत आफ्ना आवाज बुलन्द गर्ने अवसर पाउनेछन्।
सम्मेलनका प्रत्येक दिन छोरीका आफ्ना कुरा राख्ने तथा प्रवचन, बहसजस्ता विशेष सत्रहरू चल्नेछन्। सम्मेलनमा ‘छोरीका मनका कुरा’ विशेष सत्र सञ्चालन हुनेछ। यो सत्रमा कर्णालीका छोरीहरूले आफ्ना भोगाइहरू प्रस्तुत गर्नेछन्।
छोरीहरूका प्रतिभाहरू पनि यसै सम्मेलनमा प्रस्तुत गरिनेछ। ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट विश्लेषण गरिनेछ। सम्मेलनमा हुने बहसहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसँग सम्बन्धित हुने आयोजक श्री ज्योति फाउन्डेसनले जनाएको छ।
‘राजनीतिमा कर्णालीका छोरी’, ‘शिक्षित छोरी किन जरुरी ?’, ‘स्वस्थ छोरीः स्वस्थ कर्णाली’, ‘कर्णालीका सारथि’, ‘कानुनी सेवामा कर्णालीका छोरी’, ‘कर्णालीका खेलाडी छोरी’, ‘महिनावारीका सकस’, ‘आमाका कुरा’ लगायतका शीर्षकमा सम्मेलन अवधिभर सत्रहरू सञ्चालन हुनेछन्।
यी सबै सत्रहरूमा कर्णालीलाई जन्मथलो, थातथलो र कर्मथलो बनाउने कर्णालीका सन्ततिहरूलाई मौका दिइएको अध्यक्ष कटुवालले बताइन्। सम्मेलनको यो पहिलो संस्करण भएको र आगामी वर्षहरूमा अन्य संस्करण पनि आयोजना गर्ने प्रयास गरिएको उनले बताइन्।
सम्मेलनको खर्च व्यवस्थापनका लागि कर्णालीका केही स्थानीय तह र सरोकारवालाहरूले प्रतिबद्धता जनाएको कटुवालले जानकारी दिइन्।
प्रकाशित: २६ वैशाख २०८२ २१:३० शुक्रबार