ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयले स्थलगत अध्ययन गरी सरोकारवालाको राय सुझाव लिएको छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलेको नेतृत्वमा पालिकाको केन्द्र तेल्लोक पुगेको टोलीले सम्भावित इलाका प्रशासन कार्यालय स्थापना हुने पालिकाको केन्द्र तेल्लोक पुगी स्थलगत अध्ययन गरेको हो। सो क्रममा प्रजिअ शर्माको टोलीले पालिका अध्यक्ष लालकृष्ण चौहान सहितका पालिकाका पदाधिकारीसँग राय सुझाव समेत ग्रहण गरेको छ।
टोलीले इलाका प्रशासन कार्यालय स्थापना भए उक्त प्रयोजनका लागि आवश्यक पर्ने भवन समेतको निरीक्षण गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी शर्माले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना गरी सो क्षेत्रका सिरिजङ्गा, सिदिङ्वा र पाथीभरा याङवरक गाउँपालिकाको सिरिजङ्गा सीमा क्षेत्रका नागरिकलाई सहज हुने देखेर उक्त पहल अघि बढाइएको जानकारी दिए।
अहिले ताप्लेजुङका तेल्लोक र दोभानमा इलाका प्रहरी चौकी तथा तेल्लोक मैवाखोलाको ढुङ्गेसाँघुमा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। केही समयअघि काठमाडौं गएका बेला प्रजिअ शर्माले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गृह मन्त्रालयका सचिव समेतलाई भेटेर प्रस्ताव गरेका थिए। इलाका प्रशासन कार्यालय स्थापना भएपछि सोही कार्यालयबाट नागरिकता सहितका सेवा प्रदान गर्न सकिन्छ।
प्रजिअ शर्माको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमसहित तेल्लोक पुगेको स्थानीय प्रशासनको टोलीले शान्ति सुरक्षा अमनचयन स्थापना, अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण तथा निर्मूलीकरण, स्थानीय प्रहरी चौकीहरूको अवस्था, गाउँपालिकाको सेवा प्रवाहको स्थिति बुझ्ने र सुझाव दिने कार्य समेत गरेको सिरिजङ्गा गाउँपालिकाले जनाएको छ।
प्रजिअ शर्माको टोलीले विक्रम सम्वत् २०१५ सालमा निर्मित विशाल भट्टराईको ऐतिहासिक ५४ झ्याले घरको अवलोकन, लिम्बू भाषा लिपीका सर्जक एवं प्रचारक त्येअङसी सिरीजङ्घासिं थेबेको पवित्र जन्मस्थल (गुफा) र माङहिमको अवलोकन समेत गरेको पालिका अध्यक्ष चौहानले जानकारी दिए।
प्रकाशित: २५ वैशाख २०८२ १२:१२ बिहीबार


-600x400.jpg)


