१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुर। तस्बिरः महेश्वर

अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा यहाँका एक युवक प्रहरी नियन्त्रणमा परेका छन्। जिल्ला अस्पताल उदयपुरका चिकित्सक डा. दिपेश यादवमाथि दुर्व्यवहार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका ९ का ३३ वर्षीय देवराज विष्ट पक्राउ परेका हुन्।

विष्टमाथि सोमबार दिउँसो अस्पतालको कार्यालय समयमा रेडियोलोजिस्ट डा. यादवमाथि दुर्व्यवहार गरेको आरोप छ। अस्पताल प्रशासनले काम ढिलो गरेको भन्दै कार्यकक्षमा प्रवेश गरेर डा. यादवलाई विष्टले तथानाम गालीगलौज गरेको जनाएको छ। डा. यादवले दिउँसोको ब्रेक समय भएकाले खाजा खाएर कार्यकक्षमा पस्ने बित्तिकै विष्टले तथानाम गालीगलौज गरेको अस्पताल प्रशासनसँग गुनासो गरेका छन्।

विष्टले ढोकामा लात्तीले हान्दै कार्यकक्षमा प्रवेश गरेर आक्रोसित हुँदै गालीगलौज गरेको पनि अस्पताललाई बताएका छन्। निर्धारित समयमा काम गर्न कार्यकक्षमा उपस्थित भएको र कोठा बाहिर करिब २०–२२ जना बिरामी लाइनमा रहेको अवस्थामा विष्टले दुर्व्यवहार गरेको डा. यादवलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ। 'म बिरामीहरूको नाम बोलाउने क्रममा थिएँ जब यो दुर्व्यवहार भयो,' उनले थपे।

घट्नालगत्तै अस्पताल प्रशासनले प्रहरी बोलाएर विष्टलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न आग्रह गरेको थियो। अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बीरेन्द्र मण्डलले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको आधारमा विष्टलाई नियन्त्रणमा लिइएको जनाएको छ। विष्टमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८२ १३:५७ मंगलबार