२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

बिहीबार बिहान कलेज गएकी प्रिसा, साथीसँग मागेकी थिइन् नोट

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी वीरगञ्जकी प्रिसा साहको मृत्युको कारण अझै खुल्न सकेको छैन।

किट कलेजमै बिहीबार मृत फेला परेकी प्रिसाको घटनाबारे राज्य सरकारले औपचारिक छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ। राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार, स्थानीय प्रहरीलाई बिहीबार राति ८:१० बजे घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नरलगायत अनुसन्धानमा खटिएका छन् ।

किट कलेजमा प्रिसासँगै अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार साह बिहीबार बिहान कलेज गएकी थिइन्। ती विद्यार्थीका अनुसार बिहीबार बिहान सी प्रोगामीङ ल्याङ्ग्वेजको कक्षामा भने प्रिसा सहभागी थिइन्। तर साँझको भाइभामा भने उनले सहभागी भइनन्।

ती विद्यार्थीले भने,'बिहानको कक्षामा प्रिसा थिइन्। उनले साथीहरूसँग नोट पनि मागेकी रहिछन्। तर साँझ सोही विषयको प्राक्टिकल क्लास र त्यसपछिको भाइभामा भने उनी उपस्थित थिइनन्। भाइभा पछि नि दिन पाइन्छ त्यसरी छुट्ने धेरै विद्यार्थी हुन्छन्। त्यसैले खोजी पनि भएन।'

प्रिसा बसेको कोठामा भने अरु साथीहरू नभएको उनले बताए। 'प्रिसा केही समय अघिदेखि भारतीय विद्यार्थीहरूसँग बस्दै आएकी थिइन्। उनका साथीहरू आफ्नो परीक्षा सकाएर घर गइसकेका छन्। उनको कोठामा उनी मात्र थिइन्', उनले भने।

'प्रिसा त्यस्तो तनावमा पनि थिइन् जस्तो देखिँदैनथ्यो,' ती विद्यार्थीले भने। सबै साथीहरूसँग राम्रै कुराकानी हुने गरेको विद्यार्थी बताउँछन्। उनले केही समय पछि घर आउनका लागि टिकेट काटिदिन पनि साथीहरूलाई आग्रह गरेकी थिइन्। 

प्रिसाको आत्महत्याबारे अहिले कलेजमा नेपाली विद्यार्थीहरू पनि अचम्ममा परेको उनले बताए। 'उनी राम्रै देखिन्थिन। त्यस्तो तनावमा छिन जस्तो देखिँदैनथ्यो। तर एक्कासिको आत्महत्याले हामी पनि अचम्ममा परेका छौँ। यो घटनामा भने कलेजले प्रहरीलाई बोलाएर मात्र सबै काम गरेको छ। पहिलाको घटनाको जस्तो लापरबाही छैन। परिवारलाई पर्खिरहेका छौँ। परिवार आएपछि मात्र पोष्टमार्टम गर्ने भनिएको छ,' उनले भने। 

प्रिसाको परिवार सर्लाहीको मलंगवाबाट वीरगञ्ज-१५ मा अस्थायी बसोबास गर्दै आएको थियो । उनी स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । होस्टेल बस्दै आएकी उनको शव बिहीबार साँझ होस्टेल कोठामै फेला परेको थियो ।

छानबिन प्रारम्भ भए पनि विद्यार्थीहरूको सुरक्षामा विश्वविद्यालय प्रशासनको भूमिका र निगरानीप्रणालीप्रति प्रश्न उठ्न थालेका छन् । विद्यार्थी, अभिभावकहरू, नेपाली समुदाय र विद्यार्थी युनियनहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रिसा मृत फेला परेको खबर पाएपछि परराष्ट्र मन्त्रालयले भने छानबिनका लागि कूटनीतिक पहल थालेको बताएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन्। 

प्रकाशित: १९ वैशाख २०८२ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App