सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध जोडन ‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम ’ सञ्चालन गरेको छ ।
सीमा क्षेत्रको हरेक गतिविधिहरू नियाल्ने सशस्त्र प्रहरीले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सो कार्यक्रम अघि सारेको हो ।
जिल्लाको झन्डै ९३ किलो मिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । यसका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासीहरूसँग समन्वय र सम्बन्ध बढाउन अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र सामाजिक कार्यक्रम समेत थालेको हो । सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेक्वाटर अन्तर्गत रहेको बिओपीहरुको अगुवाइमा सीमा क्षेत्रका बासीहरूसँग सम्बन्ध बढाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए ।
‘सीमाबासीहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको हो ’ उनले भने । नेपाल प्रहरी जस्तो जनताको सशस्त्र प्रहरीसँग सिधा जन सम्पर्क नहुँदा काम गर्न समस्या आउने गरेको भन्दै केसीले जनतासँग हातेमालो गरी समन्वय गर्न यो कार्यक्रम प्रभावकारी हुँदै गएको बताए । जनताको प्रत्यक्ष सरोकार रहेको विभिन्न स्वास्थ्य शिविर, खानेपानी धारा जडान, प्रतीक्षालय निर्माण लगायतको काम गरिएको बताए । यो कार्यक्रमले जनतासँग प्रत्यक्ष सम्बन्ध समेत स्थापित भएको उनले बताए ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमले सीमा सुरक्षाकालागि जनताबाटै विभिन्न सूचना समेत संकलन गर्न समेत सहज भएको केसीले बताए । बैशाख १६ गते महाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौनामा ईब्राहीम हेल्थ क्लिनिक तौलिहवाको समन्वयमा गरिएको नि:शुल्क आँखा शिविरमा १ सय ६० जनाको आँखा परीक्षण गरिएको थियो । यस्तै सोही पालिको वडा नम्बर ८ हर्दौनामा सिद्धार्थ नेत्रालय तौलिहवाको समन्वयमा गरिएको आँखा शिविरमा १ सय २५ जनाको आँखाको जाँच गरिएको थियो ।
यस्तै बिजयनगर गाउँपालिका वडा नम्बर ५ डालपुर र वडा नम्बर ६ उज्जवलपुरमा रहेका विद्यालयहरूमा मा भित्ते चित्र मार्फत प्रारम्भिक अक्षर चिनाउने र पढाई प्रति लगाव बढाउन भित्ते लेखन कार्य समेत गरिएको थियो । महराजगंज नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यागेन्द्र कुमार केसीले सशस्त्र प्रहरीले सीमावासीसँग सशस्त्र कार्यक्रमले राम्रो सम्बन्ध बनाउँदै गएको बताए । आफ्नो वडामा सशस्त्र प्रहरीले यात्रु प्रतीक्षालय निर्माण, आँखा शिविर लगायतका काम गरेको बताए ।
‘सीमा सुरक्षा सहित सीमावासीसँग सम्बन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बनेका छ ’ उनले भने । सीमा अपराध, लागु औषध नियन्त्रण लगायतका सक्रिय रहेको सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासीहरूसँग सम्बन्ध बढाउन स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा समेत सीमा क्षेत्रका पालिका र वडासँग समन्वय गरी काम गरेस सम्बन्ध स्थापित गदै गएको वडाध्यक्ष केसीले बताए । सशस्त्र प्रहरी उपरीक्ष केसीले यो कार्यक्रम पछि सीमा क्षेत्रको निग्रानी, तस्करी नियन्त्रण लगायतको काममा समेत सहज भएको बताए । यो कार्यक्रम पछि तस्करीको सामान समेत बरामद हुने क्रम बढेको उनले बताए ।
प्रकाशित: १८ वैशाख २०८२ १८:२९ बिहीबार