नवराज विकसहित ६ जनाको हत्या हुने गरी रुकुम पश्चिमको सोतीगाउँमा भएको घटनामा दायर भएका २६ वटा पुनरावेदन निवेदनमाथि उच्च अदालत सुर्खेतमा सुनुवाइ भइरहेको छ । अदालत बाहिर भने अभियन्ता तथा आफन्तहरुले न्यायको माग गर्दै प्रदर्शनहरु गरिरहेका छन् ।
उच्च अदालतमा एक सातादेखि सोती घटनाका विषयमा बहस भइरहेको छ । रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार गत सोमबारदेखि सोती घटनालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको छ । अदालतमा सुनुवाई भइरहँदा बाहिर मृतकका आफन्त र अधिकारकर्मीहरु निरन्तर प्रदर्शन गरिरहेका छन् ।
पीडितहरुले जिल्ला अदालतको फैसलाविपरित निर्णय आउने सम्भावना देखिएकाले आन्दोलन गर्नुपरेको बताएका छन् । हत्या गरिएका नवराजकी आमा उर्मिला विकले जन्मकैदको सजाय पाएकाहरु छुटाउने खेल भइरहेको आरोप लगाइन् । ‘भित्र बहस सुन्दा जन्मकैदको सजाय पाएकाहरु पनि छुट्ने अवस्था देखिन्छ,’ उनले भनिन्, ‘यदी जिल्ला अदालतको फैसलाविपरित उच्चले निर्णय गरे जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं ।’
सोती घटनामा मारिएका सञ्जुकी आमा सविताले न्यायालयबाट न्याय पाउनेमा आफूहरु विश्वस्त रहेको बताइन् । ‘तर, अहिले बहस सुनिरहँदा केही शंका पनि लागेको छ,’ उनले भनिन्, ‘भित्र बहस सुन्दै बाहिर खवरदारी गरिरहेका छौं ।’
दलित अभियान्ता खगेन्द्र सुनारले उच्च अदालतको फैसला नआउँदासम्म निरन्तर खवरदारी गर्ने बताए । उनले रोती घटनाका पीडकहरु अझै पनि अनुसन्धानको दायरामा आउन नसकेको बताए । ‘जात नमिलेर सामुहिक हत्या गरिएको घटनाका पीडकहरु अझै पनि बाहिर छन्, उनीहरुमाथि पनि अनुसन्धान गरिनुपर्छ,’ उनले भने, ‘हामीले रुकुम पश्चिममा जिल्ला अदालतबाट न्याय पाएका थियौं, अहिले उच्च अदालत सुर्खेतबाट पनि न्याय पाउनेमा आशावादी छौं ।’
प्रकाशित: १५ वैशाख २०८२ १५:५० सोमबार




