१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

पाथीभरा जाँदै गरेको जिपमाथि आगलागी : चार जनाको मृत्यु, दुई घाइते (नामसहित)

ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडिरहेको सवारीमा एक्कासी आगो लाग्दा भएको घटनापछि सवारीमा सवार चालकसहित चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। 

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय बिनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४५ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

आध्याकी आमा ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य र सविनाका छोरा १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। उनलाई रेफरको तयार गरिएको छ।

आगो कसरी लाग्यो भन्ने नखुले पनि हाइटेन्सन लाइनको तार सवारीमाथि खस्दा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर मे १ ज ३०११ रहेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। सविना आफ्ना श्रीमान् निरज आचार्यलाई ललितपुर घरमा छाडी छोराछोरी र माइती आमाबुबा लिएर पाथीभरा दर्शनका लागि आएकी थिइन्।

प्रकाशित: ८ वैशाख २०८२ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App