प्रेस चौतारी नेपालले शुक्रबार पूर्वराजावादीको प्रदर्शनका क्रममा क्षति भएका सञ्चार माध्यमको अवलोकन गरेको छ। अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले क्षति भएका सञ्चार माध्यम र घाइते भएका पत्रकारको अवस्थाबारे आज जानकारी लिएको हो।
अध्यक्ष पाण्डेले राजावादीले सञ्चार माध्यमलाई आक्रमणको निशाना बनाएकामा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले प्रदर्शनकारीको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमताकै कारण शुक्रबार ठुलो क्षति हुन नपाएको बताए।
अध्यक्ष पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध निकायलाई आग्रह गरे।
प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चार माध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिलाई स्थापित गर्न सपना देखिएको तर त्यो पूरा नहुने बताए।
प्रेस चौतारीले राजावादीको आक्रमणबाट क्षति बेहोरेका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट, हिमालय टिभी र घाइते भएका अनलाइन खबरका सञ्चारकर्मीलगायत आबद्ध सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको थियो।
अवलोकनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा बढी क्षति पुगेको पाइएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले बताए। हिजो प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
प्रकाशित: १६ चैत्र २०८१ १९:२४ शनिबार