काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ।
ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरले ८ वटा बेग्लाबेल्लै पत्र काट्दै उक्त जरिवाना तोकेको हो।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनमा सहभागीहरूले महानगरपालिकाका विभिन्न संरचना, दमकल तथा अग्नि नियन्त्रकहरूमा आक्रमण गरेका थिए।
यस घटनापछि महानगरले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी पूर्वराजा शाहलाई तोक्दै जरिवाना लगाउने निर्णय गरेको हो।
महानगरका अनुसार दमकल तोडफोडका लागि एक लाख तीस हजार, कोटेश्वर, जडिबुटी, बालकुमारी, सिनामंगल र महादेवस्थानमा फोहोरका लागि एक-एक लाख, वातावरण प्रदुषणका लागि एक लाख र रुख विरुवा तथा तीनकुने आइल्याड तोडफोड गरिएकोमा ६३ हजार जरिवाना गरिएको हो।
शनिबार महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरेको थियो। संकलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको छ।
हेर्नुहोस पत्र:








प्रकाशित: १६ चैत्र २०८१ १६:२७ शनिबार