तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले दुर्गा प्रसाईं निकट ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराका अनुसार राजभण्डारीलाई शनिबार बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ।
प्रदर्शनका क्रममा तोडफोड, आगजनी र ढुंगामुढा हुँदा दुई जनाको ज्यान गएको थियो भने पत्रकारसहित दर्जनौं घाइते भएका थिए।
राजावादी प्रदर्शनका क्रममा भिडलाई उक्साउने आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल र धर्मगुरु पुष्कर खतिवडालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं भने अझै फरार छन्। प्रहरीले उनको खोजी जारी रहेको बताएको छ। प्रहरीले प्रसाईंको अन्तिम लोकेशन भैँसेपाटीमा देखिएको तर त्यसपछि उनी अन्यत्र भागेको अनुमान गरिएको छ।
प्रकाशित: १६ चैत्र २०८१ १५:५४ शनिबार