२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:१३ पूर्वाह्न
समाज

पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणको विरोधमा महासंघले गर्‍यो आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्न र सञ्चारगृहमाथि आक्रमणको विरोध स्वरूप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ। महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो।

प्रदर्शनकारीले षड्यन्त्रपूर्वक कार्यस्थलमा खटिएका पत्रकारको हत्या गरेको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको महासंघका महासचिव रामप्रसाद दाहालले बताए।

महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ।

बैठकले शनिबार क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको छ। आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गरिने महासंघले जनाएको छ।

हिजो (शुक्रबार) राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चाार सामग्री हराएको घटनाको विरोधमा महासंघले आज देशव्यापी विरोध प्रदर्शन गरेको छ।

प्रकाशित: १६ चैत्र २०८१ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App